तपाईंहरूलाई कति स्वादमा चिया चाख्न मन छ? चिया पारखीलाई त भन्नै पर्दैन।
अझ स्वस्थवर्द्धक चिया पैसा नतिरी चाख्न पाए!
तिर्नै परे पनि कम मूल्यमा एकैपटक तीन/चार गिलास पाए नि?
अनि विभिन्न स्वादमा चियाको चुस्की लिँदै हरियाली वातावरणमा किताब पढेर घन्टौं बिताउन पाए झनै मज्जा!
यो सबै आनन्द हामीले लिन सक्छौं 'चियापान' छिरेपछि।
हामीकहाँ अझै पनि सामान्य रूपमा चल्ने भनेको कालो-लेमन र दूध चिया मात्रै हो। धेरैले योभन्दा बढी स्वाद नचाखेका पनि हुन सक्छौं। चियापानमा भने हामीले सोचेभन्दा धेरैथरी चिया पाइन्छ। धेरै कति भन्नुहोला, एक १११ थरी।
बालुवाटार प्रधानमन्त्री निवास पछाडि, तीन नम्बर गेटको ठीक अगाडि छ चियापान।
यहाँ पाइने चियाका मुख्य चार प्रकार छन्ः ब्ल्याक, ग्रीन, वुलङ र ह्वाइट। यिनमै विभिन्न जडिबुटी र अन्य 'फ्लेवर' मिसाएर बनाइन्छ १११ थरी चिया।
चियापानका सञ्चालकका अनुसार चियाका यी विभिन्न स्वाद लिन सर्वसाधारण ग्राहकदेखि विदेशीहरू, राजनीतिज्ञहरू र सेलिब्रेटीहरू पनि पुग्छन्।
यहाँ छिर्नेबित्तिकै ग्राहकलाई 'वेलकम टी' दिइन्छ। यसको पैसा तिर्नुपर्दैन। स्वागत चिया पिएपछि ग्राहकले अरू थुप्रैथरी चिया चाख्न पाउँछन्। यसको पनि पैसा दिनुपर्दैन। धेरै स्वादका चिया चाखिसकेपछि ग्राहकलाई कुन मनपर्छ, त्यही अर्डर गर्न सक्छन्।
'हामीले वेलकम टीमार्फत् चीनको संस्कृति पछ्याएका छौं। यसको पैसा पर्दैन,' चियापानका सञ्चालक तथा प्रबन्ध निर्देशक केशव शर्माले भने, 'कतिले त यसरी पनि व्यापार हुन्छ? धेरै फ्री सर्भिस दिइरहनुभएको छ भनेर अचम्म मान्छन्।'
सन् २०१६ अगस्ट २ मा खुलेको चियापानका सञ्चालक केशव शर्मा र विमल ढकाल हुन्। विमल कम्पनीका अध्यक्ष पनि हुन्।
तीस लाख लगानीबाट सुरू चियापानको पुँजी हाल एक करोडमाथि पुगिसकेको केशवले जानकारी दिए।
चिया बेच्नै यत्ति लगानी?
केशवका अनुसार चियापानको उद्देश्य चिया बेच्नु मात्र होइन। कसरी हुन्छ ग्राहकलाई चिया मन परोस् भन्ने हो। खास चिया के हो, चियाको पनि यति धेरै स्वाद हुन्छ है भनेर बुझाउनु हो।
'चिया संस्कृति विश्वमै बढिरहेको छ, हामी पनि किन नगर्ने भनेर सुरू गरेका हौं,' उनले भने, 'ठेट नेपाली चियाको संस्कृति विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो। त्यसैले नाम पनि सबैले बुझ्ने खालको राख्ने सोचेर चियापान राख्यौं।'
त्यसैले चियापानमा कफी, चिसो लगायत अरू पेयपदार्थ छैन।
यसबारे केशव भन्छन्, 'नेपाली चियालाई ब्रान्डिङ गर्न खोजेका हौं। कतिपय साथीहरूले अरू पेयपदार्थ पनि राख्नुस् भनेर सल्लाह दिन्छन्। तर हामी यसमै खुसी छौं।'
चियापानको मुख्य आकर्षण नेपाली मौलिकता झल्किने ढिकी जाँतो, चुलो, ओखल हो। चिया पिउन आउनेले ढिकीमा कुटेको चामलको सेलरोटी खान पाउँछन्। योसँगै अर्गानिक फापर, कोदो, मकैको रोटी, मःम लगायत परिकार पनि पाइन्छ। चिया पिउँदै खाजा खोज्नेका लागि शुद्ध शाकाहारी खाजा राखिएको यहाँको व्यवस्थापन हेरिरहेका नवराज अधिकारीले बताए।
'पहिला हरेक शुक्रबार ढिकीमा चामल कुटेर चुलोमा सेल पकाउथ्यौं। अहिले कोभिडका कारण रोकिएको छ,' उनले भने।
चियापानका अर्को विशेषता यहाँ हुने 'टी-टेस्टिङ सेरेमनी' हो। यसअन्तर्गत कसैले चियाका विभिन्न स्वाद लिन चाहे निःशुल्क पाउँछन्। टी-टेस्टिङ ट्रेबाट चिया चखाउँदै, यो कसरी बनाइन्छ भन्ने पनि सिकाइन्छ।
घरै लैजान चाहनेले यहाँ पाइने विभिन्न स्वादका चियाका प्याकेट किन्न पाउँछन्। बिहान, दिउँसो र बेलुका कुन–कुन, कति मात्रा, कतिपटक खाने र कसरी बनाउने भन्नेबारे जानकारी चियापानले दिन्छ।
चियापानमा पाँच वर्षदेखि काम गर्दै आएकी श्रेया पोखरेलका अनुसार चिया बनाउन गाह्रो छैन। जस्तै, ग्रीन-टी बनाउन परे टी-पटमा राख्ने। त्यसमा ८५ डिग्रीमा उम्लिएको पानी हाल्ने पाँच मिनेटसम्म भिजाउने। अनि पिउन थाल्ने।
उनकाअनुसार त्यही चियामा तीन पटकसम्म पानी भरेर पिउन सकिन्छ। जडिबुटीयुक्त चिया आफूलाई जति खाँदासम्म सहज लाग्छ, त्यति खान सकिने पनि उनले बताइन्।
चियापानमा चियाको स्वादमा भिज्न पनि सिकाइन्छ। चियाबारे व्याख्या गरिन्छ। कुनै चियामा महको स्वाद आउँछ कुनैमा कुहिएको पराल, कुनैमा डढेको स्वाद भने कुनैमा रूखमा सुकेको च्याउको स्वाद।
'यी फरक स्वाद मनैदेखि चिया चाहने पारखीले मात्रै थाहा पाउँछन्,' श्रेयाले भनिन्।
यहाँ अहिले १६ किसिमका जडिबुटी मिसाइएको चिया पाइन्छ। गुर्जो, तुलसी, घोडताप्रे, पिप्ला, अम्बाको बोक्रा, पाँच औंले, लगायत हिमाली भेगमा पाउने जडिबुटी हालेका चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यो सबै अध्ययन गरेर, विज्ञसँग सल्लाह गरेर मात्रै बनाउन थालिएको सञ्चालकहरूको भनाइ छ। यी चियामा ग्राहकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।
त्यस्तै यहाँ पाइने दूध चिया पकाउने तरिका फरक छ।
'दूध चियाबाट ग्यास्ट्रिक भयो भनिन्छ। हामीले बनाएको चिया खाँदा त्यस्तो महसुस हुँदैन। हामी सुरूमा चियापत्तिलाई तातो पानीमा भिजाएर राख्छौं। दूध उम्लेपछि चिनी राखेर एकछिन पकाउँछौं। त्यो उम्लिएपछि भिजाएको चियापत्ति र पानी राखेर फेरि उमाल्छौं। त्यसरी पकाएर खाँदा ग्यास्ट्रिक हुँदैन,' व्यवस्थापक नवराजले भने।
नवराजका अनुसार उनीहरू नेपालकै चिया प्रयोग गर्छन्। विशेषतः इलामको, २४ सय मिटरमाथि उचाइमा फलेको। चिया जति उचाइको भयो, उति नै राम्रो हुने उनको भनाइ छ।
चियापानले नेपाली चिया चीन, जापान, स्वीट्जरल्यान्ड लगायत देशमा पठाउँछ पनि। अरू मुलुकमा पनि विस्तार गर्ने योजना छ। तर प्रकिया सहज नभएकाले योजनामा बाधा आएको नवराजले बताए।
'कफी विकास बोर्डले चियाको बजारीकरण गर्न सकेको छैन। अहिले प्रमाणित लोगो (अर्गानिक सर्टिफाइड लोगो) बनाएपछि विस्तारै विश्वास बढ्न थालेको छ,' उनले भने 'अझै चिया किसान, व्यवसायी र चिया बगान हुनेका लागि सरकारी सहयोगको खाँचो छ।'
चियापानमा ८० रूपैयाँदेखि २५० रूपैयाँ कपसम्म पर्ने चिया पाइन्छ। त्यस्तै किन्न चाहे एक सय ग्रामको तीन सय ५० देखि २५ सयसम्म पर्ने चिया छन्। नवराजका अनुसार प्याकेट चिया विदेशमा किलोको हिसाबले जान्छ। वुलङ चिया किलोको नौ सय पर्छ भने ब्ल्याक-टी र ग्रीन-टीको ३ हजार पाँच सय पर्छ।
यसमा कुनै चिया धेरै नै महँगो पनि छ, जस्तै ह्वाइट-टी।
नवराजका अनुसार यो किलोको २५ हजार रूपैयाँ पर्छ। पहिलो मुना आउनसाथ टिपिने यो चिया प्रयोगका लागि बनाउन धेरै मुना चाहिन्छ। त्यसैले महँगो भएको हो।
चियापानका अधिकांश ग्राहक वृद्धवृद्धा हुन्। अब युवा पुस्तालाई पनि केन्द्रित गर्ने उनीहरूको योजना छ।
त्यस्तै तन्दुरी चिया पनि थप्ने सोच उनीहरूले बनाएका छन्। तन्दुरी चिया विशेषगरी भारतमा प्रख्यात छ। माटोको कपमा नान पकाउनेजस्तो भट्टिमा हालेर पकाइने यो चिया खाँदा हलुका माटोकै बासना र स्वाद पनि आउँछ।
चियापानको शाखा खोल्ने योजना पनि छ। पोहोरदेखि नै यो सोच बनाए पनि कोरोनाका कारण रोकियो। अब अवस्था सामान्य भएसँगै कम्पनीले यसको तयारी गर्नेछ।
चिया र खाजाबाट मासिक १३ लाखसम्मको व्यापार गर्ने चियापानमा हाल १३ जना कर्मचारी छन्। कोभिडका कारण चार/पाँच जनाले छाडेका हुन्।
'कडा लकडाउनले असर त पर्यो, तर पूरै बन्द गर्नु परेन। लकडाउन खुकुलो हुँदा चियापान चलिरह्यो,' सञ्चालक केशवले चिया व्यवसायको सम्भावनाबारे जोड्दै भने, 'साँच्चै व्यवसाय गर्ने हो भने धेरै राम्रो छ, अवसर पनि छ। सरकारले चिया प्रवर्द्धन गर्ने हो भने राम्रो आम्दानी छ।'