सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
पाटन, ज्वागलकी विनिशा श्रेष्ठ दस वर्षअघि आफ्नो परिवारसहित अमेरिका गएकी थिइन्। उतै काममा रमाइरहे पनि निजी कारणले दुई वर्षअघि फर्किनु पर्यो।
पेसाले उनी युजर एक्पिरियन्स (युएक्स) डिजाइनर हुन्। बजारको मागअनुसार सामान डिजाइन गर्नु यी डिजाइनरको मुख्य काम हो। तर नेपालमा यो कामको क्षेत्र धेरै नभएकाले उनले पर्यटनसम्बन्धी परियोजनामा काम गर्ने सोचेकी थिइन्।
सोचेजस्तो भएन। त्यसैले उनले आफ्नै हिसाबले काम गर्ने विचार गरिन्। के गर्ने, टुंगो भने थिएन।
एक दिन उनलाई साथी सपना शाक्यले घरमा खाना खान डाकिन्। सपना र विनिशाको भेट डेढ वर्षअघि उनीहरूका छोराछोरी सहभागी भएका एक कार्यक्रममा भएको थियो। यसपछि उनीहरूको मित्रता झाँगियो।
विनिशालाई सपनाको पाककलाले लोभ्यायो।
जस्तोसुकै परिकार बनाउन पोख्त सपनालाई पकाउन र खुवाउन खुब सौख लाग्छ। तर उनको सीप घर, आफन्त र साथीसंगीमाझ सीमित थियो। केही समययता उनी व्यवसायबारे भने सोचिरहेकी थिइन्।
यही सन्दर्भमा सपनाले पस्किएको स्वादको तारिफसँगै विनिशाले खानासम्बन्धी व्यवसाय गर्न सकिने कुरा निकालिन्। सपनालाई मननपर्ने कुरै थिएन।
अनि दुई साथी मिलेर कम्पनी खोले- द साल लिफ, अर्थात् सालको पात।
यो खाना डेलिभरी गर्ने कम्पनी हो। ग्राहकको मागअनुसार घरमै पकाइएका विभिन्न परिकार यसले घरघरै पुर्याउँछ।
'यो हाम्रो कुरैकुरामा सुरू भएको अनलाइन फुड डेलिभरी सेवा हो। ग्राहकको मागअनुसार विभिन्न प्याकेजमा भनेको ठाउँमै खाना पुर्याउँछौं,' विनिशाले भनिन्।
यो काम घरमै भएका भाँडाकुँडा जम्मा गरी विनिशाको घरको एउटा कोठामा भान्सा बनाएर सुरू गरे। सपना पकवान र भान्सामा सक्रिय भइन्, विनिशा सामाजिक सञ्जालमार्फत प्रचार गर्न।
छोटो समयमै द साल लिफले ग्राहकको ध्यान र विश्वास कमायो।
पहिलो लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएको यसले विशेषगरी आइसोलेसनमा भएका र बिरामी कुरूवाका लागि प्याकेटमा खाना तयार गर्यो। बनाउने सपना, पुर्याउने विनिशा।
'पहिले स्कुटरमा झोला बोक्दै डेलिभरीमा लागेँ। त्यसबेलाको अनुभवले यहाँको बजार र ग्राहक बुझ्न मद्दत गर्यो,' विनिशा भन्छिन्।
द साल लिफका ८० प्रतिशतभन्दा बढी ग्राहक बाहिरी मुलुकमा बस्छन्। विदेश बस्नेहरूले यहाँ भएका आफ्ना परिवार, आफन्त र साथीहरूका लागि खाना प्याकेज पुर्याइदिन भन्दै अर्डर गर्छन्। यस्ता अर्डर दैनिक ६ वटासम्म आउँछन्। डेलिभरी बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म हुन्छ।
एक सय १५ रूपैयाँदेखिको खाना अर्डर गर्न सकिन्छ।
द साल लिफको मुख्य विशेषता भनेको यसको नामजस्तै सालको पात हो।
बाहिरबाट यसको खाना प्याकेजिङ सामान्य आलुमिनियम फोइलको बट्टामा हुन्छ। तर त्यसभित्र सालको पात ओछ्याइएको हुन्छ।
'सालको पातमाथि तातो खाना प्याक गर्दा स्वाद र बासना राम्रो हुन्छ,' विनिशाले भनिन्।
पाटन मंगलबजारकी स्थानीय उनलाई सानोछँदा सालको पातमा खाएको याद ताजा छ। कालिङपोङमा हुर्केकी उनको घरमै पनि सालको पात अधिक प्रयोग हुन्थ्यो।
कम्पनी सञ्चालन गर्ने योजनासँगै उनले त्यही पातमा खाएको स्वाद सम्झिइन्। अरूभन्दा अलग पनि देखिने भएपछि विनिशा र सपनाले सालको पात प्याकेजिङमा प्रयोग गर्ने सोचे। अनि कम्पनीको नाम पनि द साल लिफ राखेको विनिशा बताउँछिन्।
दुई साथीले सुरू गरेको व्यवसायमा यतिबेला पाँच महिला कार्यरत छन्। व्यवस्थापनदेखि मार्केटिङको जिम्मा विनिशा आफैं सम्हाल्छिन्। सपना पकवान र भान्सा हेर्छिन्।
द साल लिफमा स्थानीयदेखि विदेशी सबै किसिमका खाना पाक्छ। ग्राहकको मागअनुसार विशेष प्याकेज, मौसमी प्याकेज र क्याटरिङ सेवा दिइन्छ।
'केही समयअघि अभिनेत्री मनीषा कोइरालाको महामृत्युञ्जय सार्वजनिक कार्यक्रममा क्याटरिङ सेवा दिएका थियौं,' विनिशाले भनिन्, 'झन्डै दुई सय पचास सहभागी थिए।'
बजारमा थुप्रै खाना डेलिभरी कम्पनी छन्। तर द साल लिफले उनीहरूलाई प्रतिस्पर्धाका रूपमा लिएको छैन। बरू ग्राहक सेवा र सन्तुष्टिमा विश्वास राख्छ।
'हामीले नयाँ काम गरेका होइनौं, तर नयाँ ढंगबाट गर्दैछौं,' उनी भन्छिन्, 'यहाँ हरेक व्यवसायको आफ्नै बजार छ।'
व्यवसाय सफल बनाउन धैर्य र खट्न सक्ने आत्मविश्वास महत्वपूर्ण हुने बताउँछिन् उनी।
अनलाइन मात्रै सञ्चालित द साल लिफको भविष्यमा रेस्टुरेन्ट सञ्चालन गर्ने योजना उनीहरूको छ। हाल काठमाडौं उपत्यकामा सीमित डेलिभरी सेवालाई बाहिरी जिल्ला र अमेरिकामा समेत फ्रान्चाइज सञ्चालन गरी विस्तारको योजना पनि उनीहरूले बनाएका छन्।
'द साल लिफलाई ब्रान्डका रूपमा विस्तार गर्ने योजना हो,' उनले भनिन्।
गत पुसदेखि विनिशा आफ्ना साथी अनुपा श्रेष्ठ र समीक्षा बाँस्कोटसँगै यःमरि मय्जु पनि सक्रिय छिन्। यसमार्फत उनीहरू विभिन्न अवसरमा सांस्कृतिक पोशाक लगाएर यःमरि र परम्परागत खाना लिएर तोकिएको ठाउँ पुग्छन्। खानासँगै यःमरिलगायत खानाको इतिहास कथा सुनाउँछन्।
उनले भनिन्, 'खानासँगै हाम्रो संस्कृति र परम्परा जोगाउनुको महत्व बुझेपछि यःमरि मय्जु सुरू भएको हो।
विनिशा नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसनको निर्देशक मण्डलमा समेत छिन्। त्यस्तै नेपाल फर्कौं लगायत केही अभियानमा सक्रिय छन्। विभिन्न क्षेत्रमा आवद्ध भए पनि धेरैजसो समय द साल लिफलाई नै दिएको उनी बताउँछिन्।
(द साल लिफको फेसबुक लिंक, इन्स्टाग्राम लिंक र सम्पर्क नम्बरः ९८४१२१४१३८)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)