सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
पछिल्लो समय अनलाइन व्यवसायको कारोबार 'ग्राफ' उक्लिँदो छ। दैनिक उपभोग्य, अत्यावश्यकदेखि विलासीसम्मका सामान अचेल अनलाइन बजारमै पाइन्छ। यही बजारमा आफ्नो स्थान बनाउन लागिपरेको एउटा कम्पनी हो- दिगो नेपाल।
यसले बेच्ने सामान उपभोग हिसाबले अरू अनलाइनमा पाइनेभन्दा फरक छैन। तर यीमध्ये धेरैजसो हामीले दैनिक चलाउनेभन्दा फरक कच्चापदार्थले बनेका छन्। बाँसले बनेको दाँत माझ्ने ब्रस र जुस पिउने पाइप (स्ट्र), कपडाको मास्क र झोला, तामाको बोतल, कागजका कलम, जिउ माड्ने घिरौंलाको जालो (लुफा) लगायत वातावरण मैत्री सामान यसका विशेष उत्पादन हुन्।
दिगोले आफ्नो नामजस्तै दिगो सामानमा जोड दिएको छ।
'प्लास्टिक सामग्रीको विकल्प खोज्ने क्रममा सुरू भएको व्यवसाय हो दिगो,' कम्पनीकी सह-संस्थापक अञ्जना मल्लले भनिन्, 'यहाँ हरेकका लागि उपयोगी सामग्री पाइन्छ। यी पर्यावरणमैत्री हुनुका साथै टिकाउ पनि छन्।'
यो कम्पनी अञ्जनासँगै उनका अन्य दुई साथी, रजनी गुरुङ र महालक्ष्मी श्रेष्ठ मिलेर सुरू गरेका हुन्। यसले विभिन्न स्थानीय समुदायसँगको समन्वयमा काम गर्छ। दिगोको मुख्य उद्देश्य व्यवसायभन्दा पनि सामाजिक कर्तव्य भएको सह-संस्थापकहरू बताउँछन्।
दिगो २०७६ साल फागुनमा स्थापना भएको हो। तर अञ्जना, रजनी र महालक्ष्मी विगत तीन-चार वर्षदेखिका सहकर्मी हुन्। उनीहरू महिनावारीसम्बन्धी काम गर्ने एक संस्थामा जागिर खान्थे। अहिले तीनै जना जागिर छाडेर आफ्नो अधिकांश समय दिगो नेपालमै खर्चिरहेका छन्।
'संस्थामा हुँदा हामी पर्यावरणमैत्री सामग्रीबारे छलफल गर्थ्यौं। विभिन्न ठाउँ डुल्यौं,' अर्की सह-संस्थापक रजनीले भनिन्, 'हरेक ठाउँमा प्लास्टिकको अधिक प्रयोग पायौं। सजिलै पाइने र सस्तो हुनाले धेरै प्रयोग हुने बुझ्यौं। तर यो वातावरणलाई हानिकारक छ। त्यसैले हामीले विकल्प खोज्ने प्रयास गरेका हौं।'
अञ्जना २५ वर्ष भइन् भने, रजनी २३ वर्ष। महालक्ष्मी उनीहरूभन्दा केही ठूली छन्, ५४ वर्ष। सबभन्दा सानी रजनी दिगोको सञ्चालन र वित्त सम्हाल्छिन्। अञ्जना मार्केटिङमा व्यस्त छिन् भने सामग्री उत्पादन र डिजाइनको काम महालक्ष्मीले सम्हाल्छिन्।
यी तीन सञ्चालकहरू एक-अर्काबीचको सम्मान, विश्वास र समझदारीसँगै सहकार्य गरेर अघि बढिरहेको बताउँछन्।
'मिलेर काम गर्न सके रमाइलो हुन्छ,' २६ वर्षे एक छोरीकी आमा महालक्ष्मीले भनिन्, 'अञ्जना र रजनी मेरो छोरीका उमेरका हुन्। उनीहरूको उमेरमा नयाँ-नयाँ आइडियामा काम गर्ने जोस हुन्छ। मैले केही नबुझे राम्रोसँग बुझाउँछन्। मैले जानेको उनीहरूलाई सिकाउँछु। यसरी सिक्दै-सिकाउँदै काम गरिरहेका छौं।'
उनीहरूबीच नयाँ आइडियाबारे छलफल हुन्छ। एकअर्कालाई बुझाउन परे विभिन्न तरिकाले काम गर्छन्। अहिले कोरोना महामारीको अवस्थामा भने बैठकहरू र काम अनलाइनबाटै हुन्छ।
दिगोले पर्यावरणमैत्री लुफा बनाउन भनेरै लमजुङ, गोर्खा, बर्दियालगायत गाउँमा घिरौंला खेती सुरू गरेको छ। सामान उत्पादन र बिक्रीबाहेक सामाजिक सञ्जालहरूमा प्लास्टिकले पुर्याउने हानी र विकल्पबारे जानकारी पनि उनीहरू बाँड्छन्।
तीन जनाले झन्डै ३१ हजार रूपैयाँ लगानीमा सुरू गरेका हुन् यो कम्पनी। यहाँ पाइने ब्रस भारतबाट आउँछ भने बाँकी सबै सामान नेपालका विभिन्न ठाउँमा बनेका हुन्।
'हामीले ब्रस यहीँ बनाउने सोचे पनि सम्भव भएन,' रजनीले भनिन्, 'तर यसका लागि प्रयास जारी छ।'
हालै दिगोले नेपालगञ्जका थारू समुदायले बनाएका ढाकी बिक्री गर्न थालेको छ। यसमा उनीहरू स्वदेशी अभ्यासमा आधुनिक स्पर्श दिएको बताउँछन्।
प्लास्टिकभन्दा सबै हिसाबमा राम्रो भए पनि धेरैले यी सामान महँगो हुने सोच्छन्। त्यसैले रोजाइमा प्लास्टिकले नै जित्छ। कम्पनी सुरू गर्नुअघि विभिन्न क्षेत्रका मानिसको विचार बुझ्ने क्रममा सञ्चालकहरूले यो कुरा बुझेका हुन्।
त्यसैले उनीहरूले मूल्य तोक्ने बेला ध्यान दिएका छन्। यहाँ पचासदेखि एक हजार पाँच सय रूपैयाँसम्मका सामान पाइन्छ। पछि ग्राहकका रूचिअनुसार (कस्टमाइज्ड) सामान बनाउने योजना छ।
अहिले विस्तारै बजार पाए पनि दिगो नेपाल खुलेलगत्तै भएको कोरोना लकडाउनले केही समय सञ्चालकहरू आत्तिएका थिए।
'भर्खर कम्पनी खोलेका थियौं, लकडाउन भएपछि के गर्ने भन्ने अन्यौलमा पर्यौं,' अञ्जनाले त्यसबेलाको अवस्थाबारे भनिन्, 'विस्तारै हामी अनलाइन प्लेटफर्ममा केन्द्रित हुँदै काम थाल्यौं।'
अवस्था सामान्य भएको भए विभिन्न 'टेबल मार्केट' (स्टलहरू बनाएर थापिने पसल) मा सहभागी हुने योजना थियो। टेबल मार्केटमा ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्दै सजिलै बुझाउन सकिन्छ भन्ने लाग्छ उनीहरूलाई। यसै कारण हाल भौतिक पसल नभए पनि भविष्यमा सञ्चालन गर्ने योजनामा छन्।
दिगोले आफ्ना उत्पादनसँगै विभिन्न समुदायले बनाउने सामग्री बिक्री गर्न पनि प्लेटफर्म दिएको छ। यसबाहेक उनीहरू चित्रकला र कपडामा धागोले बुट्टा कुँद्ने (इम्ब्रोइडरी) पनि गर्छन्। यी सबै काम तीन सञ्चालकसँगै थप तीन सदस्यले गर्छन्।
रजनी र अञ्जना यो कामसँगै पढाइमा पनि व्यस्त छन्। सुरूमा दुवैका परिवारले भइरहेको जागिर छाडेकामा नराम्रो मानेका थिए। अञ्जनाले त धेरै समयसम्म जागिर छाडेको कुरै सुनाइनन्। त्यो बेला उनीहरूको निर्णयमा परिवार खुसी नभए पनि अहिले समर्थन मिल्ने बताउँछन्।
अञ्जना मनोविज्ञानमा स्नातकोत्तर गर्दैछिन् भने रजनी समाजशास्त्रमा स्नातक सकेर नतिजाको पर्खाइमा छिन्। महालक्ष्मी भने पूरै समय कम्पनीमै खर्चिन्छिन्।
दिगोका सामान उत्पादन 'थ्री आर- रिसाइकल, रिड्युस र रियुज' मा आधारित छ।
प्लास्टिक प्रयोग बहिष्कार गरौं भन्न सजिलो भए पनि व्यवहारमा उतार्न हरेक मान्छे जिम्मेवार हुनुपर्ने सञ्चालकहरू बताउँछन्।
'वातावरणसँगै मानवकै हितका लागि पनि प्लास्टिक कम प्रयोग गर्न आवश्यक छ,' अञ्जनाले भनिन्, 'तर यो कुरा भनेर मात्र हुँदैन, सबै जिम्मेवार भएर लागू गर्न जरूरी छ।'
सबै तस्बिर सौजन्यः दिगो नेपाल
(दिगो नेपालको इन्स्टाग्राम लिंक, फेसबुक लिंक र सम्पर्क नम्बरः ९८४०२७२८८०)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)