सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
अधिकांश युवा स्नातक पढिसकेपछि जागिर खोज्न थाल्छन्। भक्तपुरकी रस्मिता कार्की भने कस्तो व्यवसाय गर्न सकिएला भन्ने सोच्थिन्।
२४ वर्षीया रस्मितालाई सानैदेखि व्यवसायमा रूचि थियो। पढाइको सिलसिलामा उनले जागिर खाएकी थिइन्। तर व्यवसाय गर्न नपाएकामा सधैं छटपटी भइरहन्थ्यो। व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनरत रस्मिताले 'साइड बिजनेस' को आइडिया निकाल्न सकिरहेकी थिइनन्।
यो मौका कोरोना लकडाउनले जुराइदियो। पहिलो लकडाउनपछि उनको कलेज बन्द भयो। उनी फुर्सदिली भइन्, 'आधा दिन त टिकटकमै बित्थ्यो। लकडाउन कसरी बिताउने सम्झिँदै दिक्क लाग्थ्यो।'
एकदिन त्यही टिकटक हेर्दा व्यवसायको आइडिया फुर्यो।
टिकटकमा बिजनेस सम्बन्धि भिडिओ हेर्दै गर्दा एकदिन एउटाले ध्यान उनको खिच्यो। कपडाबाट हेडब्यान्ड, स्क्रन्चिज (कपाल बाँध्ने रबर), झुम्का लगायत सामग्री बनाएको भिडिओ थियो त्यो।
भिडिओ हेरेपछि सानो भए पनि यही कामलाई व्यवसायका रूपमा अगाडि बढाउने सोचिन्। तर घरमा के भन्नुहोला, कसरी कुरा गर्ने भन्ठानेर उनले तत्काल सुनाइनन्। आमासँग सल्लाह लिन मन लाग्यो, आफूले नसकेपछि दिदीलाई भन्न लगाइन्। तर आमा सुशीलालाई उनको कुरामा पत्यार नै लागेन।
'जेठी छोरीले बहिनीले यस्तो आइडिया निकालेकी छ, साथ दिनुपर्छ भनी,' सुशीलाले त्यो बेलाको कुरा सुनाइन्, 'मैले कराउँदै कुरा मात्रै गरेर हुँदैन, काम गर्न सक्नुपर्यो नि, पर्दैन भनेकी थिएँ।'
आमाले पर्दैन भने पनि रस्मिताको हुटहुटी सेलाएको थिएन। एकदिन जोश निकालेर घरको पुरानो तन्ना काटिन्। सियो र धागो लिएर हातैले सिलाएर रबर बनाइन्। सामानै बनेपछि त उनको आत्मविश्वासले आकासै छोइहाल्यो। रबर हातमा लगाएर देखाउँदै उनी आमानजिक पुगिन्।
जब सुशीलाले छोरीको सीप देखिन्, उनी चकित परिन्। अनि रस्मिताको रूचिलाई समर्थन मात्र होइन, त्यसको हिस्सा नै बन्ने निधो गरिन्।
४९ वर्षीया सुशीला स्थायी शिक्षकको पेन्सनवाला हुन्। घरको काम सम्हाल्दै, बाँकी समय मोबाइल चलाएरै बित्थ्यो। रस्मिताको आइडियाले उनलाई सक्रिय हुने र आम्दानी गर्ने बाटो देखाइदियो।
उनी भन्छिन्, 'मनदेखि आएका कुरा रोक्न नसकिने रहेछ। छोरीको व्यवसाय गर्ने इच्छाशक्ति देखेर म चुप बस्नै सकिनँ। व्यवसाय नचले फाटेका लुगा सिलाउन हुन्छ भन्ने सोचेँ। अनि छोरीलाई लिएर मेसिन किन्न न्यूरोड गएँ।'
१६ हजार रूपैयाँ हालेर उनीहरूले लुगा सिलाउने मेसिन ल्याए। यति मात्रै होइन, १५ हजार खर्चेर कपडा, इलास्टिक, धागो लगायत आवश्यक सामग्री पनि किने।
मेसिन चलाउन सुशीलाले स्कुल पढाउने बेलामै सिकेकी थिइन्। रस्मितालाई पनि व्यवसाय सुरू गर्न सके आमाको सीपले थप सहज हुने लागेको थियो।
'मैले सोचेजस्तै काममा सजिलो भयो। आमाकै साथ पाएपछि त के चाहियो र,' उनले खुसी व्यक्त गरिन्।
सुशीलाले सुरूमै स्क्रन्चिज, हेडब्यान्ड र मास्क सिलाइन्। रस्मिताले त्यसको फोटो र भिडिओ खिचेर इन्स्टाग्राम र टिकटकमा राखिन्। भिडिओ एकैछिनमा धेरैको नजरमा पर्यो।
'नमूनाका लागि हालेको, सुरूमै भटाभट अर्डर आउन थाल्यो,' रस्मिताले व्यवसायको फड्को अनुभव सुनाइन्, 'सुरूका दिनमा त माग पुर्याउनै मुश्किल भयो।'
रस्मिता आफैं स्कुटरमा राखेर सामान पुर्याउँथिन्। कलेज नभएकाले बिहानदेखि बेलुकैसम्म खट्थिन्।
'छोरी राति नौ बजेसम्म नआइपुग्दा कति पिर लाग्थ्यो,' आमा सुशीला भन्छिन्, 'घर आइसकेपछि मात्र ढुक्क हुन्थेँ।'
तर आफ्ना सामान ग्राहकले मनपराएकाले उनलाई सन्तुष्ट हुने बाटो रह्यो।
व्यापार थोरै हुँदा रस्मिता आफैं सामान पुर्याउँथिन्। अहिले 'पुर्याओ' मार्फत डेलिभरी हुन्छ। पैसा बैंकमा डिपोजिट पनि गरिदिने भएकाले सहज भएको रस्मिता बताउँछिन्।
विशेषतः कोरियन सिल्क कपडाबाट बनेका कपाल बाँध्ने रबर र हेडब्यान्डमा कपाल अल्झिने समस्या नभएकाले पनि माग बढेको हुनसक्ने उनीहरू बताउँछन्। कतिपयले उनीहरूकै डिजाइनका सामग्री माग गर्थे। कतिले डिजाइन दिन्थे। सुशीलालाई सबै डिजाइन आउँथेन। फुर्सदमा युट्युब हेरेर अभ्यास गरिन्।
'बेलुका खाना खाएपछि फुर्सद हुन्थ्यो। अनि युट्युबमा डिजाइन हेर्न मन लागिहाल्थ्यो। छोरीले पनि डिजाइन देखाउँथिन्। म हेर्दै सिउँदै गर्थेँ। एक-दुइवटा बनाएपछि त आइहाल्थ्यो नि,' उनले हाँस्दै भनिन्।
आफू र आमाको मेहनतले पाएको प्रतिफलले रस्मितालाई जोस थपियो भने ग्राहकको सकारात्मक प्रतिक्रियाले हौसला। त्यसैले उनीहरूले २०७७ फागुनमा 'द थ्रेड बाइ सुश' नाममा कम्पनी दर्ता गरे।
कम्पनीको नाम सुशीलाको छोटकरी हो।
'सिलाइको काम सबै आमाले गर्नुहुन्छ। त्यसैले उहाँलाई नै श्रेय दिऊँ भनेर सुशीला नामबाट सुश राखेँ। अगाडि द र पछाडि थ्रेड (धागो) थपेर उक्त नाम जुराएँ,' रस्मिताले भनिन्।
दसैं र तीज जस्ता चाडवाडमा उनीहरूलाई भ्याइनभ्याइ हुन्छ। पोहोर तीज र दसैंमा रातदिन खट्दा पनि मागअनुसार तयार गर्न नसकेर कति रद्द नै गरे। दुई घन्टा मात्र सुतेर काम गर्दा पनि पुर्याउनै नसकिएको उनले बताइन्।
सुशीला घरको काम भ्याएर सिलाइमा लाग्छिन्। दिनमा सय वटासम्म सामान सिलाउँछिन्। धेरै माग आएका बेला घरको काममा श्रीमानले सघाउँछन्।
'उहाँले खाना बनाउनु हुन्छ। म बिहानदेखि बेलुकासम्म सिलाउनमै खटिन्छु। त्यसरी काम गर्दा अढाइ सय रबर एकै दिनमा बनाउँछु,' सुशीलाले भनिन्। रस्मिता अर्डर लिन र सामान प्याकिङ गरेर पठाउन व्यस्त हुन्छिन्।
इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतबाट बढी माग आउने रस्मिताले जानकारी दिइन्। उनीहरू अनलाइन बजार दराजसँग पनि जोडिएका छन्। उनका अनुसार हप्तामा तीन सय बढी अर्डर आइरहेको छ। पछिल्लो समय मोरिसस, भारत लगायत देशबाट पनि अर्डर आयो।
कोरोना जोखिम कायमै रहेकाले विदेशमा भने सामान पठाउन सकेका छैनन्। अझ निषेधाज्ञा बेला आमाछोरीलाई नै कोभिड पोजिटिभ देखियो। एक महिना उत्पादन ठप्प हुँदा यहीँका धेरै माग रद्द गर्नुपरेको रस्मिताले बताइन्।
अहिले भने आमाछोरी दुवै स्वस्थ र व्यस्त छन्।
'मोबाइल चलाएर खेर जाने समय सदुपयोग भएको छ, खुसी लाग्छ,' रस्मिता भन्छिन्।
हाल उनीहरूसँग पचास रूपैयाँदेखि तीन सय पचास रूपैयाँसम्म पर्ने सामान छन्। अब सिल्कका सिरानी खोल लगायत नयाँ सामान बनाउने सोच छ। उत्पादन क्षमता बढाएर विदेशी बजारमा पनि विस्तार गर्ने योजना उनीहरूले बनाएका छन्।
'वडाले महिला उद्यमीलाई प्रोत्साहन गर्न ऋण दिने रहेछ। त्यहाँबाट ऋण पाइने आश छ। आँट पनि बढेको छ,' सुशीलाले भनिन्, 'ऋण पाए मार्केटिङ र सिलाइमा कर्मचारी राखेर क्षमता बढाउँछौं।'
अहिले उनीहरूका सामान मार्ट, सुपरमार्केट तथा अनलाइन व्यापारीले पनि लैजान थालेका छन्। यो व्यवसायबाट सुरूको महिना आमाछोरीले आठ हजार कमाएका थिए। अहिले महिनामा चालीस हजारसम्म आम्दानी गर्छन्।
'यो व्यवसाय थालेपछि दिनदिनै पैसा चलाउन पाएका छौं,' सुशीला खुसी हुँदै भन्छिन्, 'रस्मिताको यो वर्ष पचास लाखको बीमा गरेको थियो। व्यवसायबाट आएकै पैसाले साढे पाँच लाख तिरिसक्यौं।
नेपाली बजारमा उनीहरूले बनाउनेजस्ता सामग्री चीन, कोरिया, थाइल्यान्ड लगायत देशबाट आउँछ। देशमै उत्पादन गर्न सके रकम बाहिर जानबाट रोकिने र स्वदेशी काम प्रवर्द्धन हुने सुशीला बताउँछिन्।
रस्मिताको पढाइ राम्रो भएकाले सुशीलालाई पढाइअनुसार जागिर खाओस् भन्ने थियो। अहिले भने रूचिअनुसारकै काम गर्दा सफल भइन्छ भन्ने उनले बुझेकी छन्।
भन्छिन्, 'कसैलाई जबरजस्ती गर्न नहुने रहेछ। आफ्नो रूचिको पेसा गर्दा नै सफल हुने रहेछ।'
रस्मिता पनि जस्तोसुकै परिस्थितिमा व्यवसायलाई निरन्तरता दिने बताउँछिन्।
'नोक्सान भए पनि आत्तिनु हुँदैन। परिश्रम गरिरहे व्यवसायमा मात्र होइन, जुनसुकै क्षेत्रमा सफल हुन सकिन्छ,' उनले भनिन्।
(द थ्रेड बाइ सुशको फेसबुक पेज लिंक, सम्पर्क नम्बरः ९८६२५७७७६०, इन्स्टाग्राम लिंक)