सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
पहिलो लकडाउनमा धेरै मानिस बेरोजगार भए। घरघर गएर काम गर्ने सहयोगीहरूलाई पनि संक्रमण फैलिने डरले नआउन भनियो। यस्ता अधिकांश सहयोगीको कमाइ ठप्प भयो। केही घरवालाले भने आफ्ना सहयोगीहरूलाई तलब दिइरहे।
जया राजभण्डारी तिनै घरवालामध्ये एक हुन्। घरमा काम सघाउने दुई जना महिलालाई लकडाउनताका काममा नआए पनि जयाले झन्डै दुई महिनाको तलब दिइन्। तर दिदीहरूको मन खुसी भएन।
'काम नगरी तलब बुझ्दा इमानदार व्यक्तिलाई नराम्रो लाग्ने रहेछ,' १८ वर्षीया जयाले सेतोपाटीसँग भनिन्।
ती दिदीहरूलाई कुनै कामको जिम्मेवारी दिन पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो, 'उहाँहरूले आफ्नै घर बसेर आम्दानीमूलक काम गर्न सके कति आनन्द लाग्छ होला भन्ने सोचेँ।'
उनले यो सोचलाई के गरेर, कसरी व्यवहारमा परिणत गर्ने भनेर आफ्नै हिसाबले खोजबिन गरिन्। घरमै भएका विभिन्न सरसामग्री जाँच्न थालिन्। यही क्रममा उनले थोरै सिल्क (रेशम) कपडा भेटिन्।
त्यो बेला स्क्रन्चिज (कपाल बाँध्ने रबर) को ट्रेन्ड चलिरहेको थियो। सिल्क कपडाको स्क्रन्चिज र रिबन चहकिलो र आकर्षक देखिने भएकाले उनलाई यो आइडिया मनपर्यो।
उनको घरका सहयोगी दिदीहरूलाई सिलाइ आउँथ्यो। जयाले डिजाइन देखाएर दिदीहरूलाई स्क्रन्चिज बनाउन भनिन्। दिदीहरू पनि घरै बसेर काम पाएकामा खुसी भए। ती दिदीहरूले बनाएका स्क्रन्चिज र रिबनका फोटा खिचेर जयाले इन्स्टाग्राममा राखिन्। छोटो समयमै राम्रो माग आयो।
सुरूमा जयाले रेशमको स्क्रन्चिज र रिबन मात्र बनाउँथिन्। पछि दिदी अमेरिका जाँदा रेशमको सिरानीको खोल लगेको याद गरिन्। उनले रेशम कपडाका फाइदाबारे अध्ययन गर्न थालिन्। रेशमका कपडा छाला र कपाल दुवैलाई राम्रो हुने थाहा पाइन्। अनि उनले रेशमको नाइट सुट र सिरानी खोल बनाउने सोचिन्।
उनले आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाइसक्दा लकडाउन खुकुलो भइसकेको थियो। उनी सिरानीको खोल र नाइट सुट सिलाउन सक्ने मान्छे खोज्न थालिन्।
'म र ममी मिलेर कलंकीतिर बाटोमा बसेर सिलाउने मान्छे खोज्दै हिँड्यौं। हाम्रो मुख्य उद्देश्य सीप भएका तर रोजगार नपाएकालाई काम दिलाउनु थियो। त्यसैले बाटोमा एउटा सानो सिलाइ मेसिन लिएर ग्राहकको बाटो कुरेर बस्नेहरूसँग सहकार्यमा काम गर्ने सोचेकी थिएँ,' उनले भनिन्।
झन्डै एक साता चहार्दा पनि सिलाउने मान्छे भेटिएनन्। जयालाई लाग्छ, उनीहरू कोरोनाको डरले चहलपहल गर्न पाएनन्। त्यसपछि उनीहरू डल्लु र हात्तीवनमा बसोबास गर्दै आएका तीन जना सिलाइकर्मीको सम्पर्कमा आए। उनीहरू सामग्री बनाउन तयार पनि भए।
जयाले विभिन्न सामग्री बनाउने भएपछि झन्डै एक लाख लगानी गरेर रेशमका सरसामग्री जोरजाम गरिन्। धेरैजसो कपडा विदेशबाट ल्याइन्। अनि स्क्रन्चिजसँगै रेशमका मास्क, सिरानी खोल, ब्रालेट (महिलाहरूले शरीरको माथिल्लो भागमा लगाउने लुगा), नाइट सुट बनाउन थालिन्।
यी सबै सामान बिक्री गर्न उनलाई एउटा ब्रान्ड नाम पनि चाहिएको थियो। उनले रोजिन्- ट्विंकल्स।
जयाले यो नाम आफ्नी आमाको नाम, ट्विंकलबाट राखेकी हुन्। जया जम्मा दुई वर्षकी हुँदा उनका आमाबुवा छुटे। आमाले जया र जयाकी दिदी तेजितालई एक्लै हुर्काइन्। आमा नै आफ्नो प्रेरणा श्रोत भएकाले नयाँ काम सुरू गर्दा उनकै नामबाट गरेको जया बताउँछिन्।
'म ममीबाट निकै प्रेरित छु। सानैदेखि अरूलाई सक्दो मद्दत गर्नुपर्छ भन्ने र सामाजिक जिम्मेवारीको कुरा सिकाउनुभयो। अहिले मैले गर्ने काम पनि त्यही सम्बन्धी हो। त्यसैले उहाँकै नामबाट व्यवसाय सुरू गरेँ,' उनले भनिन्।
आमा ट्विंकलले पनि केही समय अघिदेखि इन्स्टाग्राममा 'ट्विंकल्स ट्रिट' नामक खाता खोलेकी थिइन्। जसमा उनी विभिन्न मिठाइका रेसिपी पोस्ट गर्छिन्। केही बेच्छिन्।
आमा मात्र होइन, जयालाई उनको काममा हजुरआमाले पनि सघाउँछिन्। ८३ वर्षीया हजुरआमा चम्पाले बनाउने बाटेको धूप ट्विंकल्सले बिक्री गर्छ। सामान डेलिभरीका लागि प्याकेजिङ पनि हजुरआमा चम्पाले नै बनाउँछिन्।
'हजुरआमाले पुरानो शैलीमा कागजको प्याकेजिङ बनाउनुहुन्छ। उहाँले गम पनि प्रयोग गर्नुहुन्न,' जयाले भनिन्, 'आफैं घरेलु सामग्रीबाट कागज टाँस्नुहुन्छ। त्यसैले हाम्रो प्याकेजिङ वातावरणमैत्रीका साथै विशेष छ।'
यसरी हेर्दा ट्विंकल्स तीन पुस्ताले चलाएको व्यवसाय हो।
आफ्नो घरमा काम सघाउने दुई दिदीहरूलाई रोजगार दिलाउने उद्देश्यसँगै जयाले सुरू गरेको व्यवसायले उनलाई चार महिनामै लगानी उठाएर नाफा दिलायो।
नाफाबाट उनले उच्च-प्रविधिका सिलाइ मेसिन किनिन्। अहिले ट्विंकल्समा काम गर्ने पनि ६ जना भइसके। रेशमका सामानबाहेक ट्विंकल्सले स्क्रब र गिफ्ट बक्स पनि बिक्री गर्छ।
जयाले ट्विंकल्सका सामग्री काठमाडौं उपत्यकासँगै पोखरा, बुटवल, नेपालगञ्ज जस्ता सहर र अमेरिका तथा बेलायत पनि पुर्याएकी छन्। अमेरिकामा उनकी दिदी तेजिताले सामग्री डेलिभरीमा मद्दत गर्छिन्। बेलायतमा भने त्यहीँबाट सञ्चालित एक इन्स्टाग्राम प्रयोगकर्तासँग सहकार्य भएको छ।
ट्विंकल्सको अर्को उद्देश्य सस्तोमा स्वास्थ्यका लागि फाइदाजनक सामग्री बिक्री गर्नु हो।
'हेर्दा विलासी देखिने रेशम कपडा प्रायः धेरै महँगो हुन्छ भन्ने धारणा छ। तर यसले हाम्रो छालालाई सुख्खा हुनबाट जोगाउँछ। धेरै महँगो पनि हुँदैन,' जया भन्छिन्।
डिजिटल मार्केटिङको महत्व बुझेकी जयाले सामाजिक सञ्जालमा रेशमका फाइदा बताउँदै विभिन्न तरिकाले आफ्ना उत्पादनका फोटा पोस्ट गर्छिन्। यी सबै काम उनले ट्विंकल्स सुरू गरेपछि नै सिकेकी हुन्।
प्रायः महिलाहरू लक्षित सामग्री हुनाले ट्विंकल्सका ९० प्रतिशत ग्राहक महिला छन्। तीमध्ये पनि धेरै युवा हुने जया बताउँछिन्। 'हामी पुरूषहरू लक्षित सामग्री पनि बनाउने योजनामा छौं,' उनले नयाँ सामान आउने संकेत दिइन्।
ट्विंकल्स सुरू गर्दा व्यवसाय कस्तो हुन्छ भन्ने उनलाई केही आकलन थिएन। तर यतिबेला एक सातामा तीसभन्दा बढी ग्राहकले सामग्रीबारे सोधपुछ गर्छन्। ग्राहकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बढ्दो बजार देखेर जया, उनकी आमा र हजुरआमा दंग छन्।
जयाले ट्विंकल्सको भौतिक पसल खोल्ने योजना बनाइसकेकी छैनन्। बरू वेबसाइट बनाउन प्राथमिकता दिएकी छन् जुन छिट्टै सार्वजनिक हुँदैछ, 'हामी ट्विंकल्सबाट सामग्रीसँगै ब्रान्ड बेच्न खोजिरहेका छौं।'
ब्रिटिस कलेजबाट ए-लेभल सकेकी जया अहिले स्नातकका लागि अमेरिकास्थित ग्यानन विश्वविद्यालयमा अनलाइनबाट व्यवसाय, थिएटर र मनोविज्ञान पढ्दैछिन्। पढाइका लागि आफू विदेश जानु परे पनि ट्विंकल्सलाई निरन्तरता दिने उनी बताउँछिन्।
'कुनै काम सजिलो छैन। तर केही गर्छु भनेर निरन्तर लागे सफलता पाइन्छ,' उनी भन्छिन्, 'अझ सामाजिक दायित्वका रूपमा व्यवसाय गरे सफलता र सन्तुष्टि दुवै मिल्छ।'
(ट्विंकल्सलाई इन्स्टाग्राम र ९८०१०५७६८४ मा सम्पर्क गर्न सकिन्छ)