सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
यतिबेला हामी घरभित्र बस्न बाध्य छौं। कोरोना संक्रमणबाट बच्न यो जरुरी पनि छ। तर भित्रै थुनिएर रासन दैलो र भान्सासम्म कसरी आइपुग्ला?
यस्तो अवस्थामा सरसामान र खाना डेलिभरी कम्पनीले हाम्रो दैनिकी सहज बनाएका छन्। तिनैमध्ये काठमाडौं उपत्यकाभित्र 'फुडगञ्ज'ले पनि सेवा पुर्याउँदै आएको छ। फुडगञ्ज खाना तथा सामग्री डेलिभरी कम्पनी हो।
'अहिलेको अवस्थामा घरमै सामग्री पुग्छ भने बाहिर किन निस्किनु भन्ने मानसिकता बढेको छ। विशेषगरी खाद्यान्न भान्सासम्म पुग्दा ग्राहक खुसी हुन्छन्,' फुडगञ्जकी प्रमुख कार्यकारी निर्देशक क्रिस्टिना थापाले भनिन्, 'हामी यतिबेला किराना सामग्री र फ्रोजन खाना डेलिभरी गरिरहेका छौं।'
फुडगञ्ज सञ्चालनमा आएको धेरै भएको छैन। गत वर्ष कात्तिकदेखि यसले आफ्नो सेवा सुरू गरेको हो। तर छोटो समयमै ग्राहकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको क्रिस्टिना बताउँछिन्।
निषेधाज्ञा नहुँदो हो त, फुडगञ्जले रेस्टुरेन्टका खाना डेलिभरी गरिरहेको हुन्थ्यो।
'हाम्रो आफ्नै भान्सा पनि छ। तर अहिले पकाएको खानाभन्दा किराना सामग्रीको माग बढी हुन्छ। त्यसैले पकाइएका खानाको डेलिभरी केही समयका लागि बन्द गरेका हौं,' क्रिस्टिनाले बताइन्। फुडगञ्जको लाजिम्पाट र पुल्चोकमा गरी दुई ठाउँमा भान्साघर छन्। यसको मुख्य कार्यालय भने नक्सालमा छ।
उनका अनुसार सामान्य दिनमा फुडगञ्जले २० घन्टा सेवा पुर्याउँछ। बिहान ७ बजेखि राति ३ बजेसम्म ग्राहकलाई सामग्री र खाना डेलिभरी गर्ने क्रिस्टिनाले जानकारी दिइन्। यतिबेला भने दिनभर सामग्रीको अर्डर लिन्छ र भोलिपल्ट बिहान दस बजेभित्र डेलिभरी गरिदिन्छ।
क्रिस्टिनाका अनुसार फुडगञ्जको मुख्य नारा 'वि सर्भ बेटर एन्ड फास्टर' हो अर्थात् हामी राम्रो र छिटो सेवा दिन्छौं।
फुडगञ्जसँग दुई सय पचासभन्दा बढी पसल, रेस्टुरेन्टले सहकार्य गरेका छन्। कम्पनीले हाल काठमाडौं उपत्यकाभित्र मात्र सेवा पुर्याइरहेको छ। अवस्था सामान्य र अनुकूल हुँदा दैनिक औसत डेलिभरी १ सय ५० ठाउँमा हुन्थ्यो।
कम्पनीमा चालीस जना सदस्य छन् जसमा ३५ जना डेलिभरीको काम गर्छन्। अहिले भने डेलिभरीका लागि १५ जना मात्र सक्रिय रहेको क्रिस्टिनाले बताइन्। अरू बेला मोटरसाइकल-स्कुटरमा पनि डेलिभरी हुनेमा यतिबेला भ्यानबाट मात्रै पुर्याइरहेको पनि उनले जानकारी दिइन्। सुरक्षाका लागि उनीहरू पिपिई, मास्क, स्यानिटाइजर लगाउँछन्।
कम्पनीको सेवाप्रति ग्राहक सन्तुष्ट रहेकामा कर्मचारी र सिइओ ढुक्क छन्। उनीहरू भन्छन्, 'ग्राहक खुसी देख्दा कामको सम्मान मिलेको महशुस हुन्छ। त्यसैले जोखिम अवस्थामा बाहिर हिँड्नुपरे पनि खुसी छौं।'
क्रिस्टिनाका अनुसार फुड डेलिभरी कम्पनी स्थापना गर्ने अवधारणा उनलाई भारत बस्दा आएको हो। उनी महामारी फैलिनुअघिसम्म भारतमा आफ्ना श्रीमानसँग बसोबास गर्थिन्। २३ वर्षीया क्रिस्टिना मोडल समेत हुन्। पहिलो पटक कक्षा दसमा हुँदै उनले म्युजिक भिडिओबाट मोडलिङ यात्रा सुरू गरेकी थिइन्।
२०७० सालमा म्याग्दी, बेनीबाट एसएलसी दिएर काठमाडौं आएकी क्रिस्टिना मेगा कलेजमा व्यवस्थापन पढ्न भर्ना भइन्। त्यो बेलादेखि मोडलिङ करिअर अगाडि बढाएकी उनले निर्देशक सुनिल गिरी, गायिका मेलिना राई, टंक बुढाथोकी, अभिनेता पल शाहलगायत कलाकारसँग सहकार्य गरिसकेकी छन्।
प्लस-टु सकेर क्रिस्टिना पूर्ण रूपमा मोडलिङमा लागिन्। त्यसपछि उनको बिहे भयो। श्रीमानको व्यवसाय र काम भारतमा थियो। त्यसैले २०७४ सालतिर उनी उतै गएकी थिइन्।
कोरोना महामारी फैलिन थालेपछि उताको काम बन्द भयो। नेपाल फर्किने सोचे पनि लकडाउनका कारण पाएनन्। क्रिस्टिना र उनका श्रीमानले घर बसेका बेला खाना डेलिभरीबारे कुराकानी थाले। क्रिस्टिनाले नेपाल हुन्जेल खाना डेलिभरी गर्ने कम्पनीबारे उत्ति सुनेकी थिइनन्। तर भारतलगायत विदेशी बजारमा निकै प्रचलित रहेको पाइन्।
त्यसपछि उनले नेपाल फर्केर यही व्यवसायमा हात हाल्ने योजना बनाइन्।
'लकडाउन खुलेपछि नेपाल फर्किने सोच थियो। अनि फुड डेलिभरी कम्पनी चलाउने योजना बनाएँ,' क्रिस्टिनाले भनिन्। उनलाई नेपालमा अझै इ-कमर्स र अनलाइन डेलिभरी कम्पनीबारे कमैले बुझेका छन् भन्ने लाग्छ। तर आगामी पाँच वर्षमा इ-कमर्स राम्ररी स्थापित हुने विश्वास छ।
खाना सम्बन्धी काम गर्ने भएकाले नाम फुडगञ्ज जुरेको उनले बताइन्, 'कामसम्बन्धी मिल्दोजुल्दो र झट्ट याद हुने नाम सोच्दै जाँदा फुडगञ्ज आयो।'
क्रिस्टिना गत साल असारतिर नेपाल फर्किएकी हुन्। आएर उनले योजना अनुरूपै फुडगञ्जको 'सिस्टम' विकास र मोबाइल एप्सको काम थालिन्। यसमा झन्डै तीन महिना लाग्यो। त्यसबीच डेलिभरीका लागि चालकहरू नियुक्त गर्ने, प्रचार र रेस्टुरेन्टहरूसँग सहकार्य पनि भयो।
नयाँ कम्पनी भएकाले बजारमा स्थापित हुन चुनौतीपूर्ण रहेको सम्झिँदै क्रिस्टिना भन्छिन्, 'बजारमा हामी नयाँ थियौं। धेरै रेस्टुरेन्टलाई बुझाउन र सहकार्य गर्न समय लाग्यो। चुनौतीपूर्ण भए पनि अहिले हामीसँग थुप्रै पसल, रेस्टुरेन्ट जोडिनुभएको छ।'
फुडगञ्जको मार्केटिङका लागि क्रिस्टिनालाई गायिका तथा मोडल ज्योति मगरले समेत मद्दत गरेकी थिइन्।
'ज्योति दिदीलाई मेरो नयाँ व्यवसायबारे सुनाएँ। उहाँले मार्केटिङमा मद्दत गरिदिनुभयो,' ज्योतिसँग निकट क्रिस्टिनाले भनिन्, 'अहिले ग्राहकबाट पाइरहेको सकारात्मक प्रतिक्रियाले हौसला मिलेको छ।'
फुडगञ्जको डेलिभरी शुल्क अनलाइन वा डेलिभरीमा गर्न सकिन्छ। अनलाइनबाट गर्ने हो भने इ-सेवा, फोन-पे र खल्तीको सुविधा छ। कम्पनीले दुरीअनुसार न्यूनतम पचास रूपैयाँदेखि डेलिभरी शुल्क लिन्छ।
कम्पनीले छिट्टै उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने योजना बनाएको छ। त्यस्तै भविष्यमा आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने सोच पनि बनाएको क्रिस्टिनाले बताइन्।
उनी आफ्नो व्यवसायसँगै मोडलिङलाई पनि निरन्तरता दिने योजनामा छिन्। २३ वर्षमा उद्यममा हात हालेकी उनी भन्छिन्, 'उमेर र लिंगले कुनै पनि काम गर्न रोक्दैन।'
(फुडगञ्जसँग यसको वेबसाइट, फेसबुक पेज वा मा ०१-५९०२२७३/ ९८०१८६५१२७ मा सम्पर्क गर्न सकिनेछ।)