कसैले तपाईंलाई 'सर्प्राइज' उपहार दियो भने? जन्मदिन, वार्षिकोत्सव वा कुनै अवसरमा सर्प्राइज डिनर, डेट लैजाँदैछ भने नि?
सायद, ती खुसी वर्णन गरी साध्य छैन।
'अफरिङ ह्याप्पिनेस' ले उपहार र सर्प्राइज प्याकेज डेलिभर गरेर यस्तै खुसी बाँड्छ। व्यक्तिबीच भावनात्मक दुरी घटाउने प्रयत्न गरिरहेको कम्पनीको नामैले भन्छ- खुसी दिने। यसमार्फत् ग्राहकले उपहार, भ्रमण, डिनरदेखि विभिन्न सेवाका प्याकेज आफ्ना प्रियजनलाई दिन सक्छन्।
'हामी मान्छेलाई खुसी बनाउने प्रयास गर्छौं। भावनात्मक दुरी घटाउँदै, मेल बढाउँदैछौं,' अफरिङ ह्याप्पिनेसका सह-सञ्चालक निरज काफ्ले भन्छन्।
अफरिङ ह्याप्पिनेस नेसनल जिओग्राफीले तयार पारेको वृत्तचित्र 'ओन द रूम' मा पनि फिचर भएको छ। सन् २०१८ मा ५१ देशका उद्यमीलाई 'ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनरसिप अवार्ड' दिइएको थियो। नेपालबाट अफरिङ ह्याप्पिनेस छानियो। मकाउ पुगेका तिनै ५१ देशमध्ये पाँच वटा वृत्तचित्रका लागि छनौटमा परेका हुन्।
करिब डेढ घन्टाको वृत्तचित्रमा नेपालसँगै केन्या, पुर्टोरिको, ग्रिस र अमेरिकाका विभिन्न युवा उद्यमीको कथा देख्न सकिन्छ। आगामी मार्च १२ मा डिज्नी प्लस हटस्टारबाट यो वृत्तचित्र सार्वजनिक हुनेछ।
'वृत्तचित्रमा यो अवार्ड विजेता घोषणा कसरी र को हुन्छन् भन्ने र नेपालबाट हामीले के-कसरी काम गरिरहेका छौं भन्ने समेटिएको छ,' कम्पनीका अर्का सह-सञ्चालक सन्तोष पाण्डेले सेतोपाटीसँग भने। वृत्तचित्रमा कथा समेट्न निर्माण टोलीले अफरिङ ह्याप्पिनेसलाई झन्डै दुई हप्ता पछ्याएको थियो। छायांकन नेपाल र मकाउमा भएको छ।
अफरिङ ह्याप्पिनेस स्नातक पढिरहेका सात साथीको सहकार्यमा सुरू भएको हो। व्यावसायिक हिसाबमा अघि बढ्दै जाँदा चार जना मात्र रहे। निरज र सन्तोषबाहेक अभिनाश चौधरी र दर्शन पराजुली कम्पनीका सह-संस्थापक हुन्। अहिले भने काम निरज र सन्तोषले सम्हालिरहेका छन्।
सन् २०१६, फेबुअरीबाट काम थालेको कम्पनीले सुरूमा भ्यालेन्टाइन्स-डे लक्षित प्याकेज र ग्राहकको रोजाइ अनुरूप सर्प्राइज गिफ्ट बक्स बनाएको थियो। केही महिना यसरी नै चलेको कम्पनीको बाटो अभिनाशको आइडियाले मोडिदियो।
उनले 'रोमान्टिक डिनर डेट' को आइडिया निकाले। टोलीले यसमा काम थाल्यो। छोटो समयमै ग्राहकले सोधपुछ गर्न थाले।
'त्यसपछि मान्छेलाई यस्ता कुराले आकर्षित गर्ने रहेछ भन्ने बुझ्यौं। यस्ता आइडियामा अझै काम गर्न सकिन्छ भन्ने भयो,' सन्तोषले भने।
भक्तपुरका बासिन्दा सन्तोषले नेसनल कलेजबाट डेभलपमेन्ट स्टडिजमा स्नातक गरेका हुन्। कक्षा चारदेखि पोखराको सैनिक आवासीय महाविद्यालयमा होस्टल बसेका सन्तोष आफू अनुशासित र अन्तर्मुखी भएको बताउँछन्। होस्टल बस्दा बाहिरी मान्छेसँग बोल्न पनि सक्थेनन् रे।
सन्तोष पढाइमा अब्बल थिए। स्कुल हुँदादेखि नै सेन्ट जेभियर्स कलेज पढ्ने सपना देखेका थिए। तयारी गरे, नाम निस्केन, 'त्योबाहेक अरू कलेज विकल्पमा राखेको थिइनँ। नाम निस्केको भए म अहिले अर्कै ठाउँमा हुन्थेँ।'
उनी भक्तपुरकै ख्वप कलेजमा विज्ञान पढ्न भर्ना भए। उनलाई लाग्यो- अब त सामाजिक रूपमा खुल्नै पर्छ। केही गर्नैपर्छ।
सामाजिक सञ्जालबाट 'अकुपाइ बालुवाटार', 'फेरि उही ६०१' जस्ता अभियानमा आवद्ध हुन थाले। केही साथीको सहकार्यमा २०६९ सालतिर उनले 'चेन्ज भक्तपुर' अभियान सुरू गरे। त्यहाँबाट झन्डै ७० जनाभन्दा बढी युवासँग जोडिएको सन्तोष सम्झिन्छन्। यिनै कार्यक्रममा सहभागिता जनाउँदा उनी 'वी इन्स्पायर' नामक संस्थासँग जोडिए। सन्तोष र निरजको पहिलो भेट यही संस्थामा भएको हो।
त्यो बेला सन्तोष एमबिबिएस गर्ने सोचले तयारी कक्षा लिइरहेका थिए। तर पढाइबाहेक सामाजिक काममा बढी घुलमिल भएका उनले आफ्नो करिअर अन्तै देखेको बताउँदै भने, 'मान्छेसँग बोल्ने, समाज बुझ्ने, बुझाउने काम रमाइलो लागिरहेको थियो। त्यसैले एमबिबिएस नपढ्ने भएँ।'
सन्तोषको यो निर्णयले परिवारलाई चकित खुवायो। झन्डै १५ दिन बोलचालै बन्द भएको उनी बताउँछन्। तर उनले आफ्नो करिअरको मानचित्र बनाउन थालिसकेका थिए। छात्रवृत्तिमा नाम निकालेर स्नातक पढ्न नेसनल कलेज भर्ना भए। अनि घरमा सुनाए।
'त्यत्रो दिन बोलिचाल बन्द भएको थियो। पछि ममीले आफैं बोलाउनुभयो,' सन्तोषले हाँस्दै सुनाए, 'बाबालाई पनि कलेजले सम्झाएपछि बुझ्नुभयो।'
पछि निरज पनि डेभलपमेन्ट फाइनान्समा स्नातक गर्न नेसनल कलेज नै भर्ना भए। इन्सपायर संस्थामा हुँदै चिनजान भएका निरज र सन्तोषको कलेजमा घनिष्ठता बढ्यो।
सुनसरी, बराह नगरपालिकामा जन्मेका निरज कक्षा ५ सम्म उतै पढेका हुन्। २०६१ सालतिर काठमाडौं आएर कक्षा ९ सम्म पढे पनि एसएलसी इटहरीबाट दिए। सानैदेखि पढाइमा आफू 'औसत' भएकाले परिवारले ठूलो अपेक्षा नराखेको उनी बताउँछन्।
भन्छन्, 'एसएलसी दिँदासम्म पनि भविष्यमा के गर्ने भन्ने थिएन। पढाइभन्दा समाचार, समाज, राजनीतिमा बढी रूचि थियो। त्यसैले यसले पढेर खाँदैन भन्नुहुन्थ्यो घरमा पनि।'
जिन्दगीमा जे गरे पनि आफ्नानिम्ति गर्नु, यो पाठ परिवारबाट सिकेकाले आत्मनिर्भर हुनुपर्छ भन्ने उनलाई थियो। काठमाडौंमा होटल व्यवस्थापन पढ्न भि.एस. निकेतन भर्ना भएका उनी हाँस्दै सुनाउँछन्, 'गणित पढ्न पर्दैन भनेर यो विषय छानेँ।'
प्लस-टु सकेलगत्तै निरज आइइएलटिएस पढ्न थाले। अस्ट्रेलिया जाने भूत सवार थियो। सबै तयारी भए पनि भिसा मिलेन, 'बरू भारतै जान्छु भन्ठानेँ। तर साथीहरूले नजान सुझाए। मैले पनि धेरै सोचेँ। अनि यहीँ बस्ने निधो गरेँ।'
स्नातक पढ्न थालेपछि निरज कलेजका विभिन्न कार्यक्रममा सहभागी हुन थाले। सन्तोष उनीभन्दा दुई ब्याच सिनियर भएकाले पहिल्यैदेखि विद्यार्थी परिषदमा सक्रिय थिए। निरज पनि जोडिए। अफरिङ ह्याप्पिनेसका अरू दुई सह-संस्थापक अभिनाश र दर्शन पनि यहीँ भेटिएका हुन्। उनीहरू विभिन्न आइडिया र स्टार्ट-अप व्यवसाय सुरू गर्नुपर्छ भन्नेबारे कुरा गरिरहन्थे।
एकदिन निरजले आइडिया फुराए- विदेशमा रहेका नेपालीले आफ्नो परिवारलाई सर्प्राइज दिन सक्छन् कि! तर के सर्प्राइज?
उनीहरूको कलेजमा 'लाइफ टक' कार्यक्रम हुन्थ्यो। कार्यक्रममा विभिन्न विधाका व्यक्तित्व आफ्नो सफलता कथा सुनाउन उपस्थित हुन्थे। यसनिम्ति स्टेज सजावट र व्यवस्थापन जिम्मा श्रीशा पौडेल र श्रेया मानन्धरको थियो। उनीहरूको कला सन्तोषलाई मनपरेको थियो। साथी दीपा पराजुलीबाट कस्टमाइज्ड क्यालेन्डर पाउँदाको क्षण पनि सम्झिँदै उनले भने, 'कस्टमाइज सामग्रीमा मान्छेको भावना जोडिएको हुन्छ। उहाँहरूको सीप र हाम्रो व्यवस्थापनमा केही गर्न सकिन्छ कि भन्ने सोचाइ आयो।'
उनीहरूले कस्टमाइज गिफ्टमा काम थाले र अफरिङ ह्याप्पिनेस सुरू भयो। कम्पनीको काम गर्ने शैली र तरिका झन्डै चार महिना अध्ययन र परीक्षणबाट तयार भएको उनीहरू बताउँछन्। नाम राख्न भने डेढ महिना अल्झिएका थिए।
'खुसी र सर्प्राइजसम्बन्धी नाम खोजिरहेका थियौं। साथी सौनक भट्टले अफरिङ ह्याप्पिनेस सुझाए। कम्पनीको मुख्य उद्देश्य खुसी दिनु थियो, यही पक्का भयो,' सन्तोषले भने।
सेवा थाल्ने भएपछि उनीहरूले कलेजनजिकै बालुवाटारमा सानो कोठा भाडा लिए। उपहारका लागि थाइल्यान्डबाट आवश्यक सामग्री पनि मगाए। यसरी थोरैथोरै व्यवसाय बढिरहेका बेला 'डिनर डेट' को आइडियाले धेरै ग्राहक आकर्षित गर्यो। अहिले कम्पनीले कस्टमाइज गिफ्टसँगै 'एक्पिरियन्स गिफ्टिङ'मा बढी जोड दिएको छ। यो भनेको सगरमाथा आधार शिविर गएर प्रेम प्रस्ताव राख्नेदेखि सर्प्राइजमा आफ्ना प्रियजनलाई कुनै ठाउँमा लैजानेसम्म हुनसक्छ।
'एक्पिरियन्स गिफ्टिङले पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास छ,' निरज भन्छन्, 'एभरेस्ट बेस क्याम्प पुगेर प्रस्ताव राख्ने, फेवाताल बीचमा डिनर डेटजस्तो अनुभव नेपालमा मात्रै सम्भव छ। त्यसैले पर्यटन विकासमा केही गर्ने दीर्घकालीन सोच छ।'
अफरिङ ह्याप्पिनेसमा अहिले १२ जना सक्रिय छन्। दुई सय बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी दिएको र बाटामा बेलुन बेच्नेदेखि पाँचतारे होटल-रेस्टुरेन्टसम्म गरी पाँच सय बढीसँग सहकार्य भइरहेको निरजले बताए।
'बेलुन बेच्ने दाइहरू त अफरिङ ह्याप्पिनेसलाई नै आफ्नो कार्यालय मान्नुहुन्छ,' निरजले भने, 'लकडाउन खुकुलो भएसँगै उहाँहरू हामीकहाँ आएर काम दिन आग्रह गर्नुभयो।'
लकडाउनमा पनि कम्पनीले भर्चुअल सर्प्राइज र सेलिब्रेसन सेवा दिएको थियो। हालसम्म एक लाख बढीलाई सेवा पुर्याइसकेको उनीहरू दाबी गर्छन्।
सन्तोष र निरजको आर्थिक स्थिरताबारे परिवारले भने चिन्ता अझै चिन्ता गरिरहन्छन्। निरजले गुनासो पोखे, 'म के गर्छु भन्नेबारे परिवारका सबैले बुझिसक्नुभएको छैन। मान्छेको जन्मदिन मनाइदिने गर्छस् रे हो भन्दै सोध्नुहुन्छ।'
तर उनीहरू आफ्नो काममा कत्ति विचलित छैनन्। नेसनल जिओग्राफीमा फिचर भएपछि बरू ऊर्जा थपिएको छ। हाल काठमाडौंमा मात्र दिँदै आएको सेवा देशभर विस्तार गर्ने योजना पनि बनाइरहेका छन्।
सन्तोष उत्साहसाथ भन्छन्, 'गिफ्ट भन्नेबित्तिकै अफरिङ ह्याप्पिनेस याद होस् भन्ने हिसाबमा काम गर्दैछौं।'
चार जनाले २०/२० हजार संकलन गरी जम्मा ८० हजार रूपैयाँमा काम थालेका उनीहरू व्यवसाय गर्न लगानीले नरोक्ने सिद्धान्तमा विश्वास राख्छन्। बरू व्यवसाय विस्तार गर्न लगानी महत्वपूर्ण हुनसक्ने निरजको भनाइ छ, 'त्यतिञ्जेलसम्म लगानीकर्ता वा ऋण दिने पनि भइसक्छन्। धैर्य भएर काम गर्नुपर्छ, सफल भइहाल्छ।'
अफरिङ ह्याप्पिनेससँग फेसबुक पेज वा ९८०१८८८८९९ मा सम्पर्क गर्न सकिन्छ।