कलाकारहरू संजोग कोइराला, वर्षा राउत, दीपाश्री निरौला र दीपकराज गिरीको 'चिया अड्डा' लाजिम्पाटमा विस्तार भएको छ। सन् २०१८ मा खुलेको चिया अड्डा मिठो चियाका साथै रमाइलो वातावरणका लागि चर्चित छ।
पहिलो चिया अड्डा नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोनिर थियो। केही दिनअघि मात्र यो पनि बानेश्वर, पानी ट्यांकी नजिकै सरेको चिया अड्डाका सह–सञ्चालक संजोग कोइरालाले जानकारी दिए। लाजिम्पाटको शाखा भने एक साताअघि खुलेको हो।
चिया अड्डा सुरुआती दिनदेखि नै युवापुस्ताको आकर्षणमा परेको हो। यहाँ कलेजका विद्यार्थी र कामकाजी युवायुवती जमघट गर्न आउँछन्। त्यसैले बिहान र बेलुका भिडै हुन्छ।
बानेश्वरजस्तो व्यस्त सहरमा एकछिन आनन्दले बसेर चिया खाने ठाउँ बनाउने सोचले संजोग, वर्षा, दीपाश्री र दीपकराजले चिया अड्डा खोलेका हुन्। यहाँको धेरैजसो काम भने मुख्यगरी संजोगले सम्हाल्छन्।
'चिया अड्डा बानेश्वरको घन्चमन्चमा चिलिङ स्पट हो। अब लाजिम्पाट क्षेत्रमा पनि स्थापित गराउने सोच छ,' संजोग भन्छन्, 'यी दुवै ठाउँमा प्रायः रेस्टुरेन्ट महँगा छन्। कलेज र अफिस भएकालाई खाजा खान धेरै पैसा खर्च गर्नुपर्छ। यही समस्या समाधान गर्न हामीले सबैको बजेटअनुकूल मूल्य राखेका छौं।'
फिल्म निर्माण र अभिनयमा परिचित संजोग व्यवसाय क्षेत्रमा सक्रिय छन्। चिया अड्डाबाहेक इन्टेरियर र कन्स्ट्रक्सन कम्पनी, ह्यासट्याग लाउन्ज, आइसक्रिम लाइभजस्ता व्यवसाय पनि अघि बढाइरहेका उनी भन्छन्, 'यीमध्ये चिया अड्डा मेरो जीवनसँग नजिक छ।'
फिल्म र व्यवसाय दुवै क्षेत्र संजोगको पढाइभन्दा धेरै फरक हो। काठमाडौंमा उच्च शिक्षा सकेर उनी चार्टर्ड एकाउन्टेन्ट पढ्न भारत गएका थिए। पढाइ सकिएलगत्तै उनले राम्रो तलबसहितको जागिर पाए। तर संजोगलाई भारतमा काम गर्ने इच्छा थिएन।
'भारतमा त्यो बेला ४३ हजारको जागिर प्रस्ताव अस्वीकार गरेर म काम गर्न नेपाल फर्किएँ। तर यहाँ १५ हजार तलब पाउने भएँ। यता आमाले सधैं फिल्म खेल्न भन्नुहुन्थ्यो। फिल्म नखेलेसम्म घरभित्र छिर्न दिन्नसम्म भन्नुभयो,' उनले हाँस्दै सुनाए।
आमाको इच्छा पूरा गर्न उनले नेपालमै एक वर्ष फिल्म कक्षा लिए। उनको पहिलो फिल्म 'उत्सव' र नायक श्रीकृष्ण श्रेष्ठको 'कोहिनुर' सँगै रिलिज भएको थियो। संजोगका अनुसार उनको फिल्म राम्रो चलेन र घाटामा गयो।
'जुन उमेरमा आफ्ना साथीहरू डाक्टर, इञ्जिनियर भइसकेका थिए, म आफ्नो भविष्यलाई लिएर अलमल थिएँ,' उनी भन्छन्, 'त्यही बेला एक साथीले इन्टेरियर डिजाइनको आइडिया दियो। उसकै सुझावमा मैले विस्तारै अन्य व्यवसायमा हात बढाउन थालेँ।'
उनी व्यवसाय क्षेत्रमा रहरले नभइ परिस्थितिले आइपुगेको बताउँछन्। अहिले व्यवसायबारे धेरथोर अनुभव र ज्ञान पाएका संजोग यही काममा बढी घोत्लिन्छन्। कतै घुम्न जाँदा पनि दिमाग व्यवसायमै केन्द्रित हुन्छ। त्यसैले कहिलेकाहीँ श्रीमती वर्षा राउतको गाली पनि खाने उनले हाँस्दै सुनाए।
चिया अड्डाको आइडिया भने उनलाई चार वर्षअघि दुबई घुम्न गएका बेला आएको थियो। त्यहाँ 'फिल्ली' नामक क्याफेमा मान्छेको चियाप्रतिको लगाव देखेर उनले आफू कलेज पढ्दाका दिन सम्झिए।
'मलाई कफीभन्दा चिया बढी मनपर्छ। भारत बसेका बेला चिया खानै भनेर राति एक–दुई घन्टाको बाटो हुँदै पुनाबाट लोनाभ्ला पुग्थ्यौं,' आफ्नो कलेजका दिन सम्झिँदै संजोगले भने, 'चिया भनेको एकोहोरो जिन्दगीबाट बाहिर निस्किन खाने हो। कामका बीचमा साथीसँग बसेर चिया खानुको मज्जा बेग्लै हुन्छ।'
'अड्डा'मा बसेर चिया खाएको सम्झना संजोगलाई अझ विशेष बनाउन मन लाग्यो। त्यसका लागि फिल्लीकै शाखा नेपाल भित्र्याउने सोचे। त्यो प्रक्रिया धेरै महँगो हुने देखिएपछी बरू यस्तै केही नेपालमा आफैं खोल्ने योजना बनाए। अनि योजनाले चिया अड्डाको स्वरूप पाएको हो।
सुन्दै आकर्षित लाग्ने भएकाले नाम चिया अड्डा रोजेको संजोग बताउँछन्। भन्छन्, 'नेपालीलाई प्रायः चिया भन्ने बित्तिकै लोकल ठाउँ दिमागमा आउँछ। चिया पनि त्यस्तै ठाउँको मिठो हुन्छ। हामीले पनि आफ्नो चियामा त्यही स्वाद ल्याउन खोजेका हौं।'
यहाँको विशेष चिया 'मट्का कटिङ' हो। माटोको सानो कपमा खाइने यो चिया विशेषगरी भारतमा चर्चित छ र त्यहीँँबाट आफूहरू प्रभावित भएको उनले बताए।
संजोगका अनुसार सुरूका दिनमा शंखमुल जाने बाटोनिरको चिया अड्डा ६० लाख लगानीमा खुलेको हो। ठाउँ सानो भए पनि ग्राहकको भिड सधैं हुन्थ्यो। आफू अरू काममा हिँड्नुपर्ने भएकाले सबै जिम्मा कर्मचारीलाई दिएका थिए। संजोगले चिया अड्डामा विशेषगरी कलेजका विद्यार्थीलाई रोजगारी दिएका छन्।
राम्रो चलिरहेको व्यवसाय एक्कासि आएको कोरोना र लकडाउनले धर्मरायो।
चिया अड्डा पूरै बन्द भएपछि चिया पारखी संजोगलाई मुख्य गरी दुई समस्या आयो- एउटा, चियाको तलतलले सतायो। त्यो बेला संजोग थर्मसमै चिया बोकेर हिँडेको बताउँछन्।
अर्को, व्यवसाय नचलेपछि आर्थिक समस्या खेप्नुपर्यो।
आफ्ना कुनै कर्मचारीलाई जागिरबाट नहटाए पनि लकडाउनमा कमाइ नहुँदा भाडा तिर्न नसकेको उनले बताए। त्यसैले पुरानो ठाउँबाट सरेर बानेश्वर, पानी ट्यांकीनिर पुगेका हुन्। तर समस्यामा कहिलेकाहीँ अवसर खोज्नुपर्छ भन्ने मान्यता राख्दै चिया अड्डा लाजिम्पाटमा पनि विस्तार भयो।
'लकडाउनकै कारण हामीले शाखा खोल्न पायौं भन्दा हुन्छ। नभए यति चाँडै शाखा खोल्ने सुरसार थिएन,' संजोग भन्छन्, 'लकडाउन हाम्रा लागि एउटा माध्यम बन्यो। त्यो बेला कमाइ नभए पनि हामीले व्यवसाय कसरी अगाडि लानुपर्छ भन्ने बुझ्ने अवसर पायौं।'
संजोगका अनुसार लाजिम्पाटको चिया अड्डा अझै ठूलो क्षेत्रमा र फराकिलो छ। चिया अड्डाको पुरानो डिजाइन फेरिएको छैन र चियाको स्वाद पहिलेजस्तै मिठो भएको उनी दावी गर्छन्। भने, 'ग्राहकहरू यहाँका पिङमा झुल्दै चिया पिउन सक्नुहुन्छ।'
चिया अड्डा खब पक्नाजोल र उपत्यकाबाहिर पनि खोल्ने सोचमा छन् उनीहरू। संजोगले भने, 'तर सबै ठाउँमा एक्लै हेर्न सकिँदैन। त्यसैले फ्रान्चाइजको योजना बुन्दैछौं।'