पछाडि दुइटा र अगाडि एउटा पांग्रा, झट्ट हेर्दा गाडीजस्तो देखिने सानो डब्बा। ठूलो खुला झ्यालअगाडि मान्छेको लाम सधैंजसो हुन्छ।
ती मान्छे आफ्नो गन्तव्यमा पुग्न त्यो गाडीजस्तै देखिने डब्बाभित्र छिर्न लागेका भने होइनन्। उनीहरू आफूलाई मनपर्ने खानेकुरा किन्न पालो कुरिरहेका हुन्।
यो दृश्य 'पांग्रा एक्सप्रेस'को स्टल अगाडिको हो। सन् २०१९ देखि सञ्चालनमा आएको यो फुडट्रकले युवापुस्ताबीच निकै चर्चा कमाइरहेको छ। यसका सह–सञ्चालक अन्यात रोङबोङ पांग्रा एक्सप्रेसलाई फुडट्रक नभइ 'एयरस्ट्रिम ट्रेलर' भएको बताउँछन्।
'फुडट्रकको आइडिया विश्वभर निकै चलेको हो। नेपालमा पनि धेरैले सञ्चालनमा ल्याइसकेका छन्,' अन्यात भन्छन्, 'पांग्रा एक्सप्रेस भने नेपाल भित्रिएको पहिलो एयरस्ट्रिम ट्रेलर हो। यो फुडट्रकजस्तै नै हो। फरक यति हो, फुडट्रक गाडीलाई पुनःनिर्माण गरेर बनाइन्छ, एयरस्ट्रिम ट्रेलर गाडीकै डिजाइनमा निर्माण गरेर बनाउनु पर्छ।'
हामीकहाँ चलिरहेका रेस्टुरेन्टभन्दा नयाँ तरिकाले सुरू पांग्रा एक्सप्रेसका सञ्चालकहरू अन्यात रोङबोङसहित दीपेश कुँवर, श्रेयांश कार्की र अभिनेत्री ऋचा शर्मा हुन्। पांग्रा एक्सप्रेस नक्सालस्थित भाटभटेनी र पुल्चोकको लबिम मल गरेर दुई ठाउँमा छ।
विशेषगरी युवापुस्तालाई लक्षित गरेर खाजाहरू फरक तरिकाले प्रस्तुत गर्ने सोचले यी चार साथी मिलेर पांग्रा एक्सप्रेस सञ्चालनमा ल्याएका हुन्।
यसको आइडिया भने सुरूमा आफूले ल्याएको अन्यात बताउँछन्। बाह्र वर्ष दुबइका रेस्टुरेन्ट र फुडट्रकमा काम गरिसकेका उनलाई नेपालमा त्यस्तै व्यवसाय गर्न मन थियो। उनले आफ्नो यो सोच स्कुलदेखिका साथी दीपेशलाई सुनाइरहन्थे।
नेपालमा रेस्टुरेन्ट चलाएर बसिरहेका दीपेशलाई अन्यातको आइडिया मनपरेको थियो। यसैक्रममा उनी घुम्न दुबइ पुगेका बेला त्यहाँका फुडट्रक व्यवसायले उनको ध्यान अझ खिच्यो।
दुवै साथीको चासो एउटै क्षेत्रमा भएपछि उनीहरू आफ्नो आइडिया लिएर नेपाल आए।
व्यवसाय राम्ररी चलाउन बाहिरी बजारबारे पनि काम गर्नुपर्ने थियो। अन्यात र दीपेशले आफ्ना साथीको सहयोग खोजे। उनीहरूको सूचीमा स्कुलकै अर्की साथी ऋचा शर्मा परिन्।
'ऋचा र मेरो कुराकानी भइरहन्थ्यो। उनी सधैं नयाँ आइडियामा काम गर्न मन लागेको सुनाउँथिन्,' दीपेशले भने, 'त्यसैले अन्यात र मैले हाम्रो आइडिया ऋचालाई सुनायौं। उनी एकैपटकमा हामी सँग काम गर्न सहमत भइन्।'
श्रेयांश भने दीपेशका भिनाजु पर्छन्। अन्यात र ऋचासँग पनि उनको चिनजान थियो। श्रेयांशको आफ्नो छुट्टै व्यवसाय छ। दीपेशले सुनाएको आइडिया उनलाई पनि मनपर्यो।
अन्ततः चार जना मिलेर पांग्रा एक्सप्रेस सञ्चालन गरे।
अन्यातका अनुसार चार सह–सञ्चालकको आ–आफ्नै काम छ। अन्यातले पांग्रा एक्सप्रेसको खाना र सर्भिस व्यवस्थापन सम्हाल्छन् भने ऋचा बजार र प्रचार हेर्छिन्। दीपेश र श्रेयांश भने प्रशासन र लेखा सम्हाल्छन्।
यसको मुख्य अवधारणा 'मिल अन ह्विल्स', अर्थात् गाडीमा खाना पाइनु हो। गाडीसँग सम्बन्धित भएकाले नाम पांग्रा एक्सप्रेस राखिएको सञ्चालकहरू बताउँछन्।
यहाँ पाइने खाना सबैले खाँदै आएका स्ट्रिट फुड नै हो। तर पांग्रा एक्सप्रेसले ती खानालाई नयाँ ढंगले पकाउने सह–सञ्चालक दीपेश बताउँछन्।
'हाम्रो खानेकुरा नेपालीहरूले सामान्यतया मनपराउने मःम, ससेज, बर्गर नै हुन्। तर, त्यसलाई हामी नयाँ तरिकाले पेस गर्छौं,' दीपेशले भने, 'हामी बजार बुझेर मेनु बनाउँछौं। त्यसैले हरेक तीन महिनामा मेनु परिवर्तन हुन्छ। ग्राहकले धेरै र थोरै रूचाएका खाना बुझेर त्यसलाई हटाउने वा नयाँ परिकार थप्ने भनेर सबै बसेर सल्लाह गर्छौं।'
पांग्रा एक्सप्रेसका चर्चित परिकार चिकेन रामेन, हिरो ससेज, पिंक फ्लोइड बर्गर, चिम्चिचुरी नुडल राइस, फ्राइज, मःम, चटपटे कर्न, अमेरिकन कर्न, चिकेन स्ट्रिपस, चिल्ली चिज स्ट्रिप्स र चिकेन सा फाले हुन्। यहाँ पाइने कोल्ड ड्रिंक्स पनि ग्राहकले उत्तिकै मन पराउने सञ्चालकहरूको भनाइ छ।
यी सबै परिकारको मूल्य सस्तो रहेको सह–सञ्चालक श्रेयांशले बताए। सबभन्दा सस्तो परिकार फ्राइज हो, जसको चालीस रुपैयाँ पर्छ। यसैगरी महँगोमा जापानी स्टाइलबाट प्रभावित टेरियाकी एक्सप्रेस बर्गर हो। यसको तीन सय पच्चीस रूपैयाँ पर्छ।
'हामीले खाना र पैसामा दुवैमा फरक अनुभव ल्याउन खोजेका हौं,' सह–सञ्चालक श्रेयांशले भने, 'हाम्रा ग्राहक अधिकांश युवापुस्ता छन्। त्यसैले उहाँहरूको बजेटअनुसार मूल्य राखेका छौं।'
सञ्चालन भएको दुई वर्षमा पांग्रा एक्सप्रेसले ग्राहकबीच राम्रै चर्चा कमाउन सफल भयो। नयाँ आइडियाको व्यवसाय नचल्ने डर सञ्चालकहरू थिएन। बरू सबैजना यसमा काम गर्न उत्साहित भएको बताउँछन्। सञ्चालक सबैको आ-आफ्नै छुट्टै काम भए पनि पांग्रा एक्सप्रेसलाई अगाडि बढाउन कोशिस पनि गरिरहेका छन्।
अभिनेत्री तथा पांग्रा एक्सप्रेसकी सह-सञ्चालक ऋचा शर्मा आफू सुटिङ सकाएर भए पनि यसको मार्केटिङमा खट्ने बताउँछिन्। आफूलाई 'फुड्डी' भन्न रूचाउने ऋचाले नयाँ काममा रमाइरहेकाले धेरै सकस नपरेको बताइन्।
'हामी सबै सह–सञ्चालक यो व्यवसायमा रमाइरहेका छौं,' उनले भनिन्, 'पांग्रा एक्सप्रेसको आइडिया अलि नयाँ भएकाले सुरूमा यसको इन्जिन बनाउने मान्छे भेटाउन गाह्रो भएको थियो। पछि बुझेर काम गर्यौं। सफल भयो।'
गत वर्ष पांग्रा एक्सप्रेसका अरू शाखा पनि खोल्ने सोच उनीहरूको थियो। कोरोनाले रोकियो। अब भने यो काममा लागि पर्ने उनीहरू बताउँछन्।
'हामीलाई कोरोनाका बीचमा अलि गाह्रो भएको थियो। अहिले व्यवसाय राम्रो चलिरहेको छ,' अन्यातले भने, 'अप्ठ्यारो स्थिति हामीले पार गरिसकेका छौं। अब विस्तारै नेपालभर पांग्रा एक्सप्रेस चिनाउने प्रयासमा छौं।'
प्रायः बजारमा नयाँ कुरा आउनेबित्तिकै ग्राहक ह्वात्तै बढ्छन्। तर यसको निरन्तरता सधैं बढाइरहनु पर्नेमा उनीहरू सचेत छन्।
पांग्रा एक्सप्रेसका चारै सह–सञ्चालकको एउटै भनाइ छ, 'सुरूमा आइडिया ल्याएर काम गर्न जोकोही सक्ला। तर हरेक दिन काम अगाडि बढाइरहन गाह्रो हुन्छ। त्यसैले व्यवसायमा फाइदा मात्र नखोजेर दीर्घकालीन रूपमा कसरी लान सकिन्छ भनेर सोच्न जरुरी छ।'