ढाका कपडाका लुगा, चिटिक्क परेको बो–टाइ र सामान राख्ने सानो ब्याकप्याक बोकेका कुकुरका फोटाले 'भुलुखा'को इन्स्टाग्राम पेज भरिएको छ।
'भुलुखा' कुकुर र बिरालोलाई चाहिने र लगाउने सामान उत्पादन गर्ने नेपाली ब्रान्ड हो। यहाँका सबै सामान हातैले बनाइएको सञ्चालक प्रज्वल मानन्धर बताउँछन्।
हामीकहाँ घरपालुवा जनावरलाई चाहिने सरसामानको माग बढिरहेको छ। धेरैजसो विदेशबाट आयात हुन्छ। यस्तो बेला २७ वर्षीय प्रज्वलले देशमै उत्पादित सामग्रीबाट सामान बनाउने जमर्को गरी दस महिनाअघि सुरू गरेका हुन् 'भुलुखा'।
'नेपालमा कुकुर र बिरालोलाई चाहिने सामानको बजार बढ्दै जानुको मुख्य कारण विदेशी फिल्मको प्रभाव हो,' उनले भने, 'मानिसहरूमा पनि पाल्तु जनावरप्रति घरको सदस्यजस्तै भावना बढिरहेको छ। घरपालुवा साथीका लागि नयाँ सामान किन्न पाउँदा खुसी पनि लाग्छ।'
नेवार भाषाको शब्द भुलुखाको अर्थ उल्लू हो। प्रज्वलका अनुसार उनी धेरैजसो राति काम गर्न रूचाउँछन् र उल्लू बुद्धि, शक्ति, धैर्य र अवलोकनको प्रतीक पनि हो।
'त्यसैले आफ्नो ब्रान्डका लागि यही नाम सुहाउँदो हुने सोचेँ,' उनले भने।
प्रज्वल पेसागत रूपमा ग्राफिक डिजाइनर हुन्। योभन्दा बढी जनावरप्रेमी हुन्। आफ्नो पढाइ र पेसाभन्दा फरक क्षेत्रमा काम गर्नुका पछाडि उनको छुट्टै कथा छ।
प्रज्वलका अनुसार उनलाई सानैदेखि चित्र बनाउन निकै रूचि थियो। खाली समयमा कापी-कलम लिएर चित्र कोर्न बस्थे। चित्रकलाप्रति मोह अन्य कलाकारको जस्तै भए पनि उनी अलि फरक थिए। प्रज्वल जनावरका मात्र चित्र बनाउँथे। अझ विशेषगरी विभिन्न जातका कुकुरको चित्र उनका कापीमा धेरै देखिन्थ्यो।
'कला र जनावरप्रति मोहकै कारण मैले फाइन आर्ट्स अन्तर्गत ग्राफिक डिजाइनिङमा स्नातक गरेँ,' उनी भन्छन्।
तर ग्राफिक डिजाइन र जनावरसँगको सम्बन्ध के?
उनी प्रस्ट्याउँछन्, 'कुनै पनि वस्तुको चित्र बनाउँदा त्यसको शरीर रचना बुझ्नुपर्छ। पढाइ क्रममा मैले धेरैजसो चित्र कुकुर र बिरालोकै बनाएँ। त्यसले गर्दा तिनीहरूको शरीरबारे झनै धेरै ज्ञान पाएँ। कुन प्रजातिका कुकुरको नाप कति हुन्छ भनेर सबै थाहा पाइसकेको थिएँ।'
पढाइसँगै आफ्नो रूचि पूरा हुनेगरी काम गर्ने इच्छा उनलाई थियो। अनि इन्टरनेटमा खोज्दै जाँदा जनावरलाई चाहिने सामान नेपालमा नबन्नेबारे आफूले थाहा पाएको उनी बताउँछन्।
यसपछि के चाहियो उनलाई! आफैं चित्र बनाएर कुकुर र बिरालोलाई हुने लुगा, कलर, भेस्ट र बो-टाइको डिजाइन निकाल्न थाले। कपडा ल्याए र नापअनुसार काटे। सिलाएर चिटिक्क बनाए। यी सामानलाई व्यवसायकै रूपमा लान सकिने देखे।
भुलुखाले कुकुर र बिरालोलाई चाहिने सबैजसो सामान बनाउँछ। विशेषगरी घाँटीमा लगाउने कलर, बो-टाइ, हार्नेस, भेस्ट, ब्याकप्याक, लिस र बेड उत्पादन गरिरहेको छ। यहाँ पाइने सबै सामान फरक डिजाइनका छन्। केही कलर र बो–टाइ ढाका र घेरी कपडाले बनेका छन्। ग्राहकले आफ्नै रोजाइअनुसार 'कस्टमाइज' पनि गर्न सक्छन्।
ग्राहकले ढाका कपडाले बनेका सामान बढी रूचाएको प्रज्वल बताउँछन्। ढाका कपडासँग उनको पारिवारिक पेसाको कथा जोडिन्छ।
'मेरो हजुरबुवा आफैं ढाका उत्पादन गर्नुहुन्थ्यो र बुवा कपडा पसल चलाउनुहुन्थ्यो,' उनी भन्छन्, 'आफ्नो पुर्ख्यौली काम नबिर्सिन र नेपालीपन झल्काउन मैले ढाकालाई नै आफ्ना उत्पादनमा प्राथमिकता दिएको हुँ।'
कुकुर र बिरालोका लागि किनिने सामान तिनका ज्यानको आकारअनुसार फरक पर्ने प्रज्वलको भनाइ छ। भुलुखाका सामानको भाउ चार सय रूपैयाँबाट सुरू हुन्छ। सबभन्दा महँगो दुई हजार सात सय रूपैयाँ पर्ने कुकुरको ब्याकप्याक हो।
यी उत्पादन भुलुखाको आधिकारिक फेसबुक र इन्स्टाग्रामबाट अर्डर गर्न सकिन्छ।
'बजारमा कुकुरका लागि सस्तोमा पाइने सामान धेरै छन्। तर ती टिकाउ हुँदैन। भुलुखामा प्रयोग हुने कपडा म आफैंले कटिङ गरेर कारखानामा बनाउन लान्छु। ठीक छ-छैन हेर्छु। मेरा घरका कुकुरलाई पनि लगाइदिन्छु। त्यसैले यसको गुणस्तरमा तलमाथि हुँदैन,' उनी दावी गर्छन्।
प्रज्वलले यो व्यवसाय करिब तीन लाखमा सुरू गरेका हुन्। पछि उत्पादन बढाउँदै गर्दा नौ लाख लगानी पुगेको बताउँछन्। उनका अनुसार भुलुखा सुरू गरेको दोस्रो दिनमै लकडाउन भएको थियो। यसले गर्दा काम सुरू हुन नपाउँदै रोकियो।
व्यवसाय अगाडि लान नपाएपछि उनले खाली समयमा आफ्नै आइडियामा अर्को काम गर्ने सोचे। यसको परिणाम स्वरूप 'प्रोजेक्ट निओन' अभियान सुरू भयो। यसअन्तर्गत उनले सडकका बेसहारा कुकुरका लागि घाँटीमा लगाउने चम्किलो कलर बनाउन थाले।
'लकडाउन बेला सडक खाली हुन्थ्यो। प्रायः कुकुर सडकबीच हिँड्थे र सुत्थे। राति हुँइकिएर आएका गाडीले तिनलाई ठक्कर दिएर मार्थ्यो वा घाइते बनाउँथ्यो,' प्रज्वल भन्छन्, 'यस्तो घटना बढ्न थालेपछि मैले यो अभियान सुरू गरेको हुँ।'
रातमा चम्किने कलरले कुकुरलाई परैबाट देखिने र तिनको ज्यान जोगिने आशा उनको छ। प्रज्वलले समुदायका विभिन्न व्यक्ति तथा केही संस्थासँग मिलेर यो अभियान चलाइरहेका छन्। अहिले अभियानसँगै भुलुखाको व्यवसाय पनि अगाडि बढिरहेको उनी सुनाउँछन्।
ग्राफिक डिजाइनर, व्यवसायी र अभियन्ताबाहेक प्रज्वल डग-ट्रेनर पनि हुन्। उनले १६ वर्षकै उमेर डग-ट्रेनरका रूपमा काम गर्न थालिसकेका थिए। सानै उमेरमा आफ्नै सीपले उनी डग-ट्रेनर भएका हुन्। तर चाखलाग्दो कुरा, त्यसबेला प्रज्वलको आफ्नै कुकुर थिएन।
'कुकुर पाल्ने ठूलो रहर थियो। तर घरमा धेरै ठाउँ नभएकाले मिलेन,' उनी सम्झिन्छन्, 'कुकुर पाल्न नपाएपछि घरमा एउटा सानो चल्ला पाल्न ल्याएँ र तालिम दिन थालेँ। चल्लाको कसैलाई नटेर्ने ढिट स्वभाव हुन्छ। तालिम दिन गाह्रो। तर थोरै समयमै चल्लाले धेरै सिक्यो।'
यसपछि उनलाई लाग्यो- चल्लालाई त तालिम दिन सकियो भने जुनै जनावरलाई सिकाउन सकिने रहेछ।
कुकुरलाई तालिम दिने हिम्मत उनलाई चल्लाबाटै आएको हो। स्नातकपछि उनले भेटिरिनरी अस्पतालमा कुकुर व्यवहार परामर्शदाताका रूपमा एक वर्ष काम गरेका थिए। यी सबै अनुभवले प्रज्वललाई जनावरसम्बन्धी व्यवसायमा काम गर्न अझ मद्दत पुगेको बताउँछन्।
पढाइ र अरू रूचि एकैसाथ अघि लगिरहेका प्रज्वल अब भुलुखालाई देशबाहिर चिनाउने प्रयासमा छन्। व्यवसाय क्षेत्रमा अनुभव धेरै नभए पनि सिक्दै जानेमा उनी विश्वास राख्छन्।
'सुरूमा त परिवारलाई पनि छोराले यस्तो व्यवसाय गर्न सक्ला, नसक्ला भन्ने डर थियो। तर आफ्नो इच्छा पछ्याउँदै जाने हो भने विस्तारै सबै हासिल गर्न सकिँदो रहेछ,' उनी भन्छन्, 'अझै धेरै सिक्न बाँकी छ, सिक्दैछु। भुलुखाका उत्पादनमा पनि सुधार गर्दै लानेछु।'