तिहारमा दाजुभाइलाई के उपहार दिने? लुगाफाटा सधैंजसो दिएकै हो।
दाजुभाइले पनि दिदीबहिनीलाई के दिने? नगद वा कपडा दिइराखेकै हो।
तपाईंहरू पनि यस्तै अलमलमा हुनुहुन्छ भने एउटा नौलो र उपयोगी उपहार हुन सक्छ, ओखर घडी।
यस्तो के घडी भन्नुहोला, यो सामान्य बजारमा पाइनेजस्तो होइन, ओखरको काठले बनेको घडी हो।
तिहारमा भाइमसलासँगै ओखरको घडी उपहार दिन सकिने विकल्प नेपाली कम्पनी 'काश' ले ल्याएको हो। केटा र केटी दुवैले लगाउन मिल्ने यो घडी कम्पनीले 'ओखर स्टोर' मार्फत् बिक्री गरिरहेको छ।
यो घडी किन्न तपाईं कहीँ जान पनि पर्दैन, घरमै आउँछ। ग्राहकले ओखर स्टोर डट कममा गएर अर्डर गर्न सकिने कम्पनीका अध्यक्ष प्रकाश दाहालले जानकारी दिए। यसका साथै दराज अनलाइनमा पनि किन्न पाइने छ।
घडी घरसम्म ल्याइदिए बापत ग्राहकलाई थप शुल्क लाग्दैन। कम्पनीले तिहारभरि निःशुल्क डेलिभरी दिएको छ।
प्रकाशका अनुसार यो घडीको 'डायल' वरिपरिको 'केस' र चेनमा ओखरको काठ राखेर डिजाइन गरिएको छ। घडीको इन्जिन भने जापानी कम्पनीको छ। यो ४२ मिमिको एक आकारमा मात्रै पाइन्छ।
ओखर ब्रान्डको काष्ठमण्डप घडी र ओखरको ब्यान्ड हालिएको एप्पल घडीओखर ब्रान्ड अन्तर्गत भित्रिएको यो घडीको नाम ‘काष्ठमण्डप’ हो। तिहार अवसर भनेर कम्पनीले यसको मूल्य ४ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ। चेनका हरेक टुक्रा सबै हातबाट बनाइएकाले तुलनात्मक रूपमा अलि महँगो परेको प्रकाश बताउँछन्।
‘यसको प्रत्येक डिजाइन हातैले बनाइएको हो। यसको लागत नै महँगो छ,’ उनले भने।
अब तपाईं लाग्ला यो घडी कहाँ बनेको हो?
प्रकाशका अनुसार घडीको डायल, चेन छुट्टाछुट्टै चीनबाट आउँछ। त्यसलाई यहाँ ल्याएर जोड्ने काम कम्पनीले गर्छ। घडीको 'एसेम्बल' का लागि कम्पनीले दुई जना कर्मचारी राखेको छ।
घडी डिजाइन भने कम्पनीका अध्यक्ष प्रकाशले नै गरेका हुन्।
५ जनाको समूह रहेको कम्पनीले पहिल्यैबाट विदेशबाट सामान ल्याएर बेचविखन गर्दै आइरहेको थियो। यही सिलसिलामा प्रकाशलाई नेपाली नाममै केही नयाँ सामान बजारमा भित्र्याउने रहर भयो।
.jpg)
‘साथीहरूबीच काठ प्रयोग गरेर सामान बनाउने छलफल भयो। त्यसमा हामीले घडी सोच्यौं,’ उनी सुनाउँछन्, ‘घडी बजारमा काठ प्रयोग नौलो हुने हामीले ठानेका थियौं। तर खास नयाँ कुरा रहेनछ।’
अरू भन्दा फरक हुन काश कम्पनीले थप खोजी गर्यो।
‘एकदिन एउटा चिनियाँ साथीले वालनटको घडी भनेर देखायो। ओखर शब्दले मलाई छोयो,’ उनी ब्रान्डको नामबारे सुनाउँछन्, ‘ओखर ब्रान्ड राखेर तिहारमा उपहार दिन मिल्ने उद्देश्यले उक्त घडी बनाउन सुरू गरेका हौं।’
एक वर्षअघि उत्पादन सुरू गरेको उक्त घडी यो वर्ष तिहारमा नेपाली बजार पहिलो पटक आएको हो।
ओखरको तिहारमा जुन महत्व छ, त्यो महत्वलाई यो घडीले झनै आत्मियता बढाइ दिने प्रकाशको विश्वास छ।
‘तिहारमा ओखर। ओखरकै काठले बनेको घडी। त्यहीँमाथि दाजुभाइ दिदीबहिनीले दिएको भन्दा छुट्टै आत्मीयता महशुस हुन्छ होला,’ उनले भने।
कम्पनीले घडीमा एक वर्ष वारेन्टी दिएको छ। काठबाट बनेका घडी स्टिल जस्तो बलियो भने नहुने भएकाले अलि जतन गर्नुपर्ने उनी बताउँछन्।

‘हात धुँदा, बाटोमा हिँडिरहेका बेला पानी पर्दा घडीमा पानी पस्दैन। तर धेरै समय पानीमा डुबाउने, बल लगाएर खोल्ने गर्यो भने काठ भाँचिन सक्छ,’ उनले भने।
घडीमा केही समस्या आयो भने ग्राहकले कस्टमर केयर सेन्टरमा (९८५११३२५२४) कल गर्न सक्ने छन्।
‘वारेन्टी अवधिमा ब्याट्री सकियो वा इन्जिनमा केही समस्या भए हामी मर्मत वा सट्टा गरिदिन्छौं। चेन टुटफुट भयो भने वारेन्टीभित्र पर्दैन,’ उनले भने, ‘ग्राहकले त्यस्तै चेन हामीसँग किनेर हाल्न सक्छन्। होइन, म बाहिर चेन किनेर हाल्छु भने पनि लेदरको हाल्दा राम्रो देखिन्छ। हामीले पनि त्यो परीक्षण गरिसकेका छौं।’
प्रकाशका अनुसार कम्पनीकाे एउटा घडी बेचे बराबर एउटा ओखर रूख पनि रोप्ने योजना छ।
‘यो घडी लगाउने व्यक्तिले घडी लाएको मात्र हुँदैन, एउटा ओखरको रूख पनि रोपेको हुन्छ’, उनले भने।
रूख कहाँ रोप्ने भन्ने विषयमा कम्पनीले अहिले निर्णय गरिसकेको छैन। तर सय वटा बेचेपछि औपचारिक रूपमा रूख रोप्ने काम थाल्ने कम्पनीकाे योजना छ।
‘ओखर उत्पादन हुने जंगलमा आफैं रोप्न पनि सक्छौं। त्यसरी रोप्दा संरक्षण हुँदैन कि भन्ने लागेको छ,’ उनले भने, ‘कुनै समुदायलाई बिरूवा दिन पनि सक्छौं।’
.jpg)
घडी बाँसको बाकसमा आउँछ। घडीको चेन घटाउने पिन र एउटा घडी बेचे बापत एउटा रूख रोप्छौं भनेर लेखिएको एउटा कार्ड पनि घडीसँगै ग्राहकले पाउँछन्।
आफूहरूको घडीमा कसैलाई ओखर काठ हो-होइन भन्ने शंका लागे काठ विशेषज्ञलाई देखाउन सकिने उनको भनाइ छ। कम्पनीले घडीसँगै ओखरकै काठबाट बनेको घडी ब्यान्ड र कफ-लिंक पनि ल्याएको छ।
‘सबैले यही प्रकारका घडी लगाउन नरूचाउने भएकाले हामीले छुट्टै ब्यान्ड पनि ल्याएका छौं। ग्राहकले आफूसँग भएको एप्पल वाचमा यो ब्यान्ड प्रयोग गर्न सक्छन्,’ उनले भने।
उनका अनुसार ब्यान्डको मूल्य १ हजार ९ सय ९९ रूपैयाँ छ। यो ४२ र ४४ मिमि आकारमा उपलब्ध छ। त्यस्तै कफलिंकको मूल्य ९ सय ९९ रूपैयाँ छ।
आगामी दिनमा ओखर काठबाट बनेका अन्य सामान पनि ल्याउने कम्पनीको योजना रहेको उनले बताए।