लकडाउन भएको दुई महिना पुगेको थियो। एकदिन 'हिमालीः मेड बाइ मदर्स' कम्पनीका सह-संस्थापक सुवास पँगेनीलाई आफ्ना एक कर्मचारीको फोन आयो।
फोनमा कर्मचारीले सोधिन्, 'सुवास भाइ, कम्पनी कहिले खोल्ने?'
ती महिलाका श्रीमान विदेशमा थिए। महामारीबीच उनी उतै बितेछन्। श्रीमानको कमाइले घर चल्थ्यो। अब उनी आफैंले आम्दानी जुटाउनु पर्ने थियो।
उनीसँग अरू विकल्प थिएन, आफूले जानेको सिलाइबुनाईको काम गरी त्यसैबाट आएको रकमले घर धान्ने बाहेक।
'आम्दानीको स्रोत रोकिएपछि छटपटी हुन्छ। त्यस्तै भयो। दिदीलाई आफ्नै सिपको आडभर लागेपछि काम मलाई सम्झनुभयो,' सुवासले भने, 'काम थाल्न पाए दुई-चार सय कमाइ हुन्छ भन्ने आशा।'
ती महिलाजस्तै अन्य थुप्रै आमाहरूका लागि 'हिमाली' सहारा बनेको छ। उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेर 'हिमाली' गत वर्ष मात्रै खुलेको हो। सुवास र उनका साथी दिनकर नेपालले मिलेर यसलाई सञ्चालनमा ल्याएका हुन्।
यहाँ विशेषगरी स्याङ्जा चिसापानीका २० जना महिला आवद्ध छन्। उनीहरू ऊनीका सुइटर, गलबन्दी र टोपी बुन्छन्।
चिसापानी विकट भेगमा पर्छ जहाँका महिला पिछडिएका छन्। त्यस्ता महिलालाई आर्थिक सहयोग पुर्याउनकै लागि हिमाली सञ्चालनमा आएको सुवासले जानकारी दिए।
'कुनै समय एक सय रुपैयाँको लागि बुवा, ससुरा, श्रीमान, दाजुभाइ समक्ष हात फैलाउनु पर्थ्यो। तर अहिले रोजगारीपछि आमाहरू आफैं घर चलाउने हुनुभयो,' सुवासले भने, 'लकडाउनले काम बन्द हुँदा अलि गाह्रो भयो। उहाँहरू काम पर्खिँदै बस्नुभयो।'
चार महिनापछि हिमालीको काम पुनः सुरू भएको छ। गत वर्षको उत्पादन बजारमा पुग्न सकेन। यस वर्ष हातले बुनेका ३ हजार वटा सुइटर बजार पुग्दैछ। यसको मूल्य मूल्य ९ सयदेखि १५ सयसम्म पर्ने सुवास बताउँछन्।
यसरी केही महिनादेखि हिमालीमा कार्यरत महिलाले मासिक ७ हजारदेखि १८ हजारसम्म कमाउँदैछन्।
अहिले हेर्दा कम्पनी र कर्मचारी महिलाहरूलाई सहज देखिए पनि चिसापानीमा कारखाना सुरू गर्न सजिलो थिएन। सुवासका अनुसार काम थाल्दा गाउँलेले उनीहरूलाई 'पागल' समेत हुन लागेको भन्थे रे।
सुवासले सुरूआती दिनबारे भने, 'तर आँट्यो भने नसक्ने केही रहेनछ!'
हिमाली सुरू गर्ने योजना भने दुई वर्ष अगाडिबाटै भएको उनी बताउँछन्। जन्मथलो वालिङ जाँदा सुवास र दिनकर दुवैको मनमा केही गर्नुपर्छ भन्ने सोच आएको रहेछ।
नाताले दाजुभाइ पर्ने उनीहरू वालिङलाई देशभर चिनाउन चाहन्थे। त्यही उद्देश्यले उनीहरूले 'वालिङ १००' माउन्टेन बाइकिङ प्रतिस्पर्धा गरेका थिए।
२०७५ भदौतिर प्रतिस्पर्धाका लागि वालिङ नगरपालिकामा ट्र्याक खोज्दै साइकलबाटै गाउँ-बेसी डुल्दै थिए।
त्यसैबेला सुवासले भनेछन्, 'दाइ, गाउँ-गाउँमा आमाहरू बेरोजगार छन्। न कुनै आम्दानी स्रोत छ, न कहीँ बाहिर गएर काम गर्न सक्ने। बिजोग छ यतातिर महिलाहरूको त!'
सुवासले गाउँ-समाजको यो यथार्थ धेरै अघिबाट ख्याल गरेका थिए। सानैमा आमा-बुवा बितेपछि आफूमा निकै परिवर्तन आएको मान्ने सुवासका आफन्त भनेकै गाउँ र गाउँले हुन्। उनी गाउँका आमा, दिदीबहिनी र महिलाबारे आफूलाई लागेको जिज्ञासा र गुनासो खुलेर दिनकरसामु फुकाउँदै थिए। सुवासका कुराले दिनकरको मन भारी हुँदै गयो।
'उमेरले सुवासभन्दा पाको भए पनि यस्ता विषयमा सोच्न समय मिलेको थिएन। भाइका कुरा सुनिरहेँ। केही बोल्नै सकिनँ,' दिनकरले भने।
उनलाई गाउँमा यथावत पितृसत्तात्मक सोच, व्यवहार, रहनसहनका विषयले सोच्न बाध्य बनायो। त्यसबखत उनीहरू दुवैले गर्न सक्ने केही थिएन। कतिपय कुरा देखेर पनि नदेखे झैं गर्नुपर्ने रहेछ!
सुवास भन्छन्, 'जसको दिनरात सेवा गर्छन् उनैको हुकुममा चल्नुपर्ने महिलाहरूको बाध्यता बनेको छ। यसैले हरेक गाउँको सुन्दरता लुकाए झैं महसुश गराउँछ।'
वालिङमा काम सकेर सुवास काठमाडौं फर्किए। दिनकर भने केही समय उतै रहे। छुटेपछि दुवैलाई गाउँको अवस्थाको झल्कोले सताउन थाल्यो। सुवास आफ्नो विचलित मन लिएर एकदिन ठमेल गए।
त्यहाँ उनले हातले बुनेका कपडाको लर्को देखे। उनलाई पनि आइडिया फुर्यो- गाउँका महिलालाई सीप सिकाउने र रोजगार दिलाउन सकिने। यसै विषयमा उनले दिनकरसँग छलफल गरे।
'नोकरी गर्न आमाहरू जान सक्दैनन् भने नोकरी गाउँघरमै ल्याउने भन्ने धारणा थियो। भाइको आइडिया त्यहीसँग मिल्ने भएपछि काम थाल्ने आँट्यौं,' दिनकरले भने।
उनीहरू गाउँमै मेसिन पुर्याएर महिलाहरूलाई तालिम दिएर कपडा बनाउने सोचमा अडिए। सुरूमा ६ लाख लगानी लाग्ने भयो। दुई भाइ र केही साथीको सहयोगमा खर्च जुटाए। अनि वालिङ वडा नम्बर ५, चिसापानी, बेसारपानीमा मेसिन राखेर परीक्षण गर्ने निधो भयो।
काम थाल्न कम्पनीको नाम राखे- हिमालीः मेड बाइ मदर्स। अर्थात् हिमालीः आमाहरूले बनाएका।
'मेरा बुवाले हिमाली सप्लायर्स कम्पनी चलाउनुभएको थियो। त्यही नामबाट हामीले पनि नयाँ काम थाल्यौं,' सुवासले भने।
आफ्ना बुवाको काम निरन्तरता दिन सक्ने भए पनि गाउँकै लागि केही गर्ने इच्छाका कारण नयाँ व्यवसायमा हात हालेको उनी बताउँछन्।
काम थाल्ने सोचपछि गत वर्ष गाउँका महिलाहरूलाई डाके। २३ देखि ४० वर्षसम्मका करिब १०० जना भेला भए। दिनकर र सुवासलाई पनि आत्मबल मिल्यो।
झन्डै ४० जना महिलाले तालिम लिएपछि हामी काम गर्छौं भन्ने प्रतिक्रिया दिए। त्यसपछि उनीहरूले चिनियाँ र भारतीय प्रविधिका केही मेसिन ल्याए। धागो किने। काठमाडौंदेखि सिलाइबुनाइ तालिम दिन एक जना प्रशिक्षक लगे। गाउँका इच्छुक महिलालाई तालिम दिन थालियो। घरधन्दा सकेर बिहान ९-१ र १-५ बजेसम्म तालिम दिइयो।
तर तालिम चल्दै गएपछि सहभागी महिला घट्दै गए।
'धेरै जसो महिलालाई परिवारबाट सहयोग मिलेन। कसैलाई घर-धन्दाबाट फुर्सद भएन। त्यसैले तालिम लिन आउने संख्या घट्दै गयो,' सुवासले भने। त्यस्तै कतिले आँखा र अन्य शारीरिक समस्याका कारण तालिम लिन सकेनन्।
उनका अनुसार महिलाहरू घर बाहिर निस्केर काम गर्नुलाई गाउँबस्तीमा सकारात्मक दृष्टिले हेरिन्थेन। हिम्मत र समय जुटाएर आएकाले चार महिने तालिम लिए। पूरा लिनेहरू ८ जना मात्र भए। उनीहरू अहिले स्विटर, गलबन्दी लगायत बुन्न पक्का भइसके। एउटा बुनेबापत सयदेखि हजारसम्म ज्याला लिन्छन्।
'त्यसरी पारिश्रमिक पाउँदा उहाँहरूको घर धान्न सजिलो भएको सुनाउनु हुन्छ,' सुवासले भने। पूरा तालिम लिएर काम थालेकाले रकम बुझेको थाहा पाएपछि गाउँका अरू महिला पनि तालिम लिन खोजिरहेका छन्। केहीलाई पारिवारिक समर्थन पनि मिल्दैछ।
कम्पनीबाट महिलाहरूलाई सीप सिकाउने, रोजगारी दिने, हिसाब-किताब राख्ने काम सुवास गर्दैछन्। दिनकर ब्रान्डिङ र मार्केटिङमा सक्रिय छन्। अबको दुई वर्षमा हिमालीका सामान निर्यात गर्ने र पाँच वर्षमा एक हजार महिलालाई रोजगारी दिने लक्ष्य कम्पनीको छ।
'नेपाली बजारमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं। यहाँ हातले बनाएको नेपाली कपडा रूचाउने संख्या निकै कम छ,' सुवास भन्छन्, 'त्यसैले हाम्रा लक्षित ग्राहक विदेशी नै हुन्।'
सुवास र दिनकरको अहिले एउटै सिद्धान्त छ- जबसम्म आमाको हातमा आफ्नै कमाइ हुँदैन, जति नै पढे-लेखे पनि छोरीहरू स्वतन्त्र हुन सक्दैनन्।
उनीहरूको प्रयास नेपालभरका आमालाई रोजगार दिलाउनु हो। र, यसैमा हिमालीमार्फत लागिरहेका छन्।
(हिमालीलाई फेसबुक पेज वा ९८४६०७१७६५ मा सम्पर्क गर्न सकिन्छ।)
(जुना श्रेष्ठका अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्)