लकडाउनले चारैतिर सुनसान समय। एक युवक गाडी लिएर सुटुक्क सहर पस्छ। गाडीको पछाडि भागमा अर्को व्यक्ति पनि बसेको हुन्छ।
बैजनी शरीर, हरियो लुगा र कालो चस्मा लगाएर व्यक्ति निस्फिक्री बसिरहँदा पनि युवकले थाहा पाउँदैन।
लकडाउनमा गाडी चलाएकाले प्रहरीले जाँच गर्छन्। पछाडिको व्यक्ति र प्रहरीबीच गोली हानाहान हुन्छ। प्रहरीबाट जसोतसो भाग्न सके पनि हातापाइमा चालक युवक घाइते हुन्छ। उसलाई अस्पताल लगिन्छ।
अस्पतालमा डाक्टरले जाँच्छन्। उसलाई कोरोना पोजेटिभ देखिन्छ। रिपोर्टमा लेखिएको हुन्छ- कोरोना भाइरसले 'गोली' हानेको।
चालक युवकको पछाडि बस्नेको नाम हो कोरोना।
एकाएक सहरमा 'कोरोना' नामक व्यक्तिको त्रास फैलिन्छ। प्रहरीहरू सबैलाई 'कोरोना'बाट बच्न घरभित्र बस्न आग्रह गर्छन् र 'कोरोना'लाई समात्न लागि पर्छन्।
कोरोना संक्रमण फैलिरहेको अवस्थासँग यो कथा मिल्दोजुल्दो छ, सँगै केही हास्यास्पद पनि लाग्छ। नलागोस् पनि किन, यो कहानी वास्तविक होइन।
यो कथा त 'किरीमिरी' डिजाइन स्टुडियो सञ्चालक कृषा ताम्राकारले बनाएको 'कोरोना कमिक्स' हो। आफ्नो 'कोरोना कमिक्स' श्रृंखलाबाट उनी अहिलेको त्रासमय समयलाई केही रमाइलो ढंगमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छन्।
२४ वर्षीया कृषा ग्राफिक डिजाइनर हुन्। करिब दुई वर्षदेखि उनले कमिक्स बनाउँदै आएकी छन्। कमिक्स अर्थात्, कुनै पनि विषयवस्तुलाई सामान्य कार्टुन मार्फत् व्यक्त गर्ने कला शैली।
उनी प्रायः आफ्ना वरिपरि भइरहेका सामाजिक विषयलाई कमिक्सका रूपमा प्रस्तुत गर्छिन्। यही सिलसिला पछ्याउँदै उनले अहिले 'कोरोना कमिक्स' नामक नयाँ श्रृंखला सुरू गरेकी हुन्।
'कोरोना संक्रमण बढिरहेका बेला समाचार र सामाजिक सञ्जालभरि यसैको कुरा मात्र देखिन्थ्यो। मानिसमा डर पैदा भइरहेको थियो,' उनी कमिक्स बनाउनुको उद्देश्य खुलाउँछिन्, 'यसबारे समाचार लेख्नु आवश्यक छ तर मानिसमा मानसिक असर पर्न सक्ने सम्भवना धेरै छ। त्यसैले मलाई एउटा सूचना दिने र मानिसलाई रमाइलो गराउने काम गर्न मन थियो।'
उनी आफ्नो कामका लागि एउटा कार्टुन बनाउने कोशिसमा थिइन्। वरिपरि कोरोना माहोल भएर होला दिमागमा यत्तिकै कोरोनाकै चरित्र भएको एउटा मान्छेको कार्टुन बन्यो। र, कोरोना कमिक्सको आइडिया आएको उनी बताउँछिन्।
यो श्रृंखला किरीमिरीको इन्स्टाग्राम पेज र फेसबुक पेजमा हेर्न सकिन्छ। अहिलेसम्म यसको नौ भाग आइसकेको छ। अन्य भागको काम भइरहेको कृषा बताउँछिन्।
कृषा ग्राफिक कम्युनिकेसन मुख्य विषय लिएर फाइन आर्टमा स्नातक गरेकी छन्। उनका अनुसार कमिक्स तिरको उनको यात्रा दुई वर्षअघि स्नातकको अन्तिम वर्षबाट सुरू भएको थियो।
उनले कलेजको प्रोजेक्टका रूपमा 'किरीमिरी' बनाएकी थिइन्। ग्राफिक डिजाइन आर्टमा प्रायः जसो चित्र केरकारबाट सुरू गरिने भएकाले 'किरीमिरी' नाम उनलाई मनपर्यो।
'सुन्दा पनि राम्रो र मेरो प्रोजेक्टसँग पनि मिल्ने भएर राखेकी,' उनले भनिन्। यसलाई उनले औपचारिक रूपमा सञ्चालनमा भने ल्याएकी छैनन्। उनी कमिक्सभन्दा धेरै 'फ्रिल्यान्स'का रूपमा डिजाइनका काममा बढी व्यस्त हुन्छिन्। कमिक्स भने तनावमुक्त हुने माध्यमका रूपमा बनाउने बताउँछिन्। त्यसैले उनका कमिक्स ढिलो समय अन्तरालमा आउँछन्।
लकडाउनले भने उनलाई फेरि कमिक्समा काम गर्ने मौका मिल्यो। सँगै कमिक्स बनाउनुको राम्रो उद्देश्य पनि पाइन्। कोरोना कमिक्स बनाउनुको अर्को कारण अहिलेको समयलाई पछिसम्म कैद गर्न पनि रहेको उनको भनाइ छ।
'विगतका कुरा हाम्रो सम्झनामा मात्र रहन्छ। वर्तमानका घटना पनि केही समय मात्र याद हुन्छ,' उनी भन्छिन्, 'त्यसैले राम्रा वा नराम्रा दुवै खाले सम्झनालाई कलाका रूपमा कैद गर्न सकियो भने त्यसको मान बढ्छ। म यो कोरोना समय कलाका रूपमा कैद गरिरहेकी छु। पछि यही काम मेरा लागि अविस्मरणीय बन्ने छ।'
कृषामा चित्रकलाप्रतिको रूचि बाल्यकालदेखि थियो। परिवार पनि कलाक्षेत्रमा संलग्न भएकाले त्यही देखेर प्रभावित भएको उनी बताउँछिन्।
'आमाबुवा हस्तकलाका सामान बनाउनु हुन्थ्यो। मैले सानैदेखि आमाले चित्र बनाएको देख्दै आएकी थिएँ,' उनले भनिन्, 'म पनि उहाँसँगै बसेर बनाउँथे। कहिलेकाहीँ काम सघाउन एक-दुइटा सामानमा चित्र बनाएको पनि याद छ।'
आफ्नो यही रूचि पछ्याउँदै उनले फाइन आर्ट पढेकी हुन्। परिवारले उनको रोजाइलाई पूर्ण समर्थन गरे।
उनी थुप्रै रचनात्मक चित्र त बनाउँथिन् नै, सँगै उनको हास्य स्वाभाव र चुट्किला भन्ने बानीले कमिक्सतिर आकर्षित पार्दै गयो। कलेजमा बनाएको कमिक्स बुकले उनलाई यसमा लगाव बढाउँदै गएको हो। अब 'किरीमिरी' अन्तर्गत उनी आफ्नै कमिक्स बुक र पिक्चर बुक बनाउने तयारीमा रहेको बताउँछिन्।
कमिक्स हेर्दा यसको चित्रकला सजिलो देखिन्छ। तर यसमा राम्रो विषय सोच्न धेरै समय लाग्ने कृषाले आफ्नो अनुभव सुनाइन्।
'प्रायः कमिक्स हाम्रै वरिपरिका सामाजिक विषय र घटनालाई रमाइलो रूपमा चित्रण गर्न बनाइन्छ। कतिपय काल्पनिक पनि हुन्छन्,' उनी भन्छिन्, 'कमिक्सका लागि मुख्यगरी कुन विषयमा बनाउने भनेर सोच्नु पर्छ। त्यसैले आइडिया र भिडिओ बनाउन मलाई कम्तिमा ६ दिन लाग्छ।'
सुरूमा त उनलाई कोरोना कमिक्स अरूले रूचाउलान् भन्ने अपेक्षा थिएन। विस्तारै धेरैले राम्रो प्रतिक्रिया दिन थाले। उनका अनुसार कसैले त कमिक्स हेर्दा दिनभरको तानव घट्ने प्रतिक्रिया दिएका छन्। उनका आमा र दिदीले पनि प्रतिक्रिया दिने उनले सुनाइन्।
'मेरो परिवारका लागि कमिक्स आधुनिक कला हो। उहाँहरूले गर्दै आउनुभएको परम्परागत शैली र कमिक्सका चित्रमा धेरै भिन्नता हुन्छ,' उनी भन्छिन्, 'सुरूमा त उहाँहरूलाई नौलो लागेको थियो। आमाले केरकार गरेर बनाएको देखेर अलि राम्रो बनाऊ भन्नु हुन्छ। तर म कला सधैं स्वतन्त्र हुनु पर्छ भनेर बुझाउने कोशिस गर्छु।'
कृषाका अनुसार नेपालमा ग्राफिक डिजाइनका लागि धेरै अवसर छ। तर कमिक्स कलाकारलाई आर्थिक रूपमा सहज छैन। यो क्षेत्रमा निरन्तर काम गर्न सकियो भने कयौं सम्भावना भेटिने तर चुनौती उत्तिकै हुने उनी बताउँछिन्।
यसका बाबजुद कृषा यसमै रौसिएकी छन्। परिवारले पनि हौसला दिइरहेका छन्। अबको सोच कमिक्सलाई नै विस्तार गर्दै लाने रहेको उनी बताउँछिन्।