सन्नी राजोपाध्याय घुमफिर गर्न चितवन गइरहन्छन्। सौराहाको सुन्दरतामा मोहित उनी खाली समय हात्ती शिविर र प्राकृतिक वातावरणमा रमाउँछन्।
हरेकपटक सौराहा भ्रमणमा सन्नीको ध्यान त्यहाँको अव्यवस्थित हात्तीको गोबरमा गइरह्यो। चारैतिर फैलिएको गोबर त्यहाँका स्थानीयलाई पनि 'टाउको दुखाइ' बनेको थियो। एकाधले बारीमा मलका रूपमा प्रयोग गर्थे। बाँकी जलाइन्थ्यो।
'सेना र स्थानीयको गन्तीमा सौराहामा करिब २०० हात्तीबाट दिनमा २०० किलो गोबर उत्पादन हुन्छ,' इकोअर्बका सह–सञ्चालक जोनेज शाक्य भन्छन्, 'हात्तीको गोबर बाटो र जंगलभरि जथाभाबी फैलिन्छ। यसले वातावरण दुर्गन्धित बनाउनुका साथै प्राकृतिक आकर्षणमा पनि असर पुर्याउँछ।'
अन्य पर्यटकझैं सन्नी घुमघाम गरेर मात्रै फर्किन चाहेनन्। हात्तीबारे अनुसन्धान गर्न थाले र गोबरबाट कागज बनाउन मिल्ने ज्ञान पाए।
सन्नीले आफ्नो ज्ञानलाई व्यवहारमा उतार्दै सन् २०१८ मा 'इकोअर्ब' कम्पनी स्थापना गरे। इकोअर्बमा 'इको' र 'अर्ब' दुई भिन्न शब्द जोडिएका छन्। इकोले पर्यावरण र अर्बले गोलाकार भूमि भन्ने बुझाउने जोनेज बताउँछन्।
कम्पनी स्थापना भएको दुई महिनापछि जोनेज र सन्नीको सहकार्य सुरू भएको हो। त्यो बेला २८ वर्षीय सन्नी मार्केटिङ म्यानेजर र २६ वर्षीय जोनेज एकाउन्टेन्टका रूपमा काम गर्थे।
कागज उत्पादन क्षेत्र उनीहरू दुवैका निम्ति नौलो थियो। उनीहरू अलमलमा थिए। धेरै ज्ञान नभएकै कारण सुरूका दिनमा उनीहरूलाई हात्तीको गोबरबाट कागज बनाउन निकै मुश्किल भयो। बजारमा ठूला कम्पनीले उत्पादन गरेका कागजको माग भएको समयमा आफ्नो व्यवसाय 'फ्लप' हुने डर पनि थियो।
त्यो डरलाई उनीहरूले बाधा बन्न दिएनन्।
तीन महिनाको अन्तरालमा गुणस्तरीय कागज बनाउन सिकेर मात्रै व्यवसाय अघि बढाए। जोनेजका अनुसार सौराहास्थित 'ग्रिन सोसाइटी' नामक संस्थाले यसअघि हात्तीको गोबरबाट कागज उत्पादन गर्दै आएको थियो। ती कागज सजिलै च्यातिने र कमसल भएकाले इकोअर्बले साझेदारीमा गुणस्तरीय कागज बनाउने निर्णय गरेको हो।
इकोअर्बले चितवनबाट 'ग्रिन सोसाइटी' संस्थासँग सहयोग लिएर गोबर उतै 'रिफाइन' गर्छ र काठमाडौं ल्याउँछ।
जोनेजका अनुसार हात्तीले ४० प्रतिशत खाना मात्र पचाउन सक्छ। बाँकी ६० प्रतिशत उस्तै हुन्छ। नपचेका खाना गोबरमा आउँछ, जुन नरम हुन्छ। यसबाट 'फाइबर' बनाउन सहज हुन्छ।
'रिफाइन' प्रक्रियामा गोबर धोएर फाइबर निकालिन्छ। फाइबरबाट किटाणु मार्न करिब सात घन्टा पानीमा उमालिन्छ र केही बेर घाममा सुकाइन्छ। त्यसपछि ग्राइन्डिङ मेसिनमा पिसेपछि 'पल्प' (लेदो) तयार हुन्छ। फेरि एकपटक सुकाएपछि मात्रै कागज उद्योगमा दिइन्छ।
इकोअर्बले अहिले सेनाका हात्तीका गोबर मात्र कागज उत्पादनका लागि प्रयोग गरिरहेको छ। स्थानीयले पालेका हात्तीलाई दाना खुवाउने हुनाले तिनका गोबरबाट राम्रो कागज बनाउन नसकिने जोनेज बताउँछन्। सेनाका हात्ती जंगल डुल्ने भएकाले गोबरमा कागज बनाउने रूखका फाइबर धेरै पाइन्छ।
इकोअर्बले ग्रिन सोसाइटीबाट 'पल्प' किनेर काठमाडौंको कागज उद्योगमा उत्पादनका लागि दिन्छ। रूख काटेर कागज बनाइने प्रक्रिया हटाएर नयाँ परिवर्तन ल्याउने प्रयास गरेको इकोअर्ब बताउँछ।
वन फँडानी, वातावरण र श्रमशक्ति सबैलाई ध्यानमा राखेर कम्पनीले हात्तीबाट प्राकृतिक रूपमै कागज उत्पादन गर्ने प्रक्रिया पूरा गरेको छ।
यो प्रक्रियामा मेसिन र रसायनको प्रयोगबाट फाइबर निकालिने भएकाले नरम बनाउने झन्झट नहुने जोनेजको भनाइ छ। साथै, थोरै गोबरबाट पनि धेरै कागज उत्पादन गर्न सकिन्छ।
'पाँच केजी गोबरबाट करिब तीन सय कागज बनाउन सकिन्छ,' उनले भने, 'सौराहामा धेरै हात्ती भएकाले पर्याप्त कागज उत्पादन गर्न सकिन्छ।'
चितवनमा बढ्दै गएको हात्ती शिकार रोक्न इकोअर्बले पुर्ख्यौली शिकार गरिरहेका व्यक्तिलाई पनि रोजगारी दिएका छन्। उनीहरूसँगै स्थानीय महिला गरी ६७ जना कम्पनीमा काम गरिरहेका छन्।
एक वर्षयता हात्तीको गोबरबाट लगभग पाँच हजार कागजका पाना उत्पादन गरिसकेको उनी बताउँछन्। जोनेजका अनुसार बजारका अन्य वातावरणमैत्री कम्पनी र व्यक्तिले पनि गोबरबाट कागज उत्पादन गर्न प्रेरणा लिइरहेका छन्। हात्तीको गोबर बटुलेर मोहर बनाउने काइदा उनीहरू सिकाइरहेकै छन्।
इकोअर्बले कागजका साना नोटबुक, कापी, भिजिटिङ कार्ड, ब्याग र 'कस्टमाइज्ड' बाकसहरू उत्पादन गरिरहेको छ। यी सामानमध्ये बाकस अन्यभन्दा विशेष र नौलौ देखिन्छ।
'उत्पादन भएका बक्सभित्र हामीले 'सिड बम' अर्थात् रूखका बिउ राखेका छौं,' जोनेजले भने, 'बक्स प्रयोग गरेपछि फालियो भने पनि बिउबाट बिरूवा उम्रन्छ।'
इकोअर्बका सामान फेसबुक पेज, इन्स्टाग्राम वा नेपाल कम्युनिटरबाटै पनि किन्न सकिन्छ। सबै काम हातबाटै बन्ने भएकाले ती समानको मूल्य बजार भाउभन्दा दस प्रतिशत बढी भएको जोनेज बताउँछन्।
सन्नी र जोनेजले हात्तीको अव्यवस्थित गोबरलाई नयाँ ढंगले सदुपयोग गरेपछि त्यहाँका मानिसले पनि यसबारे ज्ञान पाएका छन्। तर, अझै स्थानीयले गोबर कारखानामा दिनुभन्दा फ्याँक्न वा जलाउनै खोज्ने जोनेज बताउँछन्।
'हाम्रो मुख्य उद्देश्य हरेक हात्तीको गोबर टिपेर कारखानामा ल्याउन प्रेरित गर्नु हो। यो कुरा भन्न सहज भए पनि स्थानीयलाई बुझाउन समय लाग्न सक्छ,' उनले भने।