डिजाइन र बारम्बार एउटै सारी नलगाउने सहरी चलनले यसको बजार व्यापक भएको छ। लगाउने रहर पुगेका, छेउतिर फाटेका, सानोतिनो प्वाल परेका वा मनै नपरेर थन्काइएका सारी घर-घरमा कति थुप्रेका होलान्!
यस्ता सारी न फाल्न मन लाग्छ, न सम्हालेर राख्ने ठाउँ हुन्छ।
उसो भए गर्ने के?
यसको जवाफ दिन्छ 'हात्ती-हात्ती' ले।
हामीलाई धेरै भएका, फालिहाल्ने मन नलागेका, छेउछाउ फाटेका, पुरानो डिजाइनका सारी व्यवस्थापन गर्ने थलो हो, हात्ती-हात्ती।
हात्ती-हात्ती नामजस्तै अजंगको कारखाना होइन, एक सामाजिक उद्यम (संस्था) हो। 'नेपालमा बनेको, परिवर्तनका लागि' भन्ने सिद्धान्त बोकेको संस्थाले पुराना सारी 'अपसाइकल' गर्छ। अर्थात्, सामानको स्वरूप फेरेर नयाँ सामग्री बनाउँछ।
संस्थाकी डिजाइनर सुनिता श्रेष्ठका अनुसार पुराना सारीबाट चल्तीका लुगाफाटा- किमिनो (चिनियाँ-जापानीले लगाउनेजस्ता लुगा), कुर्थी, टाइ, स्कार्फ, वानपिस, टिसर्टजस्ता लुगाफाटा बनाइन्छ। हात्ती-हात्तीको मुख्य काम यही हो। पुराना सारीबाटै सिँगारिएको छ 'हात्ती-हात्ती'।
हात्ती-हात्तीलाई सुनितासहित सजना जिरेल र सुनैना सिंहले बाटो देखाइरहेका छन्। संस्था स्थापना भने स्वीडिस जोडी चारलोट मेल्कभिस्ट र डेभिड गिजरले गरेको उनीहरूले जानकारी दिए।
यो जोडी स्वीडेनबाट सन् २०१४ मा नेपाल भ्रमणमा आएका थिए। यहाँको समाज घुमे, हिँडे र नेपालीसँग परिचित भए। महिलाका समस्या, परनिर्भरता देखे।
यहाँको परिवेश बुझ्न आएका ती जोडीले सुरूमा 'साथ' नामक संस्थामा काम गरे। त्यहाँ उनीहरूको भेट एक महिलासँग भयो, जो एचआइभी पीडित र कमजोर आर्थिक अवस्थाकी थिइन्।
संस्थाकी कार्यक्रम प्रबन्धक सजनाका अनुसार ती महिलालाई आत्मनिर्भर बनाउन उनीहरूले 'हात्ती-हात्ती' को योजना बनाए। उनीजस्तै अरूलाई पनि टेको दिने चाहनाले सन् २०१४ मा हात्ती-हात्ती स्थापना भयो।
पहिलो चरणमा हात्ती-हात्तीले स्वीडिस चकलेट बनाएर बजार पठायो। मानिसले मन पराए। राम्रै बजार लियो। यसले स्वीडिस दम्पत्तिलाई थप ऊर्जा दियो। उनीहरूले कार्यक्षेत्र विस्तार गर्दै दीर्घकालीन योजना बनाए।
यही योजना थियो– पुराना सारीलाई पुनः प्रयोगमा ल्याउने। पुराना सारीबाट नयाँ उत्पादन बनाएर महिलाहरूलाई संस्थामा जोड्न सकिन्थ्यो, वातावरण सन्तुलनमा थोरै भए पनि टेवा पुग्थ्यो।
सजना भन्छिन्, 'स्वीडिस जोडीले संस्थाको बीऊ रोपिदिनुभयो, हामी हुर्काइरहेका छौं।'
हात्ती-हात्तीलाई चाहिने सारीहरू प्रायः सहायताबाटै आउने डिजाइनर सुनिता बताउँछिन्। अभाव बेला संस्थाले 'सेकेन्ड ह्यान्ड' सारी किन्छ। ४० वर्षीया सुनिता यहाँ प्रमुख डिजाइनरका रूपमा सन् २०१८ देखि कार्यरत छिन्।
'सारीको काम मौसमी हो। लुगाहरू पातला बन्छन्। प्रायः गर्मी मौसममा बढी बनाइन्छ,' उनले भनिन्, 'जाडोका लागि उपयोगी के सामान बन्छ, हामी बुझ्दै छौं। ब्याग, हेयर ब्यान्डजस्ता सामान भने बनाइरहेका छौं।'
एउटा राम्रो सारीको एउटा किमिनो, हेयर ब्यान्ड र एउटा ब्याग बन्ने अनुमान राख्छिन् उनी। भन्छिन्, 'साडीको अवस्था हेरेर हुन्छ। गुणस्तरमा पनि भर पर्छ।'
उनका अनुसार यहाँ प्रायः सारी सफा र राम्रो अवस्थामा आउँछन्। नभए धोएर सफा गरेर मात्रै त्यसमा काम गरिन्छ।
अरू कपडाको तुलनामा सारीको सिलाई गाह्रो हुन्छ। त्यसैले यहाँ काम सिकेर अन्त सिलाई गर्ने महिलालाई सजिलो हुने उनको दाबी छ।
संस्थाको काम राम्रो भए पनि नामलाई लिएर धेरैले टिप्पणी गर्ने गरेको प्रबन्धक सजनाले बताइन्।
मान्छेहरूले प्रश्न गर्छन् –हात्ती भित्र्याउने सोचले नाम हात्ती-हात्ती राखेको हो?
संस्थाले यसखाले टिप्पणी सकारात्मक मान्छ। सजना भन्छिन्, 'हात्ती-हात्तीको सपना पनि त ठूलै छ नि।'
हात्ती ठूलो हुन्छ तर समूहमा मेलमिलापको भाव राख्छ। हात्तीको यही पक्ष मन परेर स्वीडिस जोडीले संस्थाको नाम हात्ती-हात्ती राखेको हुनसक्ने सजनाको अनुमान छ।
'हात्तीमा मिलनसार र सहयोगी गुण हुन्छ। यो गुण संस्थामा पनि लागू होस् भनेर नाम राखिएको हुनसक्छ,' उनले भनिन्, 'वा उहाँहरूलाई हात्ती मन पर्ने भएर हो कि!'
हाल संस्थामा आर्थिक अवस्था कमजोर भएका, सीमान्तकृत र पिछडिएका सात जना महिलाले रोजगार पाएका छन्। सजनाका अनुसार यी महिलाहरूमा काममा संलग्न भएपछि निकै सकारात्मक परिवर्तन आएको छ।
'यहाँ आउनुभएका दिदीबहिनी बोल्न र धेरै मान्छे देख्दा डराउने खालको हुनुहुन्थ्यो। अचेल उहाँहरूमा आत्मविश्वास बढेको छ,' उनले भनिन्।
संस्थाले महिलाहरूको व्यक्तित्व विकासमा समेत जोड दिएको छ। संस्थामा सिलाइको काम साताको ६ दिन हुन्छ। बिहीबार र शुक्रबार अनौपचारिक शिक्षा प्रदान गरिन्छ। नैतिक शिक्षादेखि अंग्रेजी, गणितजस्ता विषय पढाइन्छ। यस्तै हिंसाविरूद्ध आवाज उठाउन, खुलेर बोल्न, व्यक्तिगत तथा महिनावारी सरसफाइ पनि सिकाइन्छ।
केही महिलाले सीप सिकेर आफ्नै व्यवसाय समेत सञ्चालन गरेको उनले जानकारी दिइन्। काम जानेसँगै आफ्नै व्यवसाय गर्न चाहे संस्थाले आर्थिक सहयोग उपलब्ध गराउने उनको भनाइ छ।
'सीप सिकेपछि यहाँ मात्रै काम गर्नुपर्छ भन्ने छैन। एक वर्ष काम गरेपछि उहाँहरू आफैं व्यवसाय गर्न सक्नुहुन्छ। उहाँहरूको प्रशंसा गर्दै संस्थाले नै 'सिड मनी' प्रदान गर्छ,' सजनाले भनिन्।
शर्मिला प्रजा हात्ती-हात्तीमा सन् २०१५ बाट जोडिएकी हुन्। बालविवाह र घरेलु हिंसापीडित शर्मिला अब आफ्नै व्यवसाय गर्ने मनसायमा छिन्।
'काठमाडौंमा कोही नभएको बेला संस्थाले सहयोग गर्यो। यहाँको वातावरण पारिवारिक छ,' उनी भन्छिन्, 'आफूमा पहिलेभन्दा धेरै सकारात्मक परिवर्तन भएको पाउँछु। आत्मनिर्भर हुन सिक्दैछु।'
डिजाइनर सुनिता पनि अरू ठाउँभन्दा यहाँका दिदीबहिनीसँग काम गर्न रमाइलो लाग्ने बताउँछिन्। हात्ती-हात्तीले फेसनका माध्यमबाट वातावरणमा थोरै भए पनि सकारात्मक प्रभाव पार्न सक्षम रहेको उनलाई लाग्छ।
पुराना सारीबाट बनाइएका सामान काठमाडौंका विभिन्न मार्ट जस्तै 'द लोकल प्रोजेक्ट नेपाल', 'तिम्रो कन्सेप्ट स्टोर' र 'दराज' अनलाइनमा पाइन्छ। व्यावसायिक रूपमा हालसालै इटहरीमा पनि बजार विस्तार भएको छ भने अनौपचारिक रूपमा देशभर फैलिएको संस्थाको भनाइ छ।
बाहिरी मुलुकमा समेत हात्ती-हात्तीका सामानले राम्रो चर्चा कमाएको सजनाले बताइन्। स्वीडेन, नेदरल्यान्ड्स, फिनल्यान्ड, अष्ट्रेलिया, अमेरिका लगायत देशमा सामान बिक्री हुन्छन्।
'अपसाइकल' सामानहरू विकसित मुलुकसम्म पुगेको देख्दा रमाइलो लाग्ने उनीहरू बताउँछन्।
नेपाली महिलाको अवस्था सुधार्न उनीहरूकै पहिरनबाट सक्दो कोशिस गरिरहेको हात्ती-हात्तीको प्रयास भलै सानो होस्, सपना हात्तीभन्दा कम छैन।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी