द कन्भरसेसन- ३८
घडीको सुई टिकटिक गर्दैछ।
दर्शक/स्रोताहरू व्यग्र आँखा बिछ्याउँदै आफ्ना प्रिय गायकको पर्खाइमा छन्।
टिकटिक ... टिकटिक ...
जसै घडीको सुईले निर्धारित समय जनाउँछ, टिकटिक टक्क थामिन्छ।
व्यग्र दर्शकको ढुकढुक मुटु झन् जोडसँग धड्किन थाल्छ।
त्यही बेला गितारको झनननन झंकार हावामा लहराउँछ।
ड्रमको धनननन धमधमले हावामा कम्पन छुटाउँछ।
दर्शक/स्रोताहरू गितारको झंकार र ड्रमको धमधमभन्दा चर्को हुटिङ गर्छन्।
अनि, स्टेजमा आउँछन् सबैका प्रिय गायक, हा ... हा ... हा ... को लामो आलाप लिँदै।
उनी हुन्, संगीतप्रेमी नेपालीहरूले ३५ वर्षदेखि सुन्दै आएको आवाज — अमृत गुरूङ।
नेपथ्य ब्यान्डको प्रत्येक कन्सर्ट यसरी नै सुरू हुन्छ।
मैले धेरैचोटि उनीहरूको कन्सर्ट हेरेको छु। दर्शक/स्रोताहरूको व्यग्रता र अमृत गुरूङको शानदार स्टेज–आगमन धेरैचोटि देखेको छु।
र, प्रत्येकचोटि यही सोचेको छु — चकाचौँध लाइट, मुटु फुलाउने म्युजिक र दर्शकहरूको ग्र्यान्ड हुटिङबीच स्टेज चढ्दा अमृत गुरूङको दिमागमा के चलिरहेको हुन्छ?
'सेतोपाटी कन्भरसेसन' मा अमृत गुरूङसँगको भिडिओ कुराकानी मैले यही प्रश्नबाट सुरू गरेँ।
हामीले यो कुराकानी नेपालयको नेपथ्य स्टुडियोमा रेकर्ड गरेका थियौं। स्टुडियो छिर्दा अमृत र उनको ब्यान्ड अर्को साताबाट सुरू हुने एकमहिने अस्ट्रेलिया टूरको रिहर्सल गर्दै थियो। ब्यान्ड सदस्यहरू आ–आफ्नो सुरमा बाजागाजा घन्काउँदै थिए।
अमृत माइक अगाडि उभिएर जीउ हल्लाई हल्लाई गाउँदै थिए —
तालको पानी माछीले खानी!
पिरिमसित जानी कि नजानी?
स्टुडियोको बन्द कोठाभित्र पनि अमृतको जोश र ऊर्जा खुला स्टेजभन्दा कम थिएन।
सायद उनी बन्द आँखाले सयौं दर्शक आफ्नो अगाडि उफ्रिरहेको, नाचिरहेको र हावामा हात लहराउँदै झुमिरहेको कल्पना गर्दै थिए!
मेरो प्रश्नको जबाफ दिनुअघि उनले लामो सास फेरे र भने, 'स्टेजमा आउनुभन्दा अगाडि म आफैलाई बिर्सिन्छु र कार्यक्रम हेर्न आएका दर्शक/स्रोताहरूमा समर्पित हुन्छु।'
'म सोच्छु — यी मान्छेहरू मेरो कार्यक्रम हेर्न कहाँ–कहाँबाट आएका छन्! कोही बस चढेर आएका होलान्, कोही हवाईजहाजमा आएका होलान्। कोही गाडीमा आएका होलान्, कोही त हिँडेरै आएका होलान्! कति जना अर्कै ठाउँबाट आएका पनि होलान्। उनीहरूसँग बस्ने ठाउँ नहोला। आफन्तकहाँ बस्लान्, वा होटलमा बस्लान्। उनीहरूले मेरो निम्ति समय निकालेका छन्, पैसा खर्च गरेर टिकट काटेका छन्।'
'मैले गाउने जम्मा दुई घन्टा हो। त्यो दुई घन्टाका लागि उनीहरू समय निकालेर, पैसा खर्च गरेर, आफ्नो सारा काम छाडेर आउँछन् र हामीलाई अपार माया दिन्छन्। त्यो माया नै मेरो निम्ति वरदान हो। यस्तो वरदान सबैले कहाँ पाउँछन्?'
उनले अगाडि भने, 'त्यो दुई घन्टामा सबै जना खुसी भएर जाऊन्, मेरो ध्यान त्यसैमा हुन्छ। जति खुसी दिन सक्यो, मलाई उति मजा आउँछ।'
यी सब कुरा मनमा खेलाउँदै उनी लामो सास फेर्छन् र दर्शकहरूलाई सम्झिँदै कामना गर्छन् — मैले अझ ज्ञानी हुनुपर्छ। अझ इमानदार हुनुपर्छ। अनुशासित हुनुपर्छ। मैले यी दर्शक/स्रोतालाई सक्दो खुसी दिनुपर्छ।
उनी प्रार्थना गर्छन् — आजको कार्यक्रम राम्रोसँग सम्पन्न गर्न सकूँ। राम्ररी गाउन सकूँ। राम्ररी बजाउन सकूँ। आजको साँझलाई जतिसक्दो रमाइलो बनाउन सकूँ। यो क्षणलाई यस्तो उत्सव बनाउन सकूँ, जुन सबैका मनमा जिन्दगीभर यादगार रहोस्।
'यही कामना गर्दै, ढक्क फुलेको छाती थाम्दै म स्टेजमा उक्लिन्छु,' अमृतले भने।

अमृतसँग स्टेजमा प्राण भर्ने खुबी छ। उनी उफ्रिन्छन्, मगनमस्त नाच्छन् र यति ऊर्जाका साथ गाउँछन्, त्यसले दर्शकहरूको जीउमा काँडा उमार्छ।
अरू बेला प्रायः शान्त र गम्भीर देखिने अमृतमा स्टेज चढ्नेबित्तिकै यति ठूलो ऊर्जा कहाँबाट आउँछ?
मेरो यो प्रश्नमा उनले भने, 'त्यो दर्शकहरूको मायाले दिएको ऊर्जा हो। जब दर्शकसँग केमेस्ट्री मिल्छ, तब ज्यानमा आफसेआफ ऊर्जा भरिन्छ।'
'कुनै पनि कन्सर्टका लागि दर्शक/स्रोता भनेका ब्यान्डकै हिस्सा हुन्,' उनले अगाडि भने, 'स्टेजमा सँगसँगै उभिएर गितार बजाउने, मादल बजाउने, किबोर्ड बजाउने साथीहरू मात्र होइन, अगाडि उभिएर सँगसँगै गाउने र सँगसँगै नाच्ने दर्शकहरू पनि मलाई ब्यान्डकै सदस्यझैं लाग्छन्।'
'एउटा मान्छे खुसीको गीत सुन्दा खुसी भएर सुनिरहेको हुन्छ। ऊ मुसुमुसु हाँसिरहेको हुन्छ। उसको मुस्कुराइरहेको अनुहार देखेर म दंग हुन्छु। दुःखको गीत सुन्दा ऊ पनि दुःखी भइरहेको हुन्छ। उसको मलिन अनुहारले मलाई पनि मलिन बनाउँछ। गीत सँगसँगै मान्छेको भावमा आउने परिवर्तन भनेको उसले गायक/कलाकारहरूसँग गरेको अन्तर्क्रिया हो। हाम्रो पफर्मेन्समा साथ दिएका हुन् उनीहरूले। त्यही साथ र त्यही अन्तर्क्रियाले मलाई गाउन हौसला र प्रेरणा दिन्छ। त्यो क्षण उत्सवमा परिणत भयो भन्ने मलाई लाग्छ।'
यी सब भावनाका अतिरिक्त अर्को एउटा चिज पनि अमृतको मनमस्तिष्कमा घुमिरहेको हुन्छ, जसले उनलाई कार्यक्रमभरि बाँधेर राख्छ।
त्यो हो — आफ्नो कार्यक्रम हेर्न आएका दर्शक/स्रोताप्रतिको जिम्मेवारी।
त्यो जिम्मेवारीको बोझ यति गह्रुँगो हुन्छ, जिन्दगीमा सयौं कन्सर्ट गरिसकेका अमृत आज पनि स्टेजमा उक्लिँदा तनाव महसुस गर्छन्। उनको मनमा एक किसिमको दकसले उफान मच्चाइरहेको हुन्छ।
'मैले त्यो दकसबाट अहिलेसम्म पार पाउन सकेको छैन,' उनले भने।
तर त्यो दकस र तनाव स्टेजमा पाइला नपरेसम्म मात्र हो।
जसै स्टेजमा पुग्छन्, आँखाअगाडि सयौं दर्शकको भिड र उनीहरूको आवाजले अमृतलाई ऊर्जा दिइहाल्छ। उनी आफैलाई बिर्सिहाल्छन्।
भन्छन्, 'स्टेजमा पुगेपछि मलाई समाधिमा पुगेजस्तो हुन्छ। जिन्दगीको सबथोक पग्लिएर रित्तिएजस्तो हुन्छ। म केही सोच्दिनँ, केही प्लान गर्दिनँ। दर्शकहरूसँगै लयमा बग्छु, पानीजस्तो।'
यो त भयो स्टेजमा उक्लिनुभन्दा अगाडि र उक्लिएपछिको मनोभाव।
जसै कार्यक्रम सकिन्छ, उनी आफ्नो आधा जीउ झुकाउँदै दर्शक/स्रोतालाई अभिवादन गर्छन् र ब्यान्डका सदस्यसँग स्टेजबाट बाहिरिन्छन्।
दुई घन्टाको रमझम — चकाचौँध लाइट, मुटु फुलाउने म्युजिक र दर्शकहरूको ग्य्रान्ड हुटिङपछि स्टेज छाड्दै गर्दा अमृतको मनमा के चल्छ त?
जबाफमा उनले भने, 'कन्सर्टको आखिरी समय भनेको क्लाइमेक्स हो। त्यति बेला माहौल पूरै तात्तिएको हुन्छ। दर्शकहरू उत्साहको उचाइमा पुगेका हुन्छन्। म आफै पनि अर्कै तहमा हुन्छु। त्यो यस्तो चरम विन्दु हो, जहाँ पुग्दा आफैलाई धन्य महसुस गर्छु। आजको कार्यक्रम राम्रोसँग सम्पन्न भयो, मैले भरपुर खुसी बाँड्न सकेँ, भविष्यमा यसरी नै कार्यक्रम गर्न पाऊँ, यसरी नै खुसी बाँड्न पाऊँ; यही सोच्दै म दर्शकहरूलाई अभिवादन गर्छु र स्टेजबाट बाहिरिन्छु।'
'स्टेजबाट बाहिरिएपछि चाहिँ कति बेला ओछ्यानमा गएर ढलूँ जस्तो हुन्छ,' अमृतले भने, 'ज्यान पसिनाले भिजेको हुन्छ। अंग अंग थाकेको हुन्छ। कहिले कोठामा पुगेर चुपचाप बसूँ भन्ने मात्र लाग्छ।'
'कोठामा गएर चुपचाप पल्टिँदा के कुरा मनमा आउँछन् त?'
अमृतले भने, 'दर्शकका आँखाहरूको सम्झना आउँछ। कार्यक्रमका एक–एक दृश्य फेरि आँखा अगाडि नाच्न थाल्छन्, सिनेमाको रिलजस्तै।'
स्टेज पफर्मेन्सको तनाव सहजतापूर्वक लिन कतिपय गायक रक्सी खान्छन् भन्ने सुनिन्छ। कोही गायक त रक्सी नखाई गाउनै सक्दैनन् भन्ने पनि सुनिन्छ। मैले यसबारे पनि अमृत गुरूङसँग कुरा गरेको छु।
उनले एउटा संस्मरण सुनाए।
यो उनको करिअरको सुरूआती दिनको कुरा हो।
उनी पोखराको डाँफे कला मन्दिरमा कार्यक्रम गर्दै थिए। ब्यान्डकै सदस्य तथा सिनियर गायक भीम पुनले 'रक्सी खाने होइन?' भनेर सोधे।
अमृतले जबाफ दिए, 'म त खाँदिनँ।'
'गीत गाउनुपर्दैन तैंले?' भीमले फेरि सोधे।
'गाउनुपर्छ।'
'अनि नखाई कसरी गाउँछस् त?'
यति भनेर भीमले एक गिलास रक्सी स्वाट्टै पारे र अमृतलाई भने, 'खा, नत्र अहिले गाउन सक्दैनस्।'
अमृतले पनि स्वाट्ट पारे र स्टेजमा उक्ले।
'त्यो दिन स्टेजअगाडि मैले कालो टाउको मात्र देखेँ। जीउ थरर्रर कामेको थियो,' उनले भने, 'गीत गाएर निस्कँदा स्टेजमा के–के भयो यादै छैन। के गाएँ, त्यो पनि याद छैन।'
अमृतका अनुसार पहिले पहिले स्टेज पफर्मेन्सअघि रक्सी खाने चलन एकदमै धेरै थियो। गायक र वाद्यवादकहरू 'मुड निकाल्नुपर्यो' भन्दै रक्सी खान्थे। अलि पछि ब्राउनसुगर, हेरोइन, ट्याब्लेट लगायत विभिन्न लागुपदार्थ खाने चलन पनि आयो। तर धेरैले खाने रक्सी नै थियो।
'कति ठाउँमा त गायकहरू चार हातखुट्टा टेकेर स्टेजमा जाने, अनि स्टेजमा पुगेपछि मज्जाले गाइदिने,' उनले भने, 'मलाई चाहिँ रक्सी खाएर गाउन कहिल्यै मजा लागेन।'
माओवादी द्वन्द्व सुरू भएपछि नेपथ्यले देशभरि 'शान्तिका लागि शिक्षा' कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमका लागि उनीहरू देशका विभिन्न स्कुल पुगेका थिए। त्यहाँका विद्यार्थीसँग भेटेका थिए।
एकचोटि कार्यक्रम सकेर साना विद्यार्थीहरूसँग भेट्दा तिनले मुख बिगार्दै भनेछन्, 'छ्या! कस्तो जाँड गनाएको!'
साना भाइबहिनीको त्यस्तो प्रतिक्रियाले अमृतको मुटुमै हान्यो।
त्यसै दिन उनले निधो गरे — अबदेखि नेपथ्य ब्यान्डले रक्सी खाएर कार्यक्रम गर्दैन।
उनले आफ्ना साथीहरूलाई अगाडि राखेर नियम बनाए, 'स्टेजमा जानुभन्दा अगाडि चिया खानेले चिया खाऔं, पानी खानेले पानी खाऔं, तर रक्सी वा कुनै पनि लागुपदार्थ खाँदै नखाऔं।'
'रक्सीको नसामा कार्यक्रम गर्दा मलाई दर्शकसँग कनेक्सन अनुभव हुँदैन,' अमृतले भने, 'कति सिनियर दाइहरू नखाई गाउन सक्दिनँ, बजाउन सक्दिनँ भन्थे। मलाई चाहिँ त्यस्तो कहिल्यै भएन।'
उनले अगाडि भने, 'अहिले रक्सी खाएर स्टेजमा जाने चलन धेरै नै घटेको मैले पाएको छु।'

स्टेज पफर्मेन्सका अतिरिक्त मैले अमृत गुरूङसँग उनको जिन्दगीको बारेमा पनि कुरा गरेको छु।
'जिन्दगी कस्तो चल्दैछ?'
जबाफमा भने, 'हिजो जस्तो थियो, आज त्यस्तै छ। जिन्दगी के रहेछ र! बाँचुञ्जेल गर्ने काम न रहेछ!'
'जिन्दगीमा सुखदुःख दुवै पाटो हुन्छ। अँध्यारो–उज्यालो दुवै पक्ष हुन्छ,' अमृतले भने, 'मान्छेले नपाउने चिज भनेको जन्म दिने आमाबाबु र आफ्नो जिन्दगी मात्र हो।'
उनले अम्बर गुरूङको गीत सम्झे —
खोजे मात्र, सोधे मात्र, नपाइने के छ यहाँ
पाइँदैन मात्र एउटा जीवन यो फेरि यहाँ
उनले यो पनि भने, 'समयभन्दा बलवान केही छैन। मैले चाहेर पनि नचाहेर पनि समय त बगिरहन्छ। जुन दिन मेरो आयु सकिन्छ, सबथोक टक्क रोकिन्छ। म यहाँ हुँदिनँ। यो संसारमा म जस्ता मान्छे कति आए, कति गए!'
'मैले भोग्नुपर्ने चिज अरूले भोगेर हुँदैन। म स्वयंले भोग्नुपर्छ। त्यसो भए किन दुःखी हुनु?' अमृतले भने।
'मेरो एउटा दैनिक रूटिन छ। समयमा उठ्ने, आफूलाई तन्दरूस्त राख्न योगाभ्यास गर्ने। त्यसपछि हिँड्ने। मेरो शारीरिक अभ्यास भनेकै हिँड्ने हो। हिँड्दा मलाई ध्यान गरेजस्तो हुन्छ। म गीत सुन्दै हिँड्न सक्दिनँ, वरिपरिको आवाज सुन्दै हिँड्छु। त्यो मलाई थेरापीजस्तै लाग्छ। दिनको सात–आठ किलोमिटर हिँडेपछि मलाई आनन्द आउँछ। त्यही भएर मेरो तौल २५ वर्षदेखि एउटै छ।'
'मेरो जिन्दगीको एउटै मन्त्र छ — गल्ती केही नगरूँ, अन्जानमा भइहालेछ भने पनि माफ पाऊँ। अनुशासित भएर बाचूँ, सबैप्रति राम्रो भाव राखूँ।'
अमृतको जिन्दगी खुला किताबजस्तै छ। लुकेको–छिपेको केही छैन। उनले जे भोगे, त्यो आफ्ना अन्तर्वार्ताहरूमा खुलस्त भनेकै छन्। त्यसमाथि भर्खरै लेखक गिरीश गिरीको 'नेपथ्यः लोकप्रिय यात्राको अन्तरंग' किताब प्रकाशित भएको छ, जुन अमृत र नेपथ्य ब्यान्डको जिन्दगीको कथा हो।
यति हुँदाहुँदै अमृतको जीवनकथाका कतिपय पाना आनका तान फरक छन्।
एउटा पानामा उनी पोखराबाट करिब १४ किलोमिटर टाढा गोठमा सामान्य जिन्दगी बिताइरहेका हुन्छन्। अर्को पानामा अस्ट्रेलिया, अमेरिका वा युरोपका पाँचतारे होटलमा पुग्छन्। गायन यात्राका क्रममा काठमाडौं बसेर वर्षौं संघर्ष गर्छन्, फेरि एकदिन एकाएक काठमाडौं छाडेर गाउँ फर्किन्छन्।
'काठमाडौं किन छाड्नुभयो?' मैले अमृतलाई सोधेँ।
जबाफ थियो, 'मैले प्रकृतिले दिएको स्वच्छ वायु काठमाडौंमा पाइनँ। पुर्खाले छाडेर गएको यस्तो भव्य कलाकृतिले भरिएको सहरमा शुद्ध पिउने पानी पाइनँ। जुन चिज प्रकृतिले सित्तैमा दिएको छ, ती पनि मैले यहाँ शुद्ध र सफा पाइनँ। त्यो नपाएपछि मलाई यहाँ किन बसिरहने भन्ने लाग्यो।'
'कुनै दिन काठमाडौंमा बसको भाडा तिर्ने पैसा नभएर खुट्टाले हिँडेको मान्छे हो। कुनै दिन यही काठमाडौंमा सोल्टी होटलको लन्च पनि खाएकै हो। साथीभाइको मर्सिडिज बेन्च चढेर हिँडेकै हो। यी सब केही होइनन्। भौतिक कुरा मात्र हुन्। भौतिक कुरा भनेको मान्छेले नदेखेसम्म, नपाएसम्म मात्र प्यारो लाग्ने हो। कतिलाई यसको मोह हुँदो रहेछ, चुम्बकले जस्तो तानिँरहँदो रहेछ। मलाई चाहिँ तानेन।'
'मलाई प्रकृतिको नजिक बस्न लाग्छ। डाँडाकाँडामा घुम्न मन लाग्छ। चराचुरूंगीको आवाज सुन्न मन लाग्छ। बादलको एक टुक्रा देख्दा पनि ओहो आकाशमा बादलले कस्तो स्वरूप लिएछ भनेर हेर्न मन लाग्छ। म बाटोमा हिँड्दा सानो बोट देखे पनि दंग पर्छु। त्यो बोटमा कोपिला लागे पनि, फूल फुले पनि हेरी बस्छु। मलाई यही जिन्दगी प्यारो लाग्छ।'
'त्यसैले धेरै साथीभाइ, सम्बन्धीहरू काठमाडौंमै हुँदा पनि म गाउँ फर्केँ,' अमृतले भने, 'म जति प्रकृतिसँग रमाएँ, त्यति सहरमा रमाउन सकिनँ।'
'अनि कस्तो छ त गोठको जिन्दगी?'
'मैले देख्दा एक आमनेपालीको जिन्दगी जस्तो छ, मेरो गोठको जिन्दगी त्यस्तै छ। म भुइँमा सुत्छु, आफ्नै उब्जनी खान्छु, चुह्लोमा पकाउँछु, मूलबाट आएको पानी पिउँछु, लक्जरी भन्ने केही छैन,' उनले भने।
'मेरो गोठमा पानी छ, वरिपरि वनजंगल छ, स्वच्छ हावापानी छ। चराचुरूंगी छन्, जनावरहरू छन्। वनका जनावर पनि छन्, घरका जनावर पनि छन्,' उनले भने, 'म बिहानै उठ्छु, चराचुरूंगीको चिरबिरले मलाई उठाइदिन्छ। त्यसपछि खलल्ल नुहाउँछु। गोठको काम गर्छु। रियाज गर्छु। योगाभ्यास गर्छु। वन घुम्न जान्छु वा यसै कतै घुम्न निस्कन्छु। कहिले आफै पकाउँछु, कहिले भाइहरूले पकाइदिन्छन्। जे पाक्यो, त्यो खान्छु। कहिले दिउँसो किताब पढ्छु। लेख्न मन लागे लेखेर बस्छु। बाजा बजाउन मन लागे बाजा बजाउँछु। कहिलेकाहीँ साथीभाइ आउँछन्, उनीहरूसँग दिनभरि वनतिर हल्लिन जान्छु।'
'जिन्दगी भनेको खासमा दैनिकी मात्र हो, एक दिन कसरी बिताउने भन्ने हो। एक दिन जसरी बितायो, जिन्दगी त्यसरी नै बित्छ,' अमृतले भने, 'मेरो एक दिन र जिन्दगी दुवै यसरी नै बितिरहेको छ।'
अमृतले काठमाडौं छाडेर गोठको जिन्दगी बिताएको १४ वर्ष भयो। अहिले भने गोठबाट करिब ४५ मिनेट माथि गाउँमा राम्रै घर बनाइरहेको बताउँछन्।
'त्यो घर मेरो बुढेसकालका लागि हो,' ५८ वर्षीय अमृतले भने, 'म अहिले आफैलाई व्यवस्थापन गर्नतिर लागेको छु।'
सिर्जनात्मक रूपमा पनि गोठको जिन्दगीबाट उनी सन्तुष्ट छन्। गोठको बसाइमै १६–१७ वटा नयाँ गीत बनाएको उनले सुनाए।
'त्यहाँ म नितान्त एक्लो हुन्छु। सिर्जनाको काम धेरै हुन्छ। साथीभाइ भयो भने रमझम, रमाइलोमै धेरै समय जान्छ,' उनले भने।
गोठको दैनिकी त उनको जिन्दगीको एउटा पाटो भयो। अर्को पाटोमा उनले बाँच्ने अस्ट्रेलिया, अमेरिका वा युरोपका पाँचतारे होटलको बसाइ चाहिँ कस्तो लाग्ला? त्यति बेला के सोच्लान्?
मैले यो जिज्ञासा अमृतसँग सोधेँ।
उनले भने, 'फरक केही सोच्दिनँ। यथार्थमा भन्दा हिजो अभाव र आवश्यकता भएका बेला मैले जस्तो जिन्दगी बिताएको थिएँ, अहिले पनि त्यस्तै छ। तर भाग्य र दर्शक/स्रोताले माया गरेर हामीलाई विभिन्न देशबाट निम्ता दिनुहुन्छ। मेरो लागि ती देशमा जानु र गाउनु भनेको अहोभाग्य हो। नेपाली कलाकारले संसारका विभिन्न देश गएर, त्यहाँका पाँचतारे होटलमा बसेर कार्यक्रम गर्छन् भन्ने त मैले चिताएकै थिइनँ।'
'मलाई यसमा पनि नौलो केही लाग्दैन। आखिर जहाँ भए पनि दिन गुजार्ने न हो,' उनले भने, 'मेरो काम भनेको कार्यक्रम राम्ररी सम्पन्न गर्ने र मनभरि उत्साह र उमंग बोकेर आउने हो।'
'माया छाडेर आउने हो, माया लिएर आउने हो।'

'सेतोपाटी कन्भरसेसन' मा मैले अमृत गुरूङसँग उनको गायन यात्राका अन्य विभिन्न पक्षबारे पनि कुरा गरेको छु।
खासगरी नेपथ्यले लोकगीत संकलनको जुन परम्परा अंगाल्यो, त्यो हिजो कस्तो थियो र आज कस्तो छ भनेर सोधेको छु।
लोकगीत संकलन गरेर लोकगीतकै भाकामा गाउनु र त्यसलाई रक शैलीमा गाउनुमा के फरक छ? त्यसको प्रक्रिया के हो? रक शैलीमा ढालेपछि त्यसले ल्याउने परिवर्तनले भावी दिनमा लोक संगीतको मर्म बिटुल्याउने त होइन? मैले यसबारे अमृतसँग विस्तृत कुरा गरेको छु।
अमृतले लोकगीत संकलन क्रममा पूर्वदेखि पश्चिमसम्म थुप्रै यात्रा गरेका छन्। यसबीच उनले के के परिवर्तन देखे?
आज नेपथ्यलाई छाडेर ३० वर्षभन्दा पुरानो ब्यान्ड खासै अस्तित्वमा छैन। नेपथ्य भने लामो समय बित्दा पनि हराउनु त परको कुरा, थप चम्किँदै जानुको राज के हो?
नेपथ्यको सुरूआती पहिचान पप ब्यान्डका रूपमा थियो। आज, विशेषगरी 'रेशम' एल्बमपछि यो रक ब्यान्डमा परिणत भयो। आउने दिनमा ब्यान्डले फेरि अर्को चोला परिवर्तन गर्छ कि गर्दैन? यो ब्यान्ड आजसम्म जीवित र भर्भराउँदो हुनुमा आफूले आफैलाई सुधार गर्नु पनि कारण हो कि?
लोकप्रिय गायक अरूण थापाको जीवनको अन्तिम समयमा अमृत एकदमै निकट थिए। उनको एउटा गीत पनि अमृतले गाउने कुरा थियो। तर त्यो भएन। त्यसको कथा पनि अमृतले सुनाएका छन्।
त्यस्तै, अमृतले भोजपुरी भाकाको गीत गाउने भनेर त्यसको अध्ययन र संकलनमा लामो समय बिताए। किताबमा यसबारे वर्णन गरिएको छ। त्यो गीत के भयो? अहिलेसम्म किन आएन? हामीसँगको कुराकानीमा अमृतले यसबारे खुलाएका छन्।
अमृतले आफ्ना केही गीतको रचना गर्भ पनि हामीसँग बाँडेका छन्।
पहिलो रचना गर्भ यस्तो गीतको छ, जुन उनले नेपथ्य ब्यान्डको जन्म नहुँदै सिर्जना गरेका थिए। गीत हो —
आँगनैभरि हिउँ नै झरे
आरू फूल टिपिराखे है
यसबाहेक उनले नेपथ्य ब्यान्डलाई उचाइमा पुर्याएको 'छेक्यो छेक्यो देउराली डाँडा, हुस्सु र कुहिरोले' गीतको कुरा गरेका छन्। नेपथ्यलाई पुनर्जन्म दिएको 'रेशम' गीतको कुरा गरेका छन्। नेपथ्य र नेपालय एकअर्कामा आबद्ध भएपछि बनेको पहिलो एल्मब 'भेडाको ऊनजस्तो' को कुरा गरेका छन्।
त्यस्तै, 'जीवन हो घामछाया, सुखदु:ख दुवै हुन्छ' को रचना गर्भ सुनाएका छन्।
र, सुनाएका छन् एउटा यस्तो गीतको रचना गर्भ, जुन गीतसँग अमृतको जीवनको महत्त्वपूर्ण संस्मरण जोडिएको छ।
अभाव अभावै भयो
तिमीबिना यो जीवन
मनको व्यथा कसलाई पोखूँ
कहाँ जाऊँ कसलाई सुनाऊँ
मेरो यो कहानी
यो गीतसँग अमृतको के संस्मरण जोडिएको छ? कोबिना उनलाई आफ्नो जीवनमा अभावै अभावको अनुभूति भयो?
हेर्नुहोस् गायक अमृत गुरूङसँगको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —