(आज स्मृतिका पानाबाट कहिल्यै नमोटिने 'पहिलो प्रेम' का कुरा। प्रस्तुत छ रूसका प्रखर कवि, लेखक, बौद्धिक व्यक्तित्व द्मीत्रि ब्विकोभको कवितामा आधारित नेपाली रूपान्तरण)
खासमा मैले सधैं
तिमीलाई मात्र चाहेँ
आदर्श भयौ तिमी मेरो
सबैलाई दाँज्ने मानक बनाएँ
तिमी गएपछि धेरै आए
मेरो जीवन सिँगार्न
तर,
जसमा तिम्रा विशेषता पाएँ
तिनलाई मात्र सकेँ स्विकार्न
... केही बेर, स्विकार्न
तिमी स्वतन्त्र पन्छी,
स्वच्छन्द उडान भरिरह्यौ
म यहाँ टुक्राहरू जोड्दै
तिम्रो निर्माण गरिरहेँ
बांगो बांगो तिम्रोजस्तै
नाक थियो एउटीको
तिम्रोजस्तै गालामा
कालो कोठी अर्कीको
एउटीको… तिम्रोजस्तै
उन्मुक्त ताल थियो
तिम्रोजस्तै अर्कीको
हाँसो अनि चाल थियो
निधारको केश फुकेर एउटी
तिमीले जस्तै उडाउँथी
घरको साँचो हराएर अर्की
तिमीले झैं वाक्क लगाउँथी
यति धेरै दोषयुक्त
एउटै मान्छे कसले पाउँछ
ईश्वरले तिमी एउटी बनायो
आफ्नो गल्ती उसले
फेरि कहाँ दोहोऱ्याउँछ?
तिमीलाई टुक्राहरूमा खोज्ने
हरेक प्रयत्न निरर्थक भयो
तर पनि मेरो खोजी
निरन्तर जारी रह्यो
चिन्ता थियो तिमीलाई मेरो
एक्लै हुँला कि यो संसारमा
निष्ठुरीझैं तिमी पो गयौ
म त चुर्लुम्म छु
अझै तिम्रो प्यारमा
मुसलधारे झरीको त्रास
तिमीले रोपेका फूलको सुवास
रेडियोको समाचार
बिहानको अखबार
फक्रिएका फूलले
तिमीले सजाएको गेट
बिग्रिएर बिर्सिएको
तिम्रो मोबाइल सेट
तिमीलाई नभेटिने
कुनै ठाउँ होला र कहीँ?
ईश्वरले तिमीलाई
माया गरोस्, प्रिय
तिमी यहीँ छौ
मभित्र कतै यहीँ,
तिमी यहीँ नै छौ
मभित्र यहीँ… कहीँ!!
***