पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेस र एमालेको गठबन्धन सरकारलाई 'असंवैधानिक' र 'अलोकतान्त्रिक' भनेका छन्।
'यो सरकार मलाई संविधानसम्मत् लागेकै छैन,' उनले सोमबार एक कार्यक्रममा भने, 'यो संविधान मिचेर बनेको सरकार हो।'
'राष्ट्रपतिमाथि जबर्जस्त दबाब दिएर र राष्ट्रपतिलाई निरीह बनाएर यो सरकार बनेको छ। यो सरकार लोकतान्त्रिक पनि छैन। सामान्यतया लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने भन्ने हुँदैन। त्यसैले यो सरकार लोकतन्त्र र संविधानको मर्मविपरीत बनेको छ। यसले कहीँ न कहीँ संविधानलाई कर्नरमा पार्न खोजेको छ,' उनले भने।