द कन्भरसेसन- ३५
प्रदीप खड्का र आना शर्मा दुवै नेपाली फिल्मका रूचाइएका कलाकार हुन्।
'प्रेम गीत' बाट चकलेटी अभिनेताका रूपमा चम्केका प्रदीपले एक दर्जन हाराहारी फिल्ममा अभिनय गरिसकेका छन्। 'प्रकाश' र 'पुजार सार्की' मा काम गरेपछि उनी राम्रो अभिनय गर्ने कलाकारका रूपमा समेत चिनिन्छन्।
यता आना पहिलो फिल्म 'जेरी' बाटै चर्चामा आएकी हुन्, जसमा उनी अभिनेता अनमोल केसीको 'अनस्क्रिन जोडी' बनेकी थिइन्। त्यसयता उनी फिल्म 'ग्याङस्टर ब्लुज' र 'द म्यान फ्रेम काठमाडौं' मा देखिइन्।
लगभग एकै समयबाट करिअर सुरू गरेका प्रदीप र आनालाई यसअघि सहकार्यको अवसर जुरेको थिएन। यसपटक 'एक्टरः टेक वान' मा उनीहरूले पहिलोपटक सहकार्य गरेका छन्। यो फिल्म माघ १६ गते बुधबारबाट प्रदर्शनमा आउने तयारीमा छ।
यो प्रदीपको ८ महिनापछि रिलिज हुन लागेको फिल्म हो भने आना ५ वर्षभन्दा लामो समयपछि ठूलो पर्दामा देखिन लागेकी हुन्।
सेतोपाटी 'कन्भरसेसन' को आजको अंकमा प्रदीप र आनाले सँगै बसेर रिलिजको तयारीमा रहेको फिल्म, आफ्नो करिअर र अनुभवसँगै अभिनयप्रतिको बुझाइ, अन्य रूचि लगायत विषयमा कुराकानी गरेका छन्।
कुराकानी क्रममा प्रदीपले सुरूमा एउटै फिल्मले परिचय दिँदा केही वर्षसम्म अभिनय सिक्नुपर्छ भन्ने महसुस नभएको बताए।
'प्रेम गीत रिलिज भएको चार-पाँच वर्षसम्म अभिनय सिक्नुपर्छ भन्ने नै भएन। किनकि चाहिरहेको आइडेन्टिटी पाइरहेको थिएँ,' प्रदीपले भने, 'बिस्तारै महसुस भयो, पाइरहेको आइडेन्टिटी बचाउने हो भने अब मैले अभिनय गर्नुपर्छ। प्रकाश गर्नुको कारण पनि त्यही हो।'
आनाले आफूलाई 'ग्रो' गराएर मात्र थप फिल्म खेल्ने योजनासहित केही वर्ष 'ब्रेक' लिएको बताइन्।
यी दुई जनाले अडिसनको विषयमा समेत खुलेर कुरा गरे।
प्रदीपले लुक टेस्ट वा अडिसन लिँदा कलाकारले गाह्रो मान्न नहुने बताए। आनाले आफूलाई ग्रामीण पात्रको भूमिकामा प्रस्ताव नआएको बताइन् र भनिन् 'निर्माता, निर्देशकलाई आनाले त्यस्तो क्यारेक्टर गर्न सक्दैन भन्ने लागेर हो कि! त्यसो हो भने मेरो अडिसन लिनुस्, म माइन्ड गर्दिनँ के!'
प्रदीपले आनाको कुरामा सहमति जनाउँदै फिल्म 'प्रकाश' मा काम गर्दा आफूले अडिसन दिएको खुलाए। 'अडिसन बोलाउँदा, लुक टेस्ट गर्दा कलाकार रिसाउँदैनन्, रिसाउनु पनि भएन,' उनले भने।
कुराकानीमा उनीहरूले एकअर्काको खुलेरै तारिफ गरे। डिसिजन मेकिङबारे आ-आफ्नो अनुभव र बुझाइ सेयर गरे। अब कस्तो-कस्तो फिल्ममा देखिँदैनन्, त्यो पनि बताए।
हेर्नुहोस् प्रदीप र आनाको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —