प्रियंका तुलाचनलाई धेरैले उनको थरबारे सोधिरहेका हुन्थे। जबाफमा उनी भन्थिन्, 'म थकाली हुँ।'
उनले थकाली भन्नेबित्तिकै धेरै जना 'थकाली भान्छाघर' सम्झन्थे। कतिलाई त थकाली समुदाय पनि छ भन्ने नै थाहा थिएन।
यही अनुभवले प्रियंकालाई आफ्नो समुदायबारे अनुसन्धान गर्ने हुटहुटी जाग्यो। उनले थकालीहरूको चिरपरिचित खानालाई अनुसन्धानको मुख्य विषय बनाइन्।
र, यहीँबाट सुरू भयो प्रियंकाको थकाली भान्छा वा खानाको कथा — थप्साङ पे।
'मलाई थकाली भाषा आउँदैन थियो। हजुरबुबासँग पुर्ख्यौली गाउँ कुञ्जो (मुस्ताङ) गएको त थिएँ, तर आफ्नो समुदायको कथा र इतिहासबारे बेखबर थिएँ। मलाई आफ्नो समुदायको जरासम्म पुग्नु थियो। त्यही भएर दुई वर्षअघि म एक्लै कुञ्जो गएँ,' प्रियंकाले भनिन्।
अहिले प्रियंका काठमाडौं बस्छिन्। उनका हजुरआमा र हजुरबुबा पोखरा बस्छन् भने आमाबुबा तातोपानीमा बस्छन्। प्रियंकाले यी सबै ठाउँमा प्रचलित थकाली संस्कृतिलाई आफ्नो अनुसन्धानमा समेटेकी छन्।
अनुसन्धान क्रममा उनले आफ्नो पुर्ख्यौली गाउँ कुञ्जोमा खाइने थकाली खाना र त्यसको इतिहास डायरीमा उतारेकी छन्। पोखरा र तातोपानीमा गरिएका यात्राबाट थकाली खाना कसरी व्यावसायिक भयो भन्ने खोज गरेकी छन्।
उनले यो अनुसन्धान निम्ति आफ्ना आखें (हजुरबुबा) सँग थकाली समुदायको भाषा सिकेकी थिइन्। भाषा सिकाउने क्रममा हजुरबुबाले उनलाई भनेका थिए, 'भाषा संस्कृतिको प्राण हो। भाषा हराए जाति हराउँछ।'
हजुरबुबाको त्यही भनाइ सापट लिँदै प्रियंकाले भनिन्, 'भाषा हरायो भने कतै हाम्रो खाना पनि हराउने हो कि?'
फोटो सर्कलले हालै आयोजना गरेको 'हु डज द रिभर बिलोङ टू' शीर्षकको सामूहिक प्रदर्शनीमा प्रियंकाले आफ्नो थकाली समुदायको खोज प्रदर्शन गरेकी थिइन्। हामीले त्यही क्रममा कुराकानी गरेर यो भिडिओ स्टोरी तयार पारेका हौं।
हेर्नुहोस् थकाली खाना र थकाली समुदायका अध्येता प्रियंका तुलाचनको भिडिओ स्टोरी: