तपाईंहरूलाई थाहा छ — सरकारले अहिले आमजनतासँग ऋण मागिरहेको छ।
तपाईंसँग, मसँग।
कति पैसा चाहिएको हो त सरकारलाई?
सरकारलाई ऋण दियौं भने कति ब्याज पाइन्छ? त्यो ब्याज बैंकले दिने ब्याजभन्दा कम छ कि बढी?
ब्याजबाहेक अरू पनि सुविधा पाइन्छ कि?
सरकारले अहिले आमजनतासँग साढे २ अर्ब रूपैयाँ ऋण मागेको छ। अब तपाईंहरूलाई लाग्यो होला, सरकारले हामीसँग कसरी ऋण माग्छ? के ऊ पनि हामीजस्तै आफन्त वा साथीभाइका घर-घरमा गएर पैसा माग्दै हिँड्छ?
होइन, सरकारले जनतासँग ऋण माग्ने तरिका फरक छ। जब सरकारलाई पैसाको खाँचो पर्छ, ऊ निश्चित रकमको बचतपत्र बेच्छ।
बचतपत्र भनेको आन्तरिक ऋण उठाउने एउटा औजार हो। मुख्यतया विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल्स बेचेर सरकारले आन्तरिक ऋण उठाउँछ। तोकिएको समयपछि सावाँ र ब्याज फिर्ता गर्छ।
यसपालि सरकारले २ अर्ब रूपैयाँको नागरिक बचतपत्र र ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा राखेको छ।
सरकारलाई ऋण दिएर हामीलाई के फाइदा हुन्छ त?
यसका तीन फाइदा छन् —
पहिलो, सरकारलाई ऋण दिँदा पाइने ब्याज वाणिज्य बैंकहरूले दिने औसत ब्याजभन्दा बढी हो। अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर ६.५ प्रतिशत मात्र छ। जबकि तपाईंले नागरिक बचतपत्र किन्नुभयो भने ७.५ प्रतिशत ब्याज पाउनुहुन्छ। वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ८.५ प्रतिशत छ। सरकारले यस्तो ब्याज ६-६ महिनामा दिन्छ।
दोस्रो, यस्तो बचतपत्रले अप्ठ्यारो पर्दा नगद पैसा बराबर नै काम गर्छ।
तपाईंहरूलाई तुरून्तै पैसा चाहियो भने यो बचतपत्रलाई चेकका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। बैंकले बचतपत्र लिएर त्यसमा लेखिएको पैसा तुरून्तै तिर्नुपर्छ।
भोलि बैंकको ब्याज बढेको खण्डमा पनि तपाईंहरूले सरकारसँग किनेको बचतपत्र बैंकलाई बेचेर पैसा जम्मा गर्न सक्नुहुन्छ। बैंकहरूले यस्तो बचतपत्र किन्दिनँ भन्न पाउँदैन।
तेस्रो, यस्तो बचतपत्र धितो राखेर तपाईंहरू बैंकबाट ऋण लिन पनि सक्नुहुन्छ।
अब प्रश्न उठ्छ — सरकारलाई ऋण दिने सीमा के हो त? क-कसले ऋण दिन पाउँछन्?
सरकारलाई लाख वा करोडमा मात्र ऋण दिन पाइन्छ भन्ने होइन। तपाईंहरू १० हजार रूपैयाँ पनि सरकारलाई दिन सक्नुहुन्छ।
भन्नुको मतलब, जुन बचतपत्र अहिले बिक्रीमा राखिएको छ, त्यो कम्तिमा १० हजार रूपैयाँसम्मको किन्न सकिन्छ।
कसले किन्न पाउँछन्, त्यो चाहिँ बचतपत्रअनुसार फरक पर्छ। जस्तो — नागरिक बचतपत्र मुलुकभित्रका सबै नागरिक र गैरआवासीय नेपालीहरूका लागि हो। वैदेशिक रोजगार बचतपत्र भने वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले किन्न सक्छन्।
तपाईं कुन वर्गमा पर्नुहुन्छ, त्यसैअनुसार नागरिक बचतपत्र वा वैदेशिक रोजगार बचतपत्र किन्न सक्नुहुन्छ।
तपाईं पहिलोपटक यस्तो बचतपत्र किन्दै हुनुहुन्छ भने 'इन्भेष्टर डट डम्स डट जिओभी डट एनपी' लगइन गरेर आफ्नो प्रोफाइल बनाउनुपर्छ। त्यसमा आफ्ना विवरणहरू तयार गरेपछि आफूलाई पायक पर्ने वाणिज्य बैंक छान्नुपर्छ।
बैंकहरूले विवरण जाँच गरेर तपाईंको प्रोफाइल स्वीकृत गर्छन्। त्यसपछि आफ्नै खाताबाट अनलाइन आवेदन दिन सक्नुहुन्छ।
बचतपत्र भनेको सरकारका लागि आमजनतासँग ऋण लिने औजार भए पनि हामी आमजनताका लागि यो लगानीको एउटा भरपर्दो क्षेत्र नै हो।
यदि तपाईंहरूसँग पैसा छ र लगानी गर्ने सुरक्षित ठाउँको खोजीमा हुनुहुन्छ भने ढुक्कसँग यो बचतपत्र किने हुन्छ। आफूसँग भएको पैसा व्यापार-व्यवसाय वा अन्य कुनै क्षेत्रमा लगानी गरेर जोखिम उठाउन चाहनुहुन्न बचतपत्र किनेर लाभ लिन सक्नुहुन्छ। यसमा लगानी गरेको पैसा डुब्ने वा मासिने चिन्ता हुँदैन। नाफाको ग्यारेन्टी हुन्छ।
विडम्बना के छ भने, हामीकहाँ पैसा भए पनि सरकारी बचतपत्रमा लगानी गर्ने खासै चलन छैन।
त्यसैले त, मंसिर दोस्रो सातादेखि ऋण माग्न थालेको सरकारले अहिलेसम्म भनेजति पैसा उठाउन सकेको छैन।
दुई अर्ब रूपैयाँको नागरिक बचतपत्र बेच्न राखिएकोमा अहिलेसम्म आधा पनि बिकेको छैन। यो ९८ करोड ६० लाख रूपैयाँ बराबरको बिक्री भएको छ।
वैदेशिक रोजगार बचतपत्रको बिक्री त झन् नगन्य नै छ। सरकारले ५० करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बेच्न राखेकोमा अहिलेसम्मको बिक्री ४७ लाख रूपैयाँ मात्र छ।
यी बचतपत्रहरूको बिक्री ढिलोमा आगामी पुस १४ गतेसम्म खुला रहनेछ।
अहिले मात्र होइन, विगतमा पनि सरकारले लक्ष्यअनुसार बचतपत्र बेच्न सकेको छैन। एउटा कुनै कम्पनीको सेयर बिक्री हुँदा किन्नेहरूको ओइरो लाग्छ। दुई-चार कित्ता सेयर पर्नेले पनि आफूलाई भाग्यमानी ठान्छन्। तर सरकारले यसरी उच्च ब्याज दिएर निकालेको बचतपत्रमा भने आमजनतालाई चासो नै हुँदैन। धेरैले त यस्तो बचतपत्र बिक्रीमा छ भन्ने नै थाहा पाउँदैनन्।
त्यसैले जसले यो विषय नजिकबाट बुझेको छ, उसले मात्र लाभ उठाउँदै आएको छ। धेरैलाई सरकारले बुझाउन पनि सकेको छैन। सामान्यतया यस्तो बचतपत्रका मुख्य खरिदकर्ता बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी र सरकारी अधिकारीहरू मात्र हुन्।
तपाईंहरू पनि सुरक्षित लगानी गर्न चाहनुहुन्छ भने सरकारी बचतपत्र किन्नुस् र ढुक्क हुनुस्।
***