सेतोपाटी एक्सप्लेनर
हिंसा, दमन र अत्याचारको जगमा बसेको कुनै पनि तानाशाह सधैंका लागि स्थायी हुँदैन। न हिटलरले जीवनभर शासन गरेका थिए, न मुसोलिनीले न सद्दाम हुसेनले।
सिरियामा ५० वर्षदेखि अकन्टक राज गर्दै आएको असद वंशको तानाशाही शासन पनि तासको घरजस्तै गर्ल्यामगुर्लुम ढलेको छ।
त्यहाँका शासक बशर-अल असद देश छाडेर रसियामा शरण लिन बाध्य भएका छन्।
सेतोपाटीको यो अन्तर्राष्ट्रिय घटना शृंखलामा हामी आज असद वंशको उदय र पतनको कथा लिएर आएका छौं।
सबभन्दा पहिला कुरा गरौं - विश्व नक्सामा सिरिया भन्ने देश कहाँ पर्छ?
पश्चिम एसियामा पर्ने सिरियाको सीमा टर्की, इराक, जोर्डन, इसराइल र लेबननसँग जोडिएको छ। यसको पश्चिममा मेडिटेरेनियन सागर पर्छ।
यो मुलुक भीषण आन्तरिक गृहयुद्ध र आतंकवादी समूह आइसिसको दबदबाका कारण लामो समयदेखि हिंसाको चपेटामा छ। सन् २०११ मा सुरू भएको गृहयुद्धले मात्र यहाँ करिब साढे २ लाख मान्छेको ज्यान गएको थियो।
सिरियामा असद वंशको एकतन्त्रीय शासन कसरी सुरू भयो त?
असद वंशको सुरूआत हफिज अल असदले गरेका हुन्। उनको जन्म अल्पसंख्यक गरिब परिवारमा भएको थियो। उनले सन् १९४६ मा सिरियाको बाथ पार्टीको विद्यार्थी नेताका रूपमा राजनीतिक यात्रा सुरू गरेका थिए। उनी पछि एयरफोर्स पाइलट भए।
सन् १९६३ मा जब बाथ पार्टी सिरियाको शासनमा आयो, तब असद एयरफोर्सका कमान्डर भए।
त्यसको तीन वर्षपछि भएको सैनिक कूमा बाथ पार्टीका अधिकांश संस्थापक नेताहरूलाई देशबाट निष्कासन गरियो। उक्त कूमा साथ दिएका हफिज-अल असद एयरफोर्स कमान्डरबाट रक्षामन्त्रीका रूपमा उदाए।
त्यसको तीन वर्षपछि सन् १९७० नोभेम्बरमा सिरियामा फेरि अर्को सैनिक कू भयो, जसको नेतृत्व स्वयं हफिज-अल असदले गरेका थिए। उनले आफ्ना विरोधी नेता र सेनाका उच्च पदाधिकारीहरूलाई जेल हाले र सरकारको नेतृत्व आफ्नो हातमा लिए।
यहीँबाट सुरू भयो, हफिज-अल असदको एकतन्त्रीय तानाशाही शासन।
उनले तत्कालीन सोभियत संघको सहयोगमा आफ्नो सैनिक संरचना बलियो बनाएका थिए। अधिकांश विरोधीहरूको या त हत्या गरेका थिए, या देशबाट निकालेका थिए।
हिंसा, दमन र अत्याचारको बलमा उनले असन वंशको शासन यति बलियो बनाए, सन् २०११ मा सुरू भएको भीषण गृहयुद्धले पनि त्यसलाई ढाल्न सकेन।
तर आज ५० वर्षपछि यस्ता घटनाक्रम विकसित भए, उनै हफिज-अल असदका छोरा बशर-अल असद देश छाडेर भाग्न बाध्य भएका छन्।
पिताले सुरू गरेको एकतन्त्रीय शासन चलाउँदै आएका बशर-अल असद देश छाडेर भाग्नुपर्ने नौबत कसरी आयो त?
त्योभन्दा अगाडि हामी बशर शासनमा कसरी आए, त्यसबारे कुरा गरौं।
बशरको उदय आफैमा नाटकीय घटनाक्रमहरूले भरिएका छन्।
बशर-अल असद हफिजका माइला छोरा हुन्। हफिजले उनलाई कहिले पनि आफ्नो उत्तराधिकारी मानेका थिएनन्। उनी आफ्नो पहिलो सन्तान छोरी बुस्रालाई एकदमै धेरै माया गर्थे र शासन पनि उनैलाई सुम्पन चाहन्थे। तर मुस्लिम समाजमा महिला शासक हुन असम्भवप्राय: थियो। त्यसैले हफिजले जेठा छोरा बसिललाई उत्तराधिकारीका रूपमा हुर्काए। अरू सन्तानको दाँजोमा माइला छोरा बशरलाई उनी खासै मन पराउँदैन थिए भन्ने चर्चा पनि छ।
बसिल उमेरमा आफ्ना भाइ बशरभन्दा दुई वर्ष मात्र जेठा थिए। उनी बशरलाई सानैदेखि हेप्ने र पिट्ने गर्थे।
बसिल आफै पनि हफिजको उत्तराधिकारी मानिएका पहिलो व्यक्ति थिएनन्। उनीभन्दा अगाडि हफिजका भाइ रफितलाई उत्तराधिकारी मानिएको थियो।
उनी उत्तराधिकारी बन्थे पनि होलान्, तर गडबड के भइदियो भने रफितले सन् १९८४ मा आफ्ना दाइ हफिज बिरामी हुँदा सत्ता हत्याउन खोजे। भाइको षड्यन्त्र चाल पाएपछि हफिजले उनलाई देश छाड्न बाध्य पारे। अनि आफ्ना छोरा बसिललाई छिट्टै शासनको उत्तराधिकारी बनाउने गरी काम थाले। त्यति बेला बसिल २२ वर्ष मात्र पुगेका थिए।
विडम्बना के भइदियो भने, बसिल पनि सत्तामा पुग्न सकेनन्।
सन् १९९४ जनवरीमा एउटा यस्तो घटना भयो, जसले बसिलको जीवन लीला नै समाप्त पारिदियो।
उनी निजी विमानमा जर्मनी जाँदै थिए। विमानस्थल जाँदै गर्दा अत्यन्त तेज गतिमा चलाएको मर्सिडिज दुर्घटना परेर उनको मृत्यु भयो।
बसिलको असामयिक मृत्युपछि हफिजले लन्डनमा रहेका माइला छोरा बशरलाई सिरिया डाके। त्यति बेला बशर आँखाको डाक्टर बन्न रेसिडेन्सी गरिरहेका थिए।
डाक्टर बन्ने सपना देखेका बशरलाई फिर्ता बोलाएर उनका पिता हफिज-अल असदले आफ्नो राजनीतिक उत्तराधिकारी बनाए।
यसरी असद वंशको बागडोर बशरको हातमा आयो।
त्यसको छ वर्षपछि सन् २००० मा हफिजको निधन भयो। हफिजको निधनसँगै धेरैले असद वंशको पतन होला भन्ने ठानेका थिए। किनभने, सिरियाको कुल जनसंख्यामा झन्डै ७५ प्रतिशत सुन्नी मुसलमान छन्। हफिज भने अलवाइत (सिया समूहको एक हाँगा) सम्प्रदायका हुन्, जसको जनसंख्या करिब १० प्रतिशत मात्र छ। अल्पसंख्यक समुदायबाट आएर तीन दशक शासन चलाउन क्रूर हफिजलाई पनि निकै मुश्किल परेको थियो। उनले विपक्षी र अरू समुदायको हिंसात्मक दमन गरेर आफ्नो शासनसत्ता टिकाएका थिए।
उनको निधनपछि राजनीतिक रूपले कमजोर ठानिएका र तुलनात्मक नरम स्वभावका बशरले धेरै समय शासन चलाउलान् भनेर कसैले सोचेका थिएनन्।
तर पिताको निधनपछि बशरले आफ्नो शक्ति मजबुत पार्न कुनै कसर छाडेनन्। उनले आफ्नो राजनीतिक चलाखी र कूटनीतिक सुझबुझको बलमा २४ वर्ष अकन्टक शासन गरे।
सन् २००३ मा जब अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले इराकमाथि आक्रमण गरे, त्यति बेला बशरले अमेरिकालाई साथ दिएका थिए। त्यो उनको आफ्नो सत्ता टिकाउने रणनीति नै थियो। सद्दामको सत्ता ढलेपछि भने उनी अमेरिकाबाट टाढिए। बुसले आफ्नै सत्ता ढाल्ने त होइनन् भनेर उनी तर्सिएका थिए।
त्यसबीच सन् २०१० को अन्त्यतिर ट्युनिसियाबाट 'अरब स्प्रिङ' भनिने आन्दोलन सुरू भयो। यही आन्दोलनको प्रभावले २०११ बाट सिरिया भीषण गृहयुद्धमा फस्यो। बशरले धेरै विरोधी समूहको प्रहार झेल्नुपर्यो। इराकका अल्पसंख्यक कुर्द, सुन्नी आतंककारी समूह अल-कायदा र टर्कीले चलाएको समूहले एकैचोटि उनीविरूद्ध हमला गरे। विरोधीहरूको चौतर्फीले हमलाले बशरको सत्ता तुरून्तै ढल्लाजस्तो देखिएको थियो। त्यसका बाबजुद उनी आफ्नो शासन टिकाउन सफल भए।
त्यति बेला उनलाई दुइटा घटनाले फाइदा भयो।
पहिलो, अल-कायदा लगायत सुन्नी अतिवादी समूहले शक्ति आर्जन गर्लान् भनेर अमेरिकाले बशरको सत्ता ढाल्न धेरै जोडबल गरेन।
र, दोस्रो, इराक युद्धको विरोध गर्दै सन् २००८ मा अमेरिकी राष्ट्रपति निर्वाचित बाराक ओबामा अर्को युद्ध लड्न चाहँदैन थिए।
त्यसबीच मध्यपूर्वमा एउटा अर्को घटना भयो।
सद्दाम हुसेनको सेनामा रहेका अब्बल सुन्नी सैनिकहरू सामेल आइसिस समूहले सन् २०१३ मा इराकका धेरैजसो भाग कब्जा गर्यो। उनीहरूले सिरियासमेत समेटेर मुस्लिम राज्य 'क्यालिफेट' बनाउने अभियान सुरू गरे। यसले अमेरिकालाई अप्ठ्यारोमा पार्यो। बशरको सत्ताभन्दा आइसिस समूह विश्वकै लागि ठूलो खतरा भएकाले अमेरिकाले त्यो समूह सिध्याउनमा आफ्नो सारा ध्यान केन्द्रित गर्यो। त्यसैले बशरविरूद्ध अमेरिकाले खासै धेरै बल प्रयोग गरेन।
त्यति बेला आफ्नै जनताविरूद्ध नरसंहार गरिरहेका बशरविरूद्ध अमेरिकी सेना प्रयोग गर्नुपर्ने माग पनि उठेको थियो। तर ओबामाले सुनेनन्।
बशरले दमास्कस बाहिरको क्षेत्रमा सरिन ग्यास प्रयोग गरेर नरसंहार गर्दा पनि ओबामाले केही कारबाही गरेनन्।
यसले बशरको हौसला बढ्यो। बशरलाई सहयोग गरिरहेको इरान पनि हौसियो। टाढैबाट सहयोग गरिरहेको रूसले पनि उनको पक्षमा लड्न सेना पठायो।
गृहयुद्धले झन्डै साढे दुई लाखको ज्यान गए पनि बशरको सत्ता भने जोगियो। पूरै सिरिया कब्जा गर्न हिँडेका विरोधीहरू टाढा टाढाका सीमित क्षेत्रमा मात्र खुम्चिए।
यसबीच बशरले आफ्नो सत्ता त टिकाए, तर अमेरिकी नाकाबन्दी र युद्धका कारण सिरियाले चरम आर्थिक संकट झेल्नुपरेको थियो। आफ्नो सत्ता टिकाउन उनी र उनी निकटका धेरैले व्यापक भ्रष्टाचार गरेका थिए।
यस्तो मुस्किल घडीमा सन् २०२३ फेब्रुअरीमा टर्की-सिरियामा महाभूकम्प गयो। यसले बशरलाई सत्ता टिकाउन झन् सजिलो भयो। भुइँचालोमा हजारौं सिरियाली जनताको ज्यान गएको थियो। साउदी अरबले ठूलो परिमाणमा राहत सामग्री पठायो। पश्चिमा राष्ट्रहरूले पनि राहत सामग्री वितरण गर्न बशरसँग नै समन्वय गर्नुपर्यो। साउदी अरबले त सिरियाली जनताले भोगेको दु:ख देखाउँदै मानवीय आधारमा बशरको सत्ताप्रति नरम हुन अमेरिकासँग सिफारिश नै गर्न थाल्यो।
यसरी लामो समय सत्ता टिकाएका बशरले कसरी एकाएक सत्ताबाट हात धुनुपर्यो त?
यसको कडी २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि गरेको हमलासँग जोडिन्छ।
इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकी देशहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इरानले इसराइलमाथि आक्रमण गराउँछ। असद वंशले राज गरेको सिरियाको भूमि पनि हिजबुल्लाहलाई हतियार दिन र हमासलाई समर्थन गर्न प्रयोग गरिँदै आएको छ।
अक्टोबर ७ को इसराइल हमलापछि हिजबुल्लाहले पनि हमासको समर्थनमा इसराइलमाथि रकेट प्रहार गर्न थालेको थियो। तर बशरले इसराइलविरूद्ध केही गरेनन्। त्यति मात्र होइन, हिजबुल्लाह लडाकूमाथि इसराइलले बेला बेला प्रहार गर्दा पनि उनले आँखा चिम्लिए।
त्यसै क्रममा सेप्टेम्बर १७ मा इसराइलले लेबनन र सिरियाका केही ठाउँमा हिजबुल्लाह सदस्यले बोकेका हजारौं पेजर एकसाथ विस्फोट गरायो। त्यसबाट इसराइलले हिजबुल्लाहविरूद्ध अप्रत्यासित सफलता हासिल गर्यो। नसरल्लाह लगायत हिजबुल्लाहका धेरै वरिष्ठ नेता र सैन्य कमान्डर मारिए। इरानले दिएका धेरैजसो आधुनिक हतियार नष्ट गरिए।
नसरल्लाहको हत्यापछि रन्थनिएको इरानले इसराइलमाथि अक्टोबर १ मा हमला गर्यो। त्यसको २५ दिनपछि भएको जबाबी हमलामा इसराइलले आधुनिक एयर डिफेन्स सिस्टम लगभग ध्वस्त पारेको दाबी गरेको छ।
यसरी हिजबुल्लाह समूह तहसनहस भएको र लगातार हतियार दिएर भरथेग गर्दै आएको इरान पनि कमजोर भएका बेला एकैपटक धेरै विद्रोही समूहले हमला गरेर बशरको सत्ता ढालेका हुन्।
बशरलाई सायद यसको कुनै अन्दाजा थिएन। त्यसैले केही महिनाअघि टर्कीले वार्तामा बोलाउँदा समेत उनी ध्यान नदिएर बसेका थिए। तर नोभेम्बर २७ मा सुरू भएको आक्रमणले ५० वर्षभन्दा बढी समय चलेको असद वंशको सत्ता तासको घरजस्तै गर्ल्यामगुर्लुम ढालिदिको छ।
बशरले आफ्नो सत्ता टिकाउन रूस र इरानसँग सहायता मागेका थिए। तर युक्रेनसँग लड्न हम्मे-हम्मे परिरहेको रूसले पहिलेजस्तो सहयोग गर्ने अवस्था थिएन। हिजबुल्लाह तहसनहस भएपछि इरान पनि कमजोर भएको छ। त्यसैले त, बशरको पक्षमा हतियार बोकेर गएको भनिएका केही इरानी हवाईजहाज इसराइलको धम्कीपछि त्यसै फर्किएका थिए।
यस्तोमा आइतबार बिहानै दमास्कसभित्र विद्रोही छिर्दै गर्दा बशरसँग देश छाडेर भाग्नुबाहेक अर्को विकल्प रहेन।
उनी अहिले रसियामा शरण लिएर बसेका छन्। सिरियाको विदेश मन्त्रालयले यो घटनापछि सिरियाको इतिहासमा नयाँ अध्याय लेखिएको र सबै सिरियाली जनता एक हुने भनेर विज्ञप्ति निकालेको छ। बशरका प्रधानमन्त्री मोहम्मद गाजी जलालीले पनि कार्यभार सुम्पन तयार रहेको बताएका छन्।
यो घटनापछि सिरियामा अब दुइटा अवस्था उत्पन्न हुन सक्छ —
पहिलो, सिरियामा एक दशकभन्दा बढी चलेको गृहयुद्ध र पाँच दशकभन्दा बढीको तानाशाही असद वंशको शासन सकिएर शान्तिपूर्ण बिहानी उदाउन सक्छ।
दोस्रो, बशरविरूद्ध लडेका विभिन्न विद्रोहीहरू आपसमै लड्न पनि सक्छन्।
सिरियाको भविष्य कस्तो हुन्छ भन्ने कुरा विद्रोही समूहमध्ये सबभन्दा बलियो हयात तहरिर अल-शामको नेतृत्व गर्ने अबु मोहम्मद अल जोलानीमा निर्भर गर्नेछ।
अल-कायदा र आइसिस समूहको खतराका कारण अमेरिकाले बशरको सत्ता ढाल्न धेरै प्रयास गरेको छैन भनेर जोलानीले राम्ररी बुझेका छन्। त्यसैले आफ्नो समूहका लडाकूलाई संयम अपनाउन उनले निर्देशन दिइरहेका छन्। राज्य संरचना ध्वस्त नगर्न र अरू धर्म र समुदायका जनतामाथि आक्रमण नगर्न पनि भनिरहेका छन्।
उनले सिरियाको नेतृत्व गर्न पाए साँच्चै नै उदारवादी भएर सरकार चलाउँछन् कि अफगानिस्तानका तालिवानजस्तै निरंकुश बन्छन्, त्यो चाहिँ हेर्न बाँकी छ।
उनले उदारवादी सरकार चलाउन खोजे पनि उनका अतिवादी लडाकूहरू तयार हुन्छन् कि हुन्नन् भन्नेले पनि सिरियाको शान्तिपूर्ण भविष्य निर्धारण गर्नेछ।
***