द कन्भरसेसन- २७
अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको जोडीले बनाएको पहिलो फिल्म हो 'ह्रस्वदीर्घ'।
यही कात्तिक ३० गते (शुक्रबार) रिलिज हुने यो फिल्ममा नीता र हरिहरले शीर्ष भूमिकामा अभिनय गरेका छन्। उनीहरू पर्दामा सँगै देखिन लागेको यो पहिलो फिल्म हो।
यति बेला यो फिल्मको चर्चा कलाकारहरूलाई लिएर बढी भइरहेको छ। यसमा दक्षिण भारतका चर्चित कलाकारहरू ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, मोहम्मद अली, कबीर दुहान लगायतले अभिनय गरेका छन्। नेपालका पनि पुराना र नयाँ पुस्ताका थुप्रै कलाकारको अभिनय छ। उदाहरणका लागि, बिपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, सरोज खनाल लगायतले यो फिल्ममा साना-ठूला भूमिका निर्वाह गरेका छन्।
चर्चाको अर्को कारण फिल्मको बजेट हो। यसमा करिब ६ करोड रूपैयाँ लगानी भएको निर्माण पक्षले दाबी गरेको छ।
यसरी पुराना नेपाली कलाकारदेखि दक्षिण भारतीय कलाकारसम्म पुग्ने योजना कसरी बन्यो? उनीहरूसँग सहकार्य गर्दाको अनुभूति कस्तो रह्यो? फिल्मको बजेट कसरी ६ करोड रूपैयाँ पुग्यो?
सेतोपाटीको 'द कन्भरसेसन' शृंखलामा नीता र हरिहरले त्यसबारे आ-आफ्नो अनुभव साटेका छन्। उनीहरूले छायांकनका लागि संसारकै ठूलो 'रामोजी फिल्मसिटी' स्टुडियो पुग्दाको क्षण सम्झिएका छन्। फिल्म निर्माणको सुरूआती चरणदेखि यसको बजेट र 'ह्रस्व दीर्घ' नाम कसरी रह्यो भन्नेबारे खुलेर कुराकानी गरेका छन्।
यति मात्र होइन, अभिनेत्री र ज्योतिषी बीचको प्रेम र विवाहसमेत उनीहरूले सम्झेका छन्। साथमा, ज्योतिषशास्त्रबारे पनि कुराकानी गरेका छन्।
हेर्नुहोस् नीता ढुंगाना र हरिहर अधिकारीबीचको संवाद 'द कन्भरसेसन' भिडिओमाः