द कन्भरसेसन
नारायण वाग्ले र राजेश केसीबीच दुइटा कुरा समान छन् —
यी दुवैले लामो समय पत्रकारितामा बिताए। रिपोर्टरका रूपमा करिअर सुरू गरेका वाग्ले कान्तिपुर र नागरिक दैनिकका पूर्व-प्रधानसम्पादक हुन्। अखबारी लेखनका अतिरिक्त सिर्जनशील लेखनमा पनि उनको ठूलो नाम छ।
कान्तिपुर कोसेलीको साप्ताहिक स्तम्भ 'कफी-गफ' बाट सुरू सिर्जनशील लेखन यात्रामा वाग्लेका तीन पुस्तक 'पल्पसा क्याफे', 'मयूर टाइम्स' र 'कोरियाना कफी–गफ' प्रकाशित छन्।
केसी त पत्रकारिताकै सबभन्दा सिर्जनशील विधाका सर्जक हुन्। अर्थात्, उनी अखबारी कार्टुनिस्ट हुन्।
समसामयिक विषयमा ट्वाक्क छेड हान्ने उनको 'फलानो' कार्टुन पहिले कान्तिपुर र पछि नागरिक दैनिककै लोकप्रिय स्तम्भमा पर्थ्यो। अहिले उनी बाह्रखरी डटकमका लागि कार्टुन रचना गर्छन्।
पेसागत सँगसँगै व्यक्तिगत जीवनमा पनि अत्यन्त निकट यी दुई जना साथीको अहिलेको यात्रा पनि समान छ — दुवै काठमाडौंको घन्चमन्च छाडेर आ-आफ्नो पुर्ख्यौली थलो फर्किएका छन् र पितापुर्खाले परिश्रम गरेकै माटोमा किसानी कर्म गर्दै छन्। वाग्लेले तनहुँको फराकचौरमा 'तनहुँ फार्म' सुरू गरेका छन् भने केसीले नवलपरासीको सेहरी गाउँमा 'फलानो एग्रो' सञ्चालन गरेका छन्।
किसानी कर्ममा उनीहरूले अंगालेको बाटो भने फरक छ —
वाग्ले रासायनिक मल र विषादीबाट टाढा विशुद्ध अर्गानिक खेती गर्दै छन्। रैथाने जातका गाई पाल्दै छन् र रैथाने बीउबिजन खोज्न तल्लीन छन्।
केसी भने व्यावसायिक खेती र आफ्नो रमणीय गाउँमा पर्यटन प्रवर्द्धनको बाटोमा छन्। गाउँका अरू किसानसँग मिलेर सामूहिक खेती पनि अंगालेका छन्।
पत्रकारिता र सहरी जीवन चटक्क छाडेर ग्रामीण किसान कर्मतिर उनीहरू किन लागे?
त्यस्तो के मोड आयो, जसले उनीहरूलाई खेती-किसानीतर्फ आकर्षित गरायो?
उनीहरूले कृषिमा गरिरहेको प्रयोग के हो? कृषिमा उनीहरूको सपना के हो?
वाग्लेको लेखन कसरी चल्दैछ? केसीले कार्टुन सिर्जनालाई कसरी निरन्तरता दिइरहेका छन्?
यिनै विषयमा यी दुई पुराना मित्रले सेतोपाटी स्टुडियोमा अन्तरंग संवाद गरेका छन्।
हेर्नुहोस् उनीहरूको कुराकानी सेतोपाटी भिडिओ शृंखला 'द कन्भरसेसन' मा —