नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङ, पुल र सडक निर्माण तीब्र रूपमा अघि बढेको छ।
७१ किलोमिटर सडकलाई १३ खण्डमा विभाजन गरेको नेपाली सेनाले सात खण्डमा मात्र अहिले काम गरिरहेको छ। थप एक खण्डको ठेक्का प्रक्रिया टुङ्गो लगाएको छ। अन्य दुई खण्डमा सेनाले लगाएको ठेक्कामा पाटन उच्च अदालतले यथास्थितिमा राख्ने आदेश दिएको छ। जसका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन। त्यस्तै खोकना क्षेत्रको जग्गा प्राप्ति लगायतका विषय नटुङ्गिएपछि सेनाले काम सुरू गर्न पाएको छैन।
कतिपय क्षेत्रमा रुख काट्न भएको ढिलाइ र डिपिआर परिमार्जन गर्नुपरेका कारण सेनाले काम तीव्रता दिन सकेको छैन। जसका कारण फास्ट ट्र्याकको समग्र निर्माणमा ३० प्रतिशत मात्र प्रगति भएको छ। तर ठेक्का प्रक्रियामा गएर निर्माण सुरू भइसकेका ठाउँहरूमा भने सेनाले उल्लेख प्रगति गरेको छ।
सुरूको विस्तृत आयोजना प्रतिवेदनअनुसार प्रस्तावित तीन वटा सुरुङ निर्माणमा ६७ प्रतिशत प्रगति गरेको छ। साढे ६ किलोमिटर सुरुङमध्ये साढे ४ किलोमिटर सुरुङ खनिसेको छ। ३ वटै सुरुङमा काडमाडौंतर्फ जाने एउटा र आउने एउटा गरी दुई वटा सुरुङ छन्। जुन डबल लेनमा निर्माण भइरहेका छन्।
त्यसबाहेक सेनाले परिमार्जित विस्तृत आयोजना प्रतिवेदन अनुसार थप तीन स्थानमा सुरुङ बनाउँदै छ। देवीचौर, सिसौटार र चन्द्राम भीरमा सुरुङ बनाउन लागिएको छ। देवीचौरमा १ किलोमिटर, सिसौटारमा ३९० मिटर र चन्द्राम भीरमा २ दशमलव २५ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ। यी काम अहिलेसम्म सुरु हुन सकेका छैनन्। ७१ किलोमिटरको फास्ट ट्र्याकमा १० किलोमिटर सुरुङ रहेको छ।
एक दशमलव ६३ किलोमिटर लामो धेद्रे सुरुङको एक दशमलव १७ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। त्यस्तै १ दशमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङको १ दशमलव २ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। सेनाले यी दुवै सुरुङ आउँदो वैशाख अथवा जेठसम्ममा ‘ब्रेक थ्रु’ हुने जनाएको छ। तर सुरुङ ‘ब्रेक थ्रु’ भए पनि भित्रका संरचना निर्माण र फिनिसिङमा झन्डै एक वर्षको समय लाग्नेछ। फास्ट ट्र्याकको सबैभन्दा लामो महादेव टारस्थित ३ दशमलव ३५ किलोमिटर सुरुङको १ दशमलव ९४ किलोमिटर खन्ने काम भएको छ।
सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याकमा झन्डै १३ किलोमिटर पुल मात्र बन्नेछन्। अधिकांश पुलका पाइलहरू निर्माण कार्य भइरहेका छन्। चार लेनका पुल बनाउन ठूला र अग्ला पाइलको निर्माण कार्य धमाधम भइरहेको छ। मकवानपुरको तल्लो क्षेत्रमा भने केही साना पाँच वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। मकवानपुर क्षेत्रको तेस्रो प्याकेजमा सडकको फाउन्डेसन तयार गर्ने देखि सर्भिस लेन निर्माण, मानिस र गाडी गुड्ने अन्डर पास निर्माण भएका छन्। उक्त क्षेत्रको काम सबैभन्दा छिटो सकिने दाबी सेनाको छ। फास्ट ट्र्याकमा ८९ वटा पुल निर्माण हुँदैछ।
अहिले निर्माण भइरहेको १ देखि ७ नम्बर प्याकेजका लागि २ हजार ८ सय २ वटा पुलका पाइल निर्माण गर्नुपर्नेमा १ हजार ६ सय ६५ वटा पाइल बनेका छन्। निजगढ र क्षेत्रको समतल भूभाग र मकवानपुर क्षेत्रको समतल क्षेत्रमा सेनाले सडकमा राम्रो प्रगति गरेको छ। ती क्षेत्रहरूमा वर्षाको पानी जाने कल्भर्ट निर्माणका कामहरू भइरहेका छन्।
नेपाली सेनाले २०७४ सालको वैशाखमा फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको थियो। तर निर्माण कार्य भने २०७८ सालको जेठमा मात्र सुरु भएको थियो। सेनाले विस्तृत आयोजना प्रतिवेदन निर्माण, परामर्शदाता छनौट र ठेक्का प्रक्रियामा २ वर्ष समय व्यतित गरेको थियो। फास्ट ट्र्याकको निर्माण सम्पन्न गर्न सेनाले २०८३ साल चैतसम्मको समय पाएको छ।
हेर्नुहोस् फास्ट ट्र्याक क्षेत्रको सुरुङ, पुल र सडक निर्माण भइरहेका ठाउँका तस्बिरहरू: