नेपालका इशान दाहाल अमेरिकामा अल्जाइमर्स पत्ता लगाउने सजिलो प्रविधि बनाउने काम गरिरहेका छन्।
अमेरिकी सरकारको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) मा एक्स-रे गरेर अल्जाइमर्स पत्ता लगाउने प्रोजेक्टको प्रमुख वैज्ञानिकका रूपमा कार्यरत दाहालले अल्जाइमर्स पत्ता लगाउने प्रविधिमा थप अध्ययन गर्न १ मिलियन डलरको लगानी समेत प्राप्त गरेका छन्।
अनारमनी-७, बिर्तामोड झापाका दाहाल र उनका सहयोगी खोजकर्ताले मुसाको मस्तिष्कमा एक्स-रे गरेर अल्जाइमर्स भएको वा हुन लागेको पत्ता लगाउन सकिने प्रविधि विकास गरेका छन्। उनीहरू यही प्रविधि अब मानिसमा प्रयोग गर्न सकिने नसकिने विषयमा एफडिएको प्रयोगशालामा परीक्षण गरिरहेका छन्। उनीहरूले विकास गरेको प्रविधि सफल सिटी स्क्यान मेसिनमा उनले विकास गरेको प्रविधिको प्रयोग गरेर सजिलै अल्जाइमर्स पत्ता लगाउन सकिनेछ।
अल्जाइमर्स मानिसहरूको स्मरण शक्ति गुम्ने रोग हो। सामान्यतया मानिसहरूमा ६० वर्षको उमेरबाट स्मरण शक्ति गुम्न सुरु गर्छ। तर कुनै परिवारका सदस्यलाई अल्जाइमर्स छ भने त्यस्तो परिवारका सदस्यहरूमा ४० वर्षको उमेरदेखि नै यस्तो रोगको लक्षण देखिन थाल्छ। अल्जाइमर्स लाग्ने कारण अहिलेसम्म पत्ता लागेको छैन। तर सन् २०२३ को जनवरीमा अमेरिकाले अल्जाइमर्सका बिरामीमा प्रयोग गर्नका लागि पहिलो पटक औषधीलाई मान्यता दिएको थियो। जसले विश्वभर हलचल ल्यायो।
लेकेनाम्याब भनिने उक्त औषधीले मानिसहरूको मस्तिष्कमा अल्जाइमर्स हुँदा जम्मा हुने एमोल्वोयड प्लाक प्रोटिनलाई हटाउन सफल भएको थियो। जसको प्रयोगबाट मानिसहरूले ३ देखि ६ महिनासम्म आफ्नो स्मरण शक्ति गुम्ने अवस्थालाई घटाउन सक्छन्। औषधीले मानिसहरूमा पहिचान गर्न सक्ने (कग्निटिभ फङसन) क्षमतामा सुधार भएको देखाएको थियो।
अहिलेसम्मको अध्ययनले मानिसको मस्तिष्कमा जम्मा हुने एमोल्वोयड प्लाक प्रोटिन र न्युरोनभित्र काम गर्न छोडेर गुजुल्टिएर बसेको ताओ (न्युरोनको काममा मद्दत गर्ने प्रोटिन) लक्षित गरेर काम गर्दा अल्जाइमर्सको उपचारका फाइदा देखिएको छ। तर अहिलेसम्म अमेरिकाको एफडिएले ताओ ट्याङ्गल (गुजुल्टो) हटाउने औषधीलाई अनुमति दिएको छैन। दाहालका अनुसार आउँदो २ देखि ३ वर्षमा यसको पनि औषधीले अनुमति पाउन सक्छ। यदि यी दुवै प्रोटिन मानिसको मस्तिष्कबाट हटाउन सकियो भने अल्जाइमर्स भएका मानिसहरूको आयु समेत १ वर्षदेखि ५ वर्षसम्म लम्बिन सक्छ। तर अल्जाइमर्सको औषधी अहिले नै भने निकै महँगो छ।
लेकेनाम्याबको भनिने औषधीको मूल्य अमेरिकामा ५० हजार डलर जति पर्छ। साथै औषधी चलाएपछि पनि निरन्तर बिरामीको परीक्षण गर्नुपर्छ।पटक पटक मस्तिष्कमा ब्रेन सुन्निएको छ कि छैन भनेर पेट स्क्यान गर्नुपर्छ। जसका कारण उपचारमा मात्र वर्षमा १ करोड खर्च हुन्छ। तर एक करोड खर्च गर्दा पनि त्यसको फाइदा भनेको बढीमा ६ महिनासम्म स्मरण शक्ति गुमाउनबाट कम गर्नु हो। त्यसैले अल्जाइमर्सको उपचारमा औषधीसँगै यसको पत्ता लगाउन र परीक्षण गर्न हुने ठुलो खर्च गर्नु चुनौतीपूर्ण छ। 'अब हामीले गर्नुपर्ने भनेको औषधीको लागत घटाउने र जस्ता उपकरण प्रयोग हुन्छ त्यसको लागत कम गर्नु हो', दाहाल भन्छन्, 'अहिले हामीले जाँचमा (डाइगोनिस्क टेस्ट) र औषधी निर्माणमा माथि पुग्नु छ।'
हेर्नुहोस् दाहालको भिडिओ ब्लग -
सम्बन्धित समाचार
अल्जाइमर्स पत्ता लगाउने सजिलो प्रविधि अमेरिकामा बनाउँदै नेपाली वैज्ञानिक इशान