बुधबारदेखि भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ।
त्यसका लागि अहिले सडकमा धमाधम डेडिकेटेड लेन बनाउने काम भइरहेको छ।
संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाइरहेको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार बुधबार उद्घाटन हुने र बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।
यी बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाउने काम भइरहेको छ।
पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन। यद्यपि एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।
उनका अनुसार बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्।
ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ।
मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोग गर्नेको संख्या घट्ने उनले बताए।
‘यसो हुँदा सडकमा जाम कम हुन्छ र व्यवस्थित हुन्छ भन्ने विश्वास हाम्रो हो,’ उनले थपे।
पनेरूका अनुसार सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ।
यी स्थानमा पनि रातो रङले संकेत दिइन्छ। सबै स्थान ट्राफिकले लेआउट गरिनसकेको पनेरूले बताए। यसको लेआउट बुधबार मात्रै सकिने उनले जानकारी दिए।
कार्यालय समयमा अत्यधिक जाम हुने हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागिएको पनेरू बताउँछन्।
'कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्क पुग्नलाई डेढ घन्टासम्म लाग्ने रैछ। हाम्रो लक्ष्य ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुर्याउने छ,' उनले भने, 'त्यसका लागि यात्रु चढाउने र ओराल्ने निश्चित ठाउँहरू तोकिएको छ र यस्ता बसहरूले यात्रु कुरेर बस्दैन। ३० सेकेन्डभित्र यात्रुलाई चढाउने र ओराल्ने काम हुन्छ।'
नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस चलाउन लागिएको हो। द्रुत बस सेवाअन्तर्गत चल्ने बसहरू छुट्टै हुँदैनन्। यो रूटमा यसअघि चल्ने ठूला बसहरूलाई नै चलाइने छ। यद्यपि यात्रुलाई यी बसहरू ठम्याउन सजिलो होस भनेर बसको अगाडि भागमा द्रुत बस सेवा भनेर लेखिने पनेरू बताउँछन्।
हेर्नुस् पनेरूसँग कुराकानी गरेर तयार पारिएको भिडिओः