नेकपा माओवादी केन्द्रबाट सबभन्दा धेरै अवसर पाउने नेता हुन् कृष्णबहादुर महरा।
महराले राजनीतिमा अवसर मात्र पाएका छैनन्, पटकपटक गम्भीर प्रकारका घटनामा मुछिँदा उन्मुक्ति पनि पाएका छन्।
पछिल्लो पटक चिनियाँ व्यापारीले इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत भित्र्याएको सुन छुटाउन उनले सहयोग गरेको आरोप लागेको छ।
भेपमा सुन ल्याएका चिनियाँसँग महरा र उनका छोराले पटकपटक टेलिफोनमा कुराकानी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवेदन दिएको छ।
तर यो प्रकरणमा महरामाथि कुनै अनुसन्धान भएको छैन।
महरा मुछिएको पछिल्लो घटनाबारे चर्चा गर्नुअघि आउनुहोस्, कुरा गरौं महराको विगतबारे।
रोल्पाको लिवाङमा जन्मिएका कृष्णबहादुर महरा राजनीतिमा आउनुअघि शिक्षक थिए। त्यसैले माओवादीका धेरै नेता कार्यकर्ताले उनलाई ‘महरा सर’ भनेर सम्बोधन गर्छन्। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन, माओवादी नेता वर्षमान पुन, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतलाई महराले पढाएका हुन्।
शिक्षण पेसा छाडेपछि उनी राजनीतिमा सक्रिय भए। २०४८ सालको निर्वाचनमा मात्र ३२ वर्षको उमेरमा महरा नेकपा (मशाल)बाट प्रतिनिधि सभामा निर्वाचित भए। २०५२ सालमा सुरू भएको माओवादी सशस्त्र युद्धमा महरा सामेल भए। सांसद भइसकेको व्यक्तित्वका कारण महराको माओवादी भित्र तीव्र ढंगले प्रभाव बढ्दै गयो।
२०५८ र २०६० सालमा माओवादी र सरकारबीच दुई पटक भएका वार्तामा महरा सामेल थिए। पहिलो पटक वार्ता टोलीका संयोजक र दोस्रो पटक वार्ता टोलीका सदस्य भए। वार्ता प्रक्रियामा माओवादी सामेल भएसँगै महरा माओवादीको देखिने अनुहार बने।
२०६२/०६३ सालको आन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो। त्यसयता महराले माओवादी पार्टीबाट सबैभन्दा धेरै लाभ लिएका छन्।
६ पटक मन्त्री भएका महराले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका छन्। त्यस्तै चार पटक सांसद भएका छन्। तर उनी सत्तामा जति पटक पुगेका छन्, उत्तिकै गम्भीर घटनामा पनि मुछिएका छन्। महराले सरकारमा रहँदा अन्य अवस्थामा गरेका कयौं निर्णय विवादास्पद छन्। सञ्चार मन्त्री हुँदा कौडीको भाउमा उनले मोबाइल सेवाको लाइसेन्स वितरण गरेको आरोप छ।
महरामाथि केही गम्भीर र आपराधिक घटनामा संलग्न भएको भन्दै प्रश्न उठ्ने गरेको छ।
२०६७ भदौ १८ गते महराले एक चिनियाँ व्यापारीसँग सरकार निर्माण गर्न सांसदहरूलाई बाँड्नु पर्ने भन्दै ५० करोड मागेको अडिओ टेप सार्वजनिक भएको थियो। त्यतिबेला महराले माओवादी नेतृत्वमा सरकार बनाउन सांसद किन्न पैसा मागेको अडिओ बाहिरिएको थियो। तर उनीमाथि न त कुनै अनुसन्धान भयो, न त कुनै कारबाही नै। महराले कहिल्यै पनि उक्त आरोपबारे सार्वजनिक रूपमा खण्डन गरेनन्। बरू उनी माओवादी पार्टीभित्र थप जिम्मेवारीसहित शक्तिशाली बन्दै गए।
२०७४ सालको निर्वाचनपछि महराले प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी पाए। तर कार्यकाल पूरा नहुँदै बलात्कारको अभियोगमा महरा जेल चलान भए। २०७६ असोज १२ गते महरामाथि संसद् सचिवालयमै कार्यरत एक कर्मचारीले बलात्कार र कुटपिटको गम्भीर आरोप लगाउँदै प्रहरीमा उजुरी दिइन्। महरामाथि सभामुख पदमा रहेकै बेला एक कर्मचारीको घरमै गएर रक्सी खाएर बलात्कार गरेको सार्वजनिक आरोप लाग्यो। महरा सभामुख निवासबाटै पक्राउ परे। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त घटनाबारे सार्वजनिक टिप्पणी गर्दै महराबाट कहीँ न कहीँ त्रुटि भएको बताएका थिए।
तर पीडित महिलाले अदालतमा बयान फेरेपछि महराले सफाइ पाए। बलात्कार अभियोगमा सफाइ पाए पनि महराले पीडित महिलालाई दबाब दिएको आरोप छ। महराबाट त्रुटी भएको बताएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले जेलबाट निस्किएपछि उनलाई उपाध्यक्ष मात्र बनाएनन्, प्रवक्ताको जिम्मेवारी दिएर दैनिक मिडियामा आउने वातावरण बनाइदिए।
यति बेला महरा फेरि अर्को गम्भीर घटनामा मुछिएका छन्। नेपालमा अवैध रूपमा भइरहेको सुन तस्करीमा महरा र उनको परिवारको संलग्नताका घटना सार्वजनिक भएको छ।
महराले एक चिनियाँ व्यापारीले नेपाल भित्र्याएको विद्युतीय चुरोट लिलामीमा राखिदिन भन्सारका कर्मचारीलाई दबाब दिएका थिए। तर उक्त भेपभित्र सुन रहेको विवरण सार्वजनिक भएको छ। तस्करी गर्ने ती चिनियाँसँग सयौं पटक महरा र उनका छोराले टेलिफोन संवाद गरेको विवरण प्रहरीले नै बाहिर ल्याएको छ।
प्रहरीले तयार पारेको अभियोग पत्रमा महरा र उनका छोराले विद्युतीय चुरोटमा सुन भित्र्याउने चिनियाँसँग २ सय ५६ पटक फोन संवाद भएको उल्लेख छ। तर उनीमाथि न त प्रहरीले अनुसन्धान गरेको छ। न त उनलाई प्रहरीले मुद्दामा विपक्षी बनाएको छ। महराले यो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। तर सयौं पटक के-कस्ता कुराकानी भए भन्नेबारे महराले मुख खोलेका छैनन्।
माओवादी पार्टीभित्र राजनीतिक रूपमा समन्वयकारी र मृदुभाषी नेताका रूपमा चिनिने महराको छवि भने विवादास्पद छ। एकातर्फ पटक-पटक गम्भीर प्रकारका आरोपमा समेत महराले उन्मुक्ति पाइरहेका छन् भने अर्कोतर्फ महराका लागि माओवादी पार्टी सधैं दाहिना बनेको छ।