नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गर्यो।
भक्तपुरमा बसेर डाक्टर अफ मेडिसिन (एमडी) अध्ययनको तयारी गरिरहेका यादवलाई सिआइबीले नक्कली प्रमाणपत्र पेस गरेको आरोप लगायो। तर चार दिन नबित्दै यादवका सबै कागजात सक्कली भएको ठहर भयो।
चार दिनपछि डाक्टर यादव रिहा भए। यी चार दिन डाक्टर यादवले केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल मेडिकल काउन्सिलको गैरजिम्मेवारीका कारण निकै हैरानी खेपे।
'गत बिहीबार एक जना साथीको साथी बताउने मान्छेले काम छ भेट्नुपर्यो भनेर फोन गर्नुभयो। मैले बस्ने ठाउँको ठेगाना दिएँ। दिउँसो ३ बजे भक्तपुरको लोकन्थली आएर फोन गर्नुभयो। म कोठाबाट निस्केँ,' यादवले भने, 'भेटेपछि म सिआइबीको मान्छे हो, डिएसपीको आदेशअनुसार लिएर आउनु भनेका कारण आएको हुँ भन्नुभयो। मैल केका लागि भनेर सोधेँ। किन लैजान लाग्नुभयो भनेर सोधेँ। तर उहाँले डिएसपीसाबले बोलाउनुभएको छ भन्नुभयो। सिआइबी कार्यालयमा पनि मैले बारम्बार एउटै प्रश्न गरेँ। किन ल्याउनुभयो? मेरो गल्ती के छ भनेर सोधेँ। राति साढे ९ बजेदेखि १० बजेको बीचमा मात्र मलाई सिआइबीले सर्टिफिकेट जाली छ भन्नुभयो।'
त्यसपछि प्रहरीले उनको विवरण लिए। विवरण लिन आउँदा उनीहरू झुक्किएको जस्तो यादवलाई लागेको थियो।
'मलाई बंगलादेशबाट पढ्नु भएको हो भनेर सोध्नुभयो,' उनले भने, 'मैले हैन, नेपालबाट पढेको भनेँ।'
यादवले प्रहरीलाई विवरण लिने क्रममा नाम जुधेको हुनसक्छ पनि भने। तर उनीहरूले 'सिआइबीले त्यत्तिकै ल्याउँदैन, सर्टिफिकेट डुप्लिकेट छ' भने।
त्यो रात उनले प्रहरीको हिरासतमा बिताए।
बिहीबार पक्राउ परेका यादवलाई प्रहरीले शुक्रबार साँझ म्याद थप गर्न अदालत लग्यो। तर अदालतमा उनले बोल्ने मौकै पाएनन्।
'मैले अदालतमा सर्टिफिकेट जाली छैन भन्न पाइनँ। सिधै पाँच दिनको म्याद थपिदिएको छ भनिदिनुभयो,' यादवले भने, 'मैले एक जना इन्स्पेक्टरलाई मेरो फाइल देखाउन आग्रह गरेँ। उहाँले नि फाइल देखाउनुभयो। एसएलसीको सर्टिफिकेट किर्ते छ भन्नुभयो।'
तर सर्टिफिकेटमा उनको सिम्बोल नम्बर र जन्म मिति फरक थियो। त्यसपछि ती इन्स्पेक्टरले सिआइबी कार्यालयमा गएर कागजात चेक गर्छु भने।
सिआइबी कार्यालयमा ती इन्स्पेक्टरले हेर्दै थिए। अर्का पौडेल थरका इन्स्पेक्टरले हेर्न पर्दैन फाइल भने।
'उहाँ सर्टिफिकेट डुप्लिकेट भएरै आउनुभएको हो भनिदिनुभयो,' यादवले भने, 'अनुसन्धान गरिराखेका छौं भन्नुभयो।'
आफ्ना सबै कागजात जाँच गरिदिन सिआइबी कार्यालयमा आएर आग्रह गरेको यदावले बताए। तर प्रहरीले मानेन। आफैं सबै कार्यालय गएर प्रमाणीकरण गर्ने बतायो।
बिहीबार पक्राउ परेका यादवको शनिबार पनि थुनामा बित्यो।
आइतबार भने सँगै कोठामा बस्ने डाक्टर विवेक ठाकुर नेपाल मेडिकल एसोसिएसन (एनएमए) डाक्टर रञ्जितकुमार यादवको विवरण सक्कली भएको भन्दै सिआइबी पुगे। तर प्रहरीले नेपाल मेडिकल काउन्सिल (एनएमसी) सँग 'भेरिफाइ' गर्न सुझाव दियो।
एनएमसी पनि सुरूमा कागजात डुप्लिकेट भएको भन्दै पन्छिन खोज्यो। विवेक ठाकुरले एक-एक गर्दै कागजात भिडाएर देखाए। अनि मात्र एनएमसी प्रहरीलाई डाक्टर रञ्जितकुमार यादव सक्कली डाक्टर भएको पत्र लेख्न तयार भयो।
रञ्जितका अनुसार एनएमसीको फाइलमै एउटै नाम भएका दुई डाक्टरको कागजात मिसिएका कारण समस्या भएको खुल्न पुग्यो। अर्का नक्कली कागजात पेस गरेका रञ्जितकुमार यादव नाम गरेका डाक्टरको विवरण पक्राउ परेका सक्कली डाक्टरको फाइलमा भेटियो।
'एनएमसीको फाइलमा मैले मेडिकल काउन्सिलको परीक्षाका लागि बुझाएको फर्म र स्थायी अनुमतिको कागजात मात्र मेरो थियो। बाँकी अर्को रञ्जितकुमार यादव को थियो,' यादवले भने, 'एनएमसीले गल्ती भएको पत्र लेखेर सिआइबीलाई पठायो। त्यसपछि मात्र सिआइबीले मेरो फाइल खोल्यो र भेरिफाइ गर्यो।'
यसरी तीन रात चार दिन प्रहरीको थुनामा बिताएर आइतबार राति साढे ११ बजे डाक्टर यादव रिहा भए। थुनाबाट रिहा भए पनि पटक-पटक आग्रह गर्दा पनि प्रहरीले कागजात नहेरिदिएको उनको गुनासो छ।
'एनएमसीले डकुमेन्ट सिआइबीलाई दिँदा जाँच गरेर दिनुपर्थ्यो। अथवा भेरिफाइ गर्न मलाइ भन्नुपर्थ्यो,' डाक्टर यादवले सेतोपाटीसँग भने, 'एनएमसीले पठाएको फाइल सिआइबीले पल्टाएर हेरेको भए हुन्थ्यो। मैले पटक-पटक एउटै कुरा भनिरहेँ। मेरो कागजात हेरिदिनुहोस् भन्दा पनि सुनेनन्।'
आफूलाई नक्कली डाक्टरको दाग लागेको उनको बुझाइ छ।
'थुनामा पनि तपाईंहरूजस्तो नक्कली डाक्टरले मान्छे मार्दै हिँड्छन् भने। नक्कली डाक्टर भनेर पक्राउ परेको दाग रह्यो,' डाक्टर यादवले भने, '७० प्रतिशत मानिसलाई त म सक्कली डाक्टर हो भनेर बुझाउँला। तर बाँकी ३० प्रतिशतका लागि म नक्कली डाक्टर भएँ।'
सिआइबीको थुनामा रहँदा आफूलाई निकै मानसिक हैरानी भएको उनले बताए।
'२० देखि २५ दिनमा छुट्छ भनेर प्रहरीले भन्दा पनि दिमागमा टर्चर हुने रहेछ। बाहिर मान्छेले मेरो कति कुरा काटेका होलान् भन्ने लाग्थ्यो। म यो पेसा नै छाड्दिन्छु, म बदनाम भएँ भन्ने लाग्यो। बुवाआमालाई तपाईंको छोरा यस्तो भनेर कतिले सुनाएका होलान् भन्ने लाग्यो। जतिखेर पनि दिमागमा त्यही चल्थ्यो,' यादवले भने।
'मलाई म छुट्छु भन्ने त थाहा थियो। तर निस्केपछि अब के भनौं मान्छेहरूलाई, मैले नक्कली डाक्टर होइनभन्दा कसरी विश्वास दिलाउन सक्छु होला भन्ने लाग्थ्यो,' यादवले भने, 'सिआइबीले फाइल मात्र खोलेर हेरिदिएको भए भन्ने अहिले पनि लाग्छ। म यसरी नक्कली डाक्टर भनेर बदनाम हुने थिइनँ।'
हेर्नुहोस् भिडिओ ब्लग