संखुवासभा ठाँगेका ३४ वर्षीय तेन्जेन शेर्पा लामाले ९२ दिनमै विश्वका ८ हजार मिटर अग्ला हिमाल सफल आरोहण गरेर नयाँ रेकर्ड बनाए।
यो रेकर्ड तेन्जेनले नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँग मिलेर बनाएका हुन्।
गत साउन ११ गते बिहान ११ बजेर ४५ मिनेटमा पाकिस्तानको विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको आरोहण गरेसँगै यो जोडीले नयाँ रेकर्ड बनाएको हो।
यसअघि सबैभन्दा छिटो ८ हजार मिटर अग्ला सबै हिमाल आरोहण गर्ने रेकर्ड निर्मल पुर्जा उर्फ निम्स दाइको नाममा थियो। पुर्जाले कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड ६ महिना ६ दिनमा पूरा गर्दै भंग गरेका थिए। उक्त रेकर्डपछि पुर्जाको विश्वभर चर्चा भएको थियो।
पुर्जाले ६ महिना लगाएर बनाएको रेकर्ड तेन्जेनले आधा समयमै अर्थात् तीन महिनामै भंग गरिदिए।
यो सोच्दै नसोचेको रेकर्ड भएको उल्लेख गर्दै तेन्जेनले सेतोपाटीसँग भने, 'सुरूमा त सकिन्छ जस्तो लागेको थिएन। तर पछि गर्दै जाँदा सकियो। जे होस् सोच्दै नसोचेको रेकर्ड भइदियो। निकै खुसी छु।'
आरोहण क्षेत्रमा लागेको ८ वर्ष मात्र भएका तेन्जेन त्यसअघि आफ्नै गाउँ ठाँगेमै खेती-किसानी गर्थे। स्कुलमा पाइलासमेत नटेकेका उनको दैनिकी गाईभैंसी चराउने र खेती किसानीमै बितिरहेको थियो।
एक दिन सेभेन समिटको टोली उनको गाउँमा पुग्यो। सेभेन सिमिटका अध्यक्षसमेत रहेका मिङ्मा शेर्पालाई तेन्जेनले कुनै काम खोजिदिन आग्रह गरे। हट्टाकट्टा केटोले काम खोजिदिन भनेपछि मिङ्मालाई पनि कुनै गाह्रो भएन। उनले आफ्नै कम्पनीमा तेन्जेनलाई काम दिने बताए। त्यसपछि तेन्जेन काठमाडौं आए।
'त्यो बेला मिङ्मा दाइलाई काम दिनु न भनेपछि दाइले सेभेन समिटमा जति पनि काम छ भन्नुभयो। तर मैले कहिल्यै किचेनको कामहरू गरिनँ। सुरूदेखि नै आरोहणतिर आएँ,' उनले भने।
हिमाली हावापानीले पनि होला तेन्जेनलाई सुरूदेखि नै हिमाल आरोहरण गर्नेमा रूची थियो। त्यसैले उनले कामको थालनी पनि हिमाल आरोहणबाट सुरू गरे।
सन् २०१५ देखि आरोहण क्षेत्रमा लागेका उनले २०१६ मा पहिलो पटक धौलागिरी चढे। त्यसपछि भने वर्षमै आठ वटासम्म हिमाल चढेको उनी बताउँछन्।
आरोहरणमा राम्रो गर्दै गएपछि कम्पनीले पनि तेन्जेनलाई धेरै काममा पठाउन थाल्यो। राम्रो टोलीहरूको गाइड गर्ने जिम्मा तेन्जेनले नै पाउन थाले। सोही क्रममा नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिला छोटो समयमा १४ चुचुरा चढ्ने योजना लिएर आइन्। उनले सेभेन समिटसँग आफ्नो योजनाबारे कुरा बढाइन्।
क्रिस्टिनले सोचे अनुसार १४ पिकको नयाँ रेकर्ड कायम गर्न सहज थिएन। किनकी निर्मल पुर्जाले यो रेकर्ड ६ महिनामै बनाएका थिए। उक्त रेकर्ड सोअघि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएका थिए।
क्रिस्टिनको साहस र अठोट देखेर सेभेन समिटलाई १४ पिकमा नयाँ रेकर्ड बनाउन सकिन्छ भन्ने विश्वास जाग्यो। र यसको जिम्मा कम्पनीले तेन्जेनलाई दियो।
तेन्जेन र क्रिस्टिनको एकमात्र लक्ष्य जसरी पनि १४ पिकमा नयाँ रेकर्ड बनाउनु थियो। सोहीअनुसार उनीहरूले गत वैशाख १३ गते चीनको सिसापाङबाट आरोहण सुरू गरे। र आरोहरण सुरू गरेको ९२ दिनमै उनीहरूले८ हजार मिटर अग्ला १४ हिमाल चढेर नयाँ रेकर्ड बनाए।
१४ पिकमा नयाँ रेकर्ड बनाएर तेन्जेन र क्रिस्टिन गत शनिबार नेपाल फर्किएका थिए। उनीहरूलाई स्वागत गर्न ठूलो संख्यामा मानिसहरू विमानस्थल पुगेका थिए।
‘नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा सबैले स्वागत गरेको देख्दा एकदम खुसी लाग्यो। साँच्चै राम्रो काम गरिएछ भन्ने भयो,’ तेन्जेनले भने।
तेन्जेनले ९२ दिनमा बनाएको १४ पिकको रेकर्ड भंग गर्न अरू पर्वतारोहीहरूलाई सहज भने छैन। तर धेरै नेपाली शेर्पाहरू आफूभन्दा पनि बलियो रहेकाले यो रेकर्ड आगामी दिनमा तोडिन सक्ने तेन्जेन बताउँछन्।
'मभन्दा धेरै शेर्पा दाजुभाइहरू अझैं बलियो हुनुहुन्छ। उहाँहरूले प्रयास गर्नुहुन्छ होला,' उनले भने, 'त्यसरी कोही रेकर्ड तोड्छु भनेर आउनुभयो भने म पनि सहयोग गर्छु।'
अबको लक्ष्य डबल १४ पिक गर्ने रहेको उल्लेख गर्दै उनले त्यसका लागि जम्मा ६ वटा हिमाल बाँकी रहेको जनाए। १४ पिकपछि शरीर थाकेकाले एक महिना जति आराम गर्ने र त्यसपछि आरोहणलाई निरन्तरता दिने उनले बताए।