ओखलढुंगाकी शान्ति भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीमा बस चलाउने लाइसेन्स बनाएकी छन्।
युएईका अरू भागमा पनि महिलाहरूले बस चलाउने लाइसेन्स पाउन थालेको धेरै भएको छैन। अहिले फिलिपिन्सका दुई जना र एक जना केन्याली महिलाले युएईमा बस चलाइरहेका छन्।
८ वर्षअघि पार्लरमा काम गर्न युएई गएकी ४० वर्षकी शान्तिले केही महिनाअघि आबुधाबीमा बस चलाउने लाइसेन्स पाएकी हुन्।
ओखलढुंगा खुवापानीकी भण्डारी बहिनी ज्वाइँले पठाइदिएको भिसामा युएई गएकी हुन्। छोरालाई पाल्ने र पढाउने आधार नभएपछि आफू युएई पुगेको उनले बताइन्।
‘के गर्ने होला भनेर बाटो हेर्दै थिएँ,’ अहिले युएईमा रहेकी शान्तिले सेतोपाटीसँग भनिन्,‘त्यतिबेला नै बहिनीज्वाइँले दुबईमा आइज राम्रो कमाइ हुन्छ भनेर बोलाए। भिसाका सबै कुरा बहिनीज्वाइँले उतैबाट पठाए।’
त्यतिबेला उनीसँग पार्सपोर्ट बनाउन पाँच हजार रुपैयाँसमेत थिएन।
‘मसँग त्यतिबेला पार्सपोर्ट बनाउने पैसा पनि थिएन,’ उनले भनिन्,‘आमाले आफूसँग भएको सानो तिलहरी बेच्नुभयो। अनि पार्सपोर्ट बनाउन पैसा दिनुभयो। अझै पनि त्यो दिन झल्झली याद आउँछ।’
युएई गएको एक वर्षसम्म शान्तिले पार्लरमै काम गरिन्। त्यसपछि स्कुल बस अटेन्डेन्डस भन्ने ट्रान्सपोर्टेसन कम्पनीमा दुई वर्षसम्म काम गरिन्।
‘पहिलेदेखि नै लाइसेन्स निकाल्ने इच्छा थियो,’ उनले भनिन्, ‘पार्लर भिसामा लाइसेन्स लिन नपाइने हुँदा भिसा चेन्ज गर्न ट्रान्सस्पोर्टेसन कम्पनीमा काम गर्न सुरू गरें।’
उनका अनुसार अहिलेजस्तो जुनसुकै भिसामा पनि सवारी साधनको लाइसेन्स त्यसबखत लिन पाइँदैन थियो।
ट्रान्सपोर्टेसन कम्पनीमा एक वर्ष काम गरेपछि ट्याक्सी चलाउन अनुमति पत्रको लागि शान्तिले आवेदन दिइन्। उनले ट्याक्सी चलाउन लाइसेन्स पाइन्। दुई वर्षसम्म ट्रान्सपोर्ट कम्पनीमा काम गरेपछि करिब पाँच वर्षदेखि आबुधाबीमा उनले ट्याक्सी चलाइरहेकी छिन्।
‘मैले ट्याक्सी चलाउन थालेको पाँच वर्ष भयो,’ उनले भनिन्, ‘यहाँ जस्तोसुकै काम गर्दा पनि सुरक्षाको दृष्टिकोणले एकदमै सुरक्षित छ। गाडीमा सिसिटिभी क्यामेरा जडान हुन्छ। केही भयो भने इमरजेन्सी बटन दबाएर सहयोग लिन सकिन्छ।’
शान्तिलाई ट्याक्सी चलाउँदा नै हेभी गाडी अर्थात् बसको लाइसेन्स लिन मन थियो। उनले फेरि बस लाइसेन्सको लागि निवेदन दिइन्। यो प्रक्रिया पूरा गर्न सात महिना लाग्यो।
‘महिलाले बसको लाइसेन्सको लिन जाँदा सुरूमा फाइल खोल्ने मान्छेले ‘हेभी बस’ भनेर प्रश्न गर्थे,’ उनले भनिन्, ‘म ‘हो’ भनेर जवाफ दिन्थें। त्यसपछि ‘हेभी बसको लाइसेन्स लिएर के गर्ने’ भनेर प्रश्न गर्थे।’
तर पनि उनी लगातार लागिपरिन्। कम्प्युटर टेस्ट दिइन्। पार्किङमा चलाएर जाँच दिइन् र लिखित परीक्षासमेत दिइन्। पास भइन्। तीन महिनाअघि मात्रै उनले बस चलाउन लाइसेन्स पाइन्।
लाइसेन्स पाएपछि उनी बस चलाउने जागिर नै खोज्न थालिन्।
त्यसबखत उनले थाहा पाइन्- किन त्यसबेला लाइसेन्स निकाल्ने बेला उनीहरूले प्रश्न गरेका थिए।
‘यहाँ महिलाले बस चलाउन कानुन बनेकै रहेनछ,’ शान्तिले भनिन्, ‘धेरै ठाउँमा बस चलाउने भनेर कामको लागि बुझ्न गएँ। सबैले महिलाले बस चलाउन कुनै नियम नै भनेको छैन भन्थे। अनि काममा राख्न मान्दैनथे। कतिपय ठाउँमा बुझ्न जाँदा मात्रै पनि गेटबाटै फिर्ता पठाउँथे त कतिले भित्र गएर कर्मचारीसँग भेट गरेर कुरा गर्न दिन्थे।’
शान्तिका अनुसार एउटा कम्पनीमा उनले काम गर्न सक्छु भनेर त्यहाँको सरकारी बस चलाएरै देखाइन्। बस चलाएर देखाएपछि इन्टरभ्यू भयो। उनी सबैमा पास भइन्। अहिले उनले आबुधाबीमै बस चलाउन जागिर पाएकी छिन्। तर कानुन बन्ने प्रक्रियामै रहेकाले काम गर्न जान पाएकी छैनन्।
‘कानुन नभएको कारण होल्डमा छु,’ उनले भनिन् ,‘कानुन बनेपछि म बस चलाउने छु।’
शान्तिलाई नेपालमै बस चलाउन रहर नभएको त कहाँ हो र। तर आर्थिक स्थितिका कारण नसकेको उनी बताउँछिन्। तर आबुधाबीमा आएर भए पनि आफ्नो रहर पूरा गर्न सकेकोमा उनी दंग छिन्।।
युएईकै अन्य राज्यमा महिला बस चालकको लागि नियम भएता पनि आबुधाबीमा नभएकाले कहिले कानुन बन्छ र बस चलाउन पाइन्छ भनेर पर्खाइमा बसेको उनको भनाइ छ।
‘महिला बस चालकको लागि आबुधाबीमा कानुन बनेपछि म आबुधाबीकै पहिलो महिला बस चालक बन्छु,’ उनले भनिन्।
यस्तै उनी काम गर्न प्रयत्न गरे सफल हुने बताउँछिन्।
‘काम गर्दा सफल असफल दुबै भइन्छ,’ उनी भन्छिन्, ‘तर कहिले पनि हरेस खान हुँदैन। आफ्नो इच्छा अनुसारको काम गर्ने प्रयाससलाई जारी राख्नुस्। कुनै न कुनै दिन पक्कै पनि सफलता हुनु हुनेछ।’