के तपाईं नाइट क्लब जानुभएको छ? जानुभएको छ भने डिजे संगीतको तालमा झुम्नुभएको होला।
क्लबमा नाच्ने माहौल बनाउने तिनै डिजेबारे आज हामी कुरा गर्दैछौं। डिजे कसरी बन्न सकिन्छ? यो प्रश्न हामीले टच डिजेका प्रशिक्षक सुनिल महर्जनलाई सोध्यौं। रूची हुनेहरू सजिलै डिजे बन्न सक्ने उनले तर्क गरे।
‘सिक्ने इच्छाशक्ति हुने हो भने डिजे बन्न सकिन्छ। यसका लागि कुनै शैक्षिक योग्यतासमेत चाहिँदैन,’ उनले भने। नजिकैको स्कुल गएर डिजे कोर्सबारे बुझ्न सकिने उनले बताए।
नेपालमा डिजे स्कुलले तीन वटा कोर्स गराउँछन्- बेसिक, इन्टरमिडिऐट र एड्भान्स।
बेसिक कोर्स एक महिना अवधि चल्छ। इन्टरमिडिऐट २ महिना र एड्भान्स ३ महिना सिकाइने गरिएको उनले बताए। दैनिक एकदेखि डेढ घन्टासम्म यस्ता कोर्स गराइन्छ।
बेसिक कोर्स गर्न १० देखि २० हजार, इन्टरमिडिऐट २० देखि ४० हजार र एड्भान्स कोर्स सिक्न ४० देखि ६० हजार रुपैयाँ लाग्छ।
महर्जनका अनुसार बेसिकमा सामान्यतया गीत कसरी मिक्सिङ र म्याचिङ गर्ने सिकाइन्छ।
इन्टरमिडिऐट र एड्भान्स कोर्समा सफ्टवेयरमा कसरी गीत मिक्सिङ र म्याचिङ गर्ने सिकाइने उनको भनाइ छ। नेपालका डिजेले ट्र्याक्टर र रेकर्डबक्स सफ्टवेयर प्रयोग गर्छन्।
कोर्स पूरा गरिसकेकाहरू डिजे बन्न योग्य हुन्छन्। त्यसपछि उनीहरू नाइट क्लब, इभेन्ट र पार्टी प्यालेसमा डिजेका रूपमा काम गर्न सक्छन्।
‘नेपालमा काम गर्ने डिजेले मासिक २० देखि ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्। क्लबहरू खुल्ने क्रम बढेसँगै डिजेको पनि माग बढ्दो छ,’ उनले भने।
भिडिओ: