पीडितको बयान
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगीमा परेका पीडितले पहिलो पटक आफू कसरी ठगिएँ भन्नेबारे सेतोपाटीसँग कुराकानी गरेका छन्।
काठमाडौंको नयाँ बानेश्वरमा सिटिइभिटी र वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई तालिम दिने कम्पनी खोलेका रामकुमार रेग्मीले ठगी प्रकरणबारे मुख खोलेका हुन्। रेग्मी नक्कली भुटानी प्रकरणबारे प्रहरीमा उजुरी दिने पहिलो व्यक्ति समेत हुन्।
नयाँ बानेश्वरको पार्किङमा गाडी राख्दा चिनजान भएका सन्देश शर्माले राजनीतिक शक्तिको प्रयोग गरेर आफ्नो काम गरिदिने भन्दै विश्वासमा दिलाएर ठगी गरेको उनले बताएका छन्।
'मैले वैदेशिक रोजगार अन्तर्गतको सीपमूलक तालिमको लागि श्रम तथा रोजगार मन्त्रालयमा तामिलका सम्बन्धमा समन्वय गरिरहेको थिएँ। सन्देश शर्मा नेपाल सरकार अर्न्तगतको सुकुम्बासी आयोगको सल्लाहकारमा नियुक्त भएका रहेछन्', पीडित रेग्मीले भने, 'मैले सीपमूलक तालिम गराउन अनुमति पाएको तर कार्यान्वयन गर्न असहज भएको बताएपछि उनले काठमाडौंको सुन्धारामा भेट्न बोलाए। उनले मैले प्रधानमन्त्री समेतलाई कुरा गरिसकेको छु तपाईंको काम पक्का भयो भनी विश्वास दिलाए।'
पीडित रेग्मीले लकडाउनका समयमा आफ्नो काम सीप सिकाउने काम अड्किएपछि सन्देशले आफूलाई अमेरिका पठाउन प्रस्ताव गरेको बताएका छन्।
'सन्देश शर्माले मलाई परिवार, साथीभाइ इष्टमित्रहरू अमेरिकामा जान चाहनु हुन्छ भने भुटानी शरणार्थीहरूको नाममा अमेरिकामा पठाउन सकिन्छ भन्ने अफर गरे, 'रेग्मीले भने, 'उनले विश्वास दिलाएपछि मैले मेरो भाइ श्रवण कुमार रेग्मी, मेरो दिदी कल्पना रेग्मी, भिनाजु उपेन्द्र बुढाथोकी, भाइ पर्ने राजेश अर्यालको प्रोसेसिङ्ग गर्न भनेँ। उनले प्रति व्यक्ति र पाँच लाखको दरले रकम दिएर फारम भर्न लगाए।'
रेग्मीले पहिलो पटक आफूले अमेरिका जानका लागि भनेर ५ जनाको २५ लाख रकम दिँदा सन्देश शर्मासँगै गृह मन्त्रालयका कर्मचारी भनिएका व्यक्ति समेत रहेको र उनीहरूले फारम भर्न लगाएको बताए।
'म समेतका परिवार अमेरिकामा जान लागेको कुरा मेरो चिनजानका साथीहरू बिराज पाण्डे, डम्बर खत्री, यज्ञ ओली, समीर लामिछाने, गौतम गिरी, सुजल के.सी., असीम ओली, चन्द्र बहादुर खड्का, पदमसिंह खत्री, महेन्द्र कुमारी, मान बहादुर खत्री, मनिस डि.सी. नुनकान्त पाण्डे र मनोज के. सीले थाहा पाएपछि उनीहरूले पनि जान्छौँ भने', रेग्मीले भने, 'त्यसपछि सन्देश शर्माले उनीहरूसँग पनि पाँच लाख रकम लिए।'
रेग्मीले सन्देश शर्मा भन्ने व्यक्तिले बायोमेट्रिक गर्ने भन्दै प्रतिव्यक्ति १० लाख र ट्राभल डकुमेन्ट बनाउन भन्दै थप पैसा लिएको उल्लेख गरे। रेग्मी आफू र आफन्त तथा साथीभाइको गरी ३ करोड ८५ लाख रकम सन्देश शर्मालाई बुझाएको बताएका छन्।
विदेशमा पठाउने भनेर रकम उठाए पनि ढिलासुस्ती गरेको थाहा पाएपछि आफूले सार्वजनिक गरिदिन खोजेको तर ज्यान मार्नेसम्मको धम्की आएको रेग्मीले बताए। 'मलाई दुई दुई पटक ज्यान मार्नेसम्मको प्रयास भयो', रेग्मीले भने, 'म भाग्यले बाँचे।'
सेतोपाटीसँगको कुराकानी क्रममा रेग्मीले आफूलाई अझैपनि सुरक्षा खतरा रहेको उल्लेख गर्दै मास्क लगाएका छन्।
हेर्नुहोस् भिडिओ