रूपन्देहीको तिलोत्तमा–१ का तुलसीराम खनाल २०७९ सालको कात्तिकमा रोजगारीको लागि सुडान गएका थिए।
नेपालमा रहँदा चौधरी उद्योग, पोखरा नुडल्स, सिद्धि विनायक लगायतका चाउचाउ उद्योगहरूमा काम गरेका तुलसीरामलाई त्यहाँको चाउचाउ कम्पनीले नै सुडान लगेको थियो।
नेपालले श्रम स्वीकृति नदिने भएपछि उनी भारतको अहमदवादबाट सुडान पुगेका थिए। काम राम्रै चलिरहेको थियो। उनले काम गर्ने कम्पनी सुडानको राजधानी खार्तुममा थियो।
गत अप्रिल १५ तारिखदेखि भने त्यहाँ दुई वटा सुरक्षा निकायको बीचमा द्वन्द्व चर्कियो। आन्तरिक द्वन्द्वका कारण राजधानी खार्तुममा हिंसा मच्चिएपछि तुलसीराम एक वर्ष नबित्दै नेपाल फर्किएका छन्।
युद्ध चर्किएपछि खार्तुममा १५ दिन त्रासमा घरभित्रै थुनिएर बसेको उनले बताए।
‘युद्ध सुरू भएपछि १५ दिन निकै त्रासमा खार्तुममै कोठाभित्र बस्नुपर्यो, हाम्रो कम्पनी खार्तुममै भए पनि त्यहाँ असुरक्षित भएपछि कम्पनीले आठ/नौ सय किलोमिटर टाढा 'पोट सुडान' भन्ने स्थानमा ल्याएर होटलमा राखेको थियो। त्यहाँबाट भारतको एयर फोर्सले अहमदवाद ल्याएपछि गोरखपुर हुँदै घर आउन सकियो,’ उनले भने।
दुई वटा सुरक्षा निकायका बीचको युद्धका कारण त्यहाँको अवस्था अत्यन्त नाजुक रहेको उनले बताए।
‘बाहिर निस्किने अवस्था छैन, बाटोबाटोमा दुई वटै सुरक्षा निकायका फौजी जत्थाहरू हतियारसहित तैनाथ छन्। आकाशमा हेलिकप्टर, फाइटर जहाजबाट बम बारूदका गोला बर्सिरहेका छन्। कतिबेला कुन घरमा बम खसेर मरिन्छ भन्ने ठेगान हुँदैन। हामीसँगै काम गर्ने भारतीय एक जना कामदारको घरभित्रै बसेको बेला सुरक्षा निकायको गोली लागेर मृत्यु भयो। त्यस्तो देख्दा धेरै डर लाग्थ्यो, छिटो सुरक्षित रूपमा घर पुग्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भने।
सुरक्षा निकाय नै आपसमा लडेपछि बम/बारूद र गोलीको डरसँगै घर-घरमा लुटपाटका घटना बढिरहेको उनले बताए।
‘बाटोमा हिँड्दा सुरक्षा निकायको आक्रमणमा परिन्छ कि भन्ने डर त हुन्छ नै त्यसैमाथि कहाँ कतिबेला लुटिने हो भन्ने डर छ। हातमा मोबाइल, पैसा बाेकेर हिँडेको भेटे बाटोबाटै खोसिन्छन्, पसलहरू लुट्नेसम्म भएको छ, युद्धको त्यस्तो भयावह दृश्य यसअघि कहिल्यै देखेको थिइनँ,’ तुलसीराम भन्छन्।
युद्धग्रस्त क्षेत्रमा तीन साता बढी बस्दा सरकारले उद्धारका लागि त्यति तदारूकता नदेखाएको उनले गुनासो गरे।
अरू देशका नागरिकलाई सम्बन्धित देशले 'पोट सुडान'बाटै उद्धार गरिरहे पनि उनीहरू आफैंले इजिप्ट र साउदीस्थित राजदूतावासमा सम्पर्क गरेपछि मात्रै उद्धारको प्रक्रिया थालिएको उनले बताए।
खार्तुममा युएन बाहेक विभिन्न कम्पनीमा काम गर्ने ३२ जना नेपाली रहेकोमा १९ जनालाई साउदी अरेबिया र चीनको सहयोगमा यसअघि नै उद्धार गरी काठमाडौँ ल्याइएको थियो।
तुलसीरामसँगै ९ जनालाई भने भारतको एयर फोर्समार्फत् पोट सुडानदेखि उद्धार गरी अहमदवाद ल्याइएको थियो। तर ९ जनामध्ये चार जनाको एलो फिबरको खोप कार्ड नभएका कारण अहमदवाद एयरपोर्टमै क्वारेन्टिनमा राखिएको उनले बताए।
‘चार जनालाई एयरपोर्टमै क्वारेन्टिनमा राखिएको छ भने हामी ५ जना अहमदवादबाट रेल चढेर गोरखपुर हुँदै आइतबार नेपाल आइपुगेका छौं,’ तुलसीरामले भने।
खार्तुममा सम्पर्कमा आएका ३२ जनामध्ये २८ जनालाई उद्धार गरिएको भए पनि चार जना भने फर्किन नचाहेकोले कम्पनीले सुरक्षित स्थानमै राखेको उनले बताए।