खोटाङ दिक्तेलकी मुना श्रेष्ठ २०५८ सालमा १३ वर्षकी थिइन्। देशमा माओवादी सशस्त्र द्वन्द्व चर्किएको थियो। त्यो बेला मुनाका बुवा गाविस सचिव थिए।
बुवा सचिव भएकाले माओवादीहरू सहयोग माग्न उनको घरमा पुगिरहन्थे। बच्चै भए पनि मुना उक्त गतिविधिलाई चासो मानेर हेरिरहेकी हुन्थिन्। एकदिन उनले बुवालाई माओवादीहरू किन घरमा आएको भन्ने प्रश्न सोधिन्। बच्चालाई मानसिक असर पर्छ भनेर बुवाले मुनाको कुरा टार्न खोजे। उनले जिद्दी नछोडेपछि बुवाले सबै कुरा सुनाए।
बुवाको कुरा सुनेपछि मुनालाई बुवा र परिवारको चिन्ताले सताउन थाल्यो। किनभने बुवाको कमाइले नै परिवारको गुजरा चलिरहेको थियो। मुनालाई पीर परेको थियो। त्यहीबेला उनले आफू माओवादीमा गए बुवालाई सहज हुने गाइँगुइँ हल्ला सुनिन्। सानैदेखि हक्की स्वभावकी मुनाले माओवादीमा जाने निर्णय लिइन्।
‘त्यतिबेला माओवादी पक्षबाट बुवालाई असर पर्ने जस्तो कुरा सुनेपछि आफैं माओवादीमा जाने निर्णय लिएँ। आफैं गएपछि बुवा र परिवारलाई नै सहज हुने भयो,' मुनाले विगत सम्झिइन्।
मुना सानैबाट खरो स्वभावकी थिइन्। उनी बच्चै हुँदापनि केटाहरूसँग खेल्ने र जोखिमका खेलहरू खेल्न रूचाउथिन्। त्यही स्वभावका कारण माओवादीभित्र पनि उनको प्रमुख काम बारूद बनाउने थियो। त्यतिमात्र होइन, कतै लडाइँ हुँदा पनि उनलाई अग्रपंक्तिमा मा खटाइन्थ्यो।
'अलिक आँटिलो भएकोले होला थोरै खस्राङखुस्रुङ गर्यो भने पनि मलाई नै अगाडि लगाइन्थ्यो। तर अहिले पो थाहा पाइयो कस्तो मान्छेलाई अगाडि लगाइने रैछ भनेर,' उनले सुनाइन्।
विभिन्न लडाइँ लड्ने क्रममा मुनालाई डरसँग जुध्ने बानी परिसकेको थियो। उनलाई मृत्युबाट किन्चित पनि डर लाग्थेन। उनले संगठनभित्र पनि त्यस्तै प्रशिक्षण पाएकी थिइन्। तर २०६०-६१ तिर आएर उनलाई आफ्नो र परिवारको चिन्ता लाग्न थाल्यो। त्यसपछि उनले माओवादी छोड्ने निर्णय लिइन्।
माओवादी छोडेर मुनालाई सार्वजनिक जीवन बिताउन सजिलो थिएन। तत्कालीन राज्यपक्षले उनलाई जतिबेला पनि कारबाही गर्न सक्थ्यो। त्यसपछि उनले विदेश जाने सोच बनाइन्। त्यतिञ्जेल पनि उनको उमेर पुगेको थिएन। उमेर बढाएर राहदानी बनाइन् र कुवेत गइन्।
विदेश गएर पनि सोचे अनुसारको काम र कमाइ भएन। कुवेत बसाइका क्रममा उनले धेरै कष्ट व्यहोरिइन्।
विदेशमा हुँदा पनि उनी नेपालमा भएका घटनाक्रमबारे जानकारी लिइरहन्थिन्। आफूले त्यहीबेला देशमा गणतन्त्र आउन लागेको कुरा थाहा पाएको उल्लेख गर्दै उनी भन्छिन्, 'गणतन्त्र आउँदैछ भन्ने भएपछि अब आफूलाई पनि खोजिँदैन, मारिँदैन भन्ने भयो। त्यसपछि नेपाल फर्किने सोच बनाएँ।'
गणतन्त्र घोषणा भएपछि मुना नेपाल फर्किइन्। स्वदेश फर्केपछि यहीँ केही गर्ने सोच बुन्न थालिन्। त्यत्तिकैमा उनलाई रेस्लिङ खेलले आकर्षित गर्यो। त्यतिबेला नेपालमा रेस्लिङ खेल त्यति चर्चामा थिएन। त्यसमाथि महिलाहरू त एकाध मात्र खेल्थे। यसले गर्दा पनि मुनालाई रेस्लिङमै केही गरेर देखाउने हुटहुटी जाग्यो।
खेलप्रति उनको सानैदेखि रूची थियो। स्कुले जीवनमा पनि उनले धेरै प्रतियोगिता जितेकी थिइन्। पछि जनयुद्धमा लागेपछि आफूलाई झन् जोखिमसँग खेल्ने बानी परेको उल्लेख गर्दै उनले भनिन्, 'रेस्लिङमा आउनुको मुख्य कारण पनि लडाकु भएर काम गर्दा जोखिमसँग खेल्ने बानी परेर हो। फेरि विवाहपछि घरेलु हिंसा पनि परेका कारण केही गरेर देखाउनुपर्छ भन्ने पनि भयो।'
२०७३ सालदेखि रेस्लिङ खेल्न सुरू गरेकी मुनाको अहिले परिचय नै फेरिएको छ। रेस्लिङ क्षेत्रदेखि सबैमा उनी 'लेडी ड्र्यागन' नामले परिचित छिन्। उनले रेस्लिङमा जसरी पनि गरेर देखाउने अठोट लिएर कडा मेहनत गरिन्। ट्रेनिङकै क्रममा आफ्नो हात, खुट्टा र काँध भाँच्चिएको भए पनि आफूले रेस्लिङलाई नछोडेको उनी बताउँछिन्।
'सुरूमा हल्का तालिम लिएर खेल्न सुरू गरें तर मज्जा लागेन। त्यसपछि हार्डकोर, फायर म्याच र ब्लड म्याच खेल्न थालें,' उनी भन्छिन्, 'हातखुट्टा, काँध भाँच्चिदा पनि रेस्लिङ छाडिनँ। एउटै क्षेत्रमा लागिरह्यो भने सफल भइन्छ भन्ने कुरा राम्रोसँग बुझेकी छु।'
अहिलेसम्म तीन वटा विभिन्न विधामा उपाधि जितिसकेकी उनले भर्खरै मात्र भारतको राजस्थानबाट इन्टर्नेस्नल बेल्ट च्याम्पियनसिपको उपाधि जितेकी छन्। यसले उनको चर्चा थप चुलिएको छ। यसअघि पनि पुरूषहरूसँग हार्डकोर रेस्लिङ खेल्ने कारण उनको चर्चा सर्वत्र थियो।
आफूमा आत्मविश्वास भए महिलाहरूले पनि पुरूषजतिकै गर्न सक्ने उनको बुझाइ छ। आगामी दिनमा पनि रेस्लिङबाटै धेरै महिलाहरूलाई प्रेरणा दिँदै जाने उनको इच्छा छ। रेस्लिङलाई नै आफ्नो करिअर बनाएकी उनी आफू 'डब्लुडब्लुई' सम्म पुग्ने सपना रहेको बताउँछिन्।
'रेस्लिङ त अब छोड्न सक्दिनँ। मेरो रगतमा खेल्ने आदत परिसक्यो,' उनी भन्छिन, 'म डब्लुडब्लु पनि पुग्नस्छु। त्यहाँ गएर राष्ट्रिय झण्डा फहराउन पाएमात्र पनि जितेको अनुभव गर्थें र यत्रो जोखिम मोलेको त्यहाँ गएर विश्राम लिन्थें होला।'