काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त भयो। बस्ती हटाउन गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।
थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन्।
घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताए।
उनका अनुसार धेरै घाइतेको टाउकोमा चोट छ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।
समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो।
स्थानीयले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै उनीहरूले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्।