मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला केही समययता कस्सिएर बाल रोग अस्पताल निर्माणमा जुटेका छन्।
काठमाडौंको बुढानिलकण्ठस्थित हात्तीगौंडामा सरकारले दिएको ४१ रोपनी १० आना जग्गामा कोइरालाको नेतृत्वको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक फाउण्डेसनमार्फत् बालबालिका लागि विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सय शैयाको अस्पताल निर्माण गर्दैछ। अहिले उक्त जग्गा सम्याउने काम भइराखेको छ।
३० महिनाभित्रै उक्त जग्गामा अस्पतालको भवन निर्माणको काम सक्ने तयारी संस्थाको छ। संस्थाले उक्त अस्पतालबाट बालबालिकाकालाई आकस्मिक सेवा, कार्डिओलोजी तथा कार्डिओथेरापिक सर्जरी, अंकोलोजी, मानसिक स्वास्थ्य, क्रिटिकल केयर र अर्थोपेडिक एवं ट्रमा सेवा उपबल्ध गराउने तयारी गरेको छ।
अस्पताल निर्माणमा झन्डै १ अर्ब ६ करोड खर्च हुने अनुमान संस्थाको छ। कोइरालाका अनुसार झन्डै एक तिहाइ बजेट सुनिश्चित भएको छ। अस्पताल निर्माणका लागि संस्थाले सहयोग संकलन गरेको छ भने संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गरेको छ। कोइराला आफैंले पनि आफ्नो पुस्तक हृदयको ५० प्रतिशत रोयल्टी र २५ हजार रुपैयाँ पर्ने पुस्तकको विशेष संस्करण बेचेर प्राप्त हुने सबै पैसा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पठाउँदै छन्।
अस्पताल निर्माणमा कस्सिएका कोइरालाले केही दिनअघि हात्तीगौंडास्थित अस्पताल निर्माणका लागि प्राप्त भएको जग्गामा उभिएर डाक्टर कोइरालाले सेतोपाटीलाई भने, ‘बालबालिकाको उपचार समयमै गर्न पाइयो भने उसले ८० वर्ष देशमा काम गर्न सक्छ।'
आफूले सक्दो सेवा गरिराख्नु उचित देखेर कुनै पनि शुल्क नलिइकन अस्पताल निर्माणमा जुटेको कोइरालाले बताए।
'ज्ञानका मार्फत् होस् वा कामको मार्फत् होस् हामीले सेवा गर्नु पर्दो रहेछ। किनभने हामीले छाडेर जाने भनेको नाम हो', कोइरालाले भने, 'हामीले केही असरदार काम किन नगर्ने भनेर लागेको हो।'
दुई दशकभन्दा धेरै शल्यचिकित्सा क्षेत्रमा काम गरेका कोइराला संस्था स्थापनादेखि सञ्चालन गरेको र व्यवस्थापन गरेको क्षमता यो अस्पताल स्थापनामा खर्चिरहेका छन्।
'मैले अमेरिका र क्यानडामा तालिमको क्रममा बच्चाहरूको मुटुको शल्यचिकित्सामा अध्ययन र उपचार गरें। त्यसपछि नै हो मलाई यो क्षेत्रमा चाख लागेको हो', कोइरालले भने, 'अहिले मुटुका समस्याहरू धेरै देखिन थाले। मैले जीवनकालमा झन्डै साढे चौध हजार मान्छेको शल्यक्रिया गरें होला। त्यसमध्ये साढे ५ हजार जति बालबालिकाको अपरेशन गरियो होला। बच्चाहरूको मुटुको अपरेशन गरेपछि अन्य खालका समस्या देखियो। त्यसले निकै पीडा भयो। नेपालमा बच्चाहरूको भ्याक्सिनेसन उदाहरणीय काम भयो तर जटिल रोग लाग्दा कहाँ जाने भन्ने भयो। केही अस्पतालले गरेका छन्। तर त्यो अपुग छ। त्यसैले एउटा अंग ठिक गरेर नहुने रहेछ। सबै अंगप्रत्यंगका चिकित्सक एकै ठाउँमा राख्नुपर्छ भनेर यो अस्पताल निर्माण गर्ने निर्क्यौल निस्केको हो।'
कोइराला नयाँ बन्ने अस्पतालमा सरकारी रेटमा उपचार गर्ने योजना रहेको बताउँछन्।
'पैसाकै कारण कसलाई फर्काउन नपरोस् भन्ने प्रतिवद्धता छ,' कोइरालाले भने, 'त्यो प्रतिवद्धता कार्यान्वयन गर्नु पक्कै चुनौती छ।'
हेर्नुहोस् भिडिओ-