'मिस नेवा २०११' की विजेता सुनिता डंगोलले आगामी स्थानीय तहको निर्वाचनमा आफू काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने बताएकी छन्। तर स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइसकेकी छैनन्।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएकी सुनिता आफूले काठमाडौंको विकासका लागि ८ खम्बे विकास मोडल तयार गरेको जनाइन्। जसमा फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इन्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौं, खोज विकास र युवा सशक्तीकरण र सांस्कृतिक सम्पदा रहेका छन्।
उनले आफ्नो पहिल्यैदेखि राजनीतिमा आउने इच्छा रहेको उल्लेख गर्दै भनिन्, 'यो हिजो सोचेर आज घोषणा गरेको कुरा होइन। यो लामो समयदेखिको तयारी थियो र यसपालि सही समय हो जस्तो लागेर मेयरमा उठ्ने भनेकी हुँ।'
उनले नेतृत्व तहमा महिला सहभागिता कम रहेकाले पनि आफ्नो उम्मेदवारीले अन्य पार्टीहरूलाई पनि महिला नेतृत्व अगाडि ल्याउन दबाब हुने बताइन्। साथै, आफू युवा भएकाले पनि अहिलेको पुस्ताले युवा नेतृत्वलाई विश्वास गर्ने उनी बताउँछिन्।
तर कतिपयले लोकप्रियताको लागि मात्र हो भन्ने गरेकोमा सुनिता भन्छिन्, 'मलाई सस्तो लोकप्रियताको लागि राजनीतिक कदम लिनु छैन। त्यसका लागि अरू थुप्रै बाटा छन्। मैले एउटै कारणले यो कदम लिएको हुँ कि दीर्घकालीन राजनीतिमा आएर समाज परिवर्तन गर्न चाहन्छु।'
हेर्नुस्, उनै सुनितासँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः