नेपालको संघीय राजधानी काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म बाइक यात्रा। दिनमा कहिले लगातार ८ घन्टा, कहिले १६ घन्टासम्म बाइक चलाएरै।
काठमाडौंदेखि भैरहवा—उराइ—इन्दोर—पुने—गोवा—म्यांग्लोर—क्यालकट—एर्नाकुलम—आस्तामुडी हुँदै उनीहरू कन्याकुमारी पुगे। अनि फेरि काठमाडौं फर्के। उनीहरूको यो यात्रा पन्ध्र दिनको थियो।
बाइक चढेर काठमाडौंदेखि कन्याकुमारी पुग्ने आफूहरू पहिलो नेपाली भएको अनुमान गर्छन् आवाशिष ओझा र विजयराज कसजू।
आवाशिष सिद्धार्थ बैंकमा मार्केटिङ म्यानेजर र विजय कसजू सिभिल बैंकका ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन हेड हुन्। दुवै पहिलेदेखि चिनजानका साथी। पेसाले बैंकमा आबद्ध भए पनि दुवै बाइक चलाउन र घुम्न निकै रूचाउँछन्।
आवाशिषले एक दिन कन्याकुमारीसम्म बाइकमा जाने रहर सुनाउनासाथ विजयले आफूलाई नि सामेल गर्न भने। अन्य साथीहरूले भने जाने इच्छा नदेखाएपछि यी दुई मात्र यात्रामा हिँड्ने तय भयो।
दुवैले अफिसबाट १५ दिनको बिदा लिएका थिए। यही अवधिमा काठमाडौंदेखि कन्याकुमारी पुगेर पुनः काठमाडौं फर्किनु ठूलो चुनौती थियो।
त्यो चुनौती दुवैले स्वीकार गरे र फ्रेब्रुअरी ११ गते मध्याह्न ३ बजे दुवै गन्तव्यतिर लम्के। आवाशिष र विजयका अनुसार उनीहरुले १५ दिनमा ६ हजार आठ सय ३६ किलोमिटर बाइक यात्रा गरे।
उनीहरूको यो यात्रा कस्तो भयो होला त?
रोचक यात्राको रोचक अनुभव हेर्नुस् भिडिओमाः