ब्याडमिन्टन प्रशिक्षक सुदीप योञ्जन २०६५ मा महेन्द्रनगरमा थिए। त्यहाँ भएको एक भेट्रान्स प्रतियोगितामा उनले ब्याडमिन्टनका एक प्रतिभा पहिचान गरे। ४० वर्षमाथिका खेलाडीको भिडमा योञ्जनले पाँच वर्षीय बालक भविष्यको राम्रो ब्याडमिन्टन खेलाडी बन्न सक्ने अड्कल काटे।
दर्चुलाबाट महेन्द्रनगरमा प्रतिस्पर्धा गर्न आएका नारायण दाहालले पाँच वर्षका छोरा प्रिन्सलाई पनि सँगै ल्याएका थिए। उनी बुबाको पछिपछि लाग्दै र्याकेट समात्थे। हान्ने कोशिस गर्थे। उनले र्याकेट समातेको तरिका देखेपछि प्रशिक्षक योञ्जन प्रभावित भए। प्रिन्स भविष्यमा राम्रो खेल्न बन्न सक्ने भविष्यवाणी गरे।
‘घर फर्किएपछि छोरालाई ब्याडमिन्टन खेल्न सिकाउनुहोला। भविष्यमा राम्रो खेलाडी बन्न सक्छ,’ महेन्द्रनगरबाट दार्चुला फर्कने बेला योञ्जनले बुबा नारायणलाई भनेका थिए।
ब्याडमिन्टनका राष्ट्रिय प्रशिक्षकले छोरा भविष्यमा राम्रो खेलाडी बन्न सक्ने बताएपछि बुबाको मन त्यसै पुकलित भयो। घर पुगेपछि छोरालाई ब्याडमिन्टन सिकाउन थाले। प्रिन्स ब्याडमिन्टन औधी चाख दिएर खेल्थे।
अर्को वर्ष महेन्द्रनगरमा भेट्रान्स प्रतियोगिता खेल्न आउँदा नारायणले छोरा प्रिन्सका लागि देखेको सपना प्रशिक्षक योञ्जनले अझै पनि बिर्सिएका छैनन्।
‘प्रिन्सले भविष्यमा नेपालको जर्सीमा खेलेको हेर्न मन छ,’ नारायणले योञ्जनसँग भनेका थिए।
१३ वर्षपछि प्रिन्सले बुबाको सपना मात्र पूरा गरेनन् देशको नाम विश्वभर फैलाए।
अघिल्लो साता ब्याडमिन्टन विश्व महासंघ (बिएफडब्लू) ले जारी गरेको जुनियर वरीयतामा प्रिन्स नम्बर एकमा पुगे।
जुनियर खेलाडीको वरीयतामा एक नम्बरमा पुग्ने १८ वर्षीय प्रिन्स नेपालका पहिला खेलाडी बने।
वरीयतामा उनले १० हजार ४ सय अंक हासिल गर्दा दोस्रो स्थानका मलेसियाका जस्टिन होको ९ हजार ५ सय ९० अंक छ।
जुनियरस्तरको उच्चतम विन्दूमा पुगेपछि प्रिन्सले आफ्नो सपना पूरा भएको बताए।
‘जुनियरस्तरका प्रतियोगिता जितेपछि वरीयताको शीर्ष स्थानमा पुग्ने मेरो सपना थियो’ प्रिन्सले सेतोपाटीसँग भने, ‘नम्बर एक हुनका लागि मेहनत गरेको थिएँ। सबैको साथले विश्व नम्बर एक बन्न पाएकोमा खुसी छु।’
उमेर सानो चर्चा ठूलो
६ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्स १० वर्षको उमेरमा पुष्पलाल स्मृति राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं आए। पहिलो चरणमा पराजित भएर दार्चुला फर्किए। घर फर्किएपछि बुबाले प्रिन्सलाई ब्याडमिन्टन सिकाउने उपाय खोज्न थाले।
काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा ब्याडमिन्टन खेल्ने सुविधा थियो। त्यहाँ ब्याडमिन्टनका स्वयमसेवी प्रशिक्षक पनि भएकाले प्रशिक्षक योञ्जनसँगको सल्लाहमा प्रिन्स प्रहरी स्कुलमा भर्ना भए।
प्रहरी स्कुलमा भर्ना भएपछि उनी जतिबैले पनि ब्याडमिन्टनमा ध्यान दिन्थे।
‘अरू पहिलो रोजाइमा पढाइलाई राख्थे। मेरो पहिलो रोजाइ ब्याडमिन्टन थियो,’ उनले भने, ‘ब्याडमिन्टन अभ्यास गर्दा प्राय: होमवर्क गर्न भ्याउँदिनँ थिएँ। सर-मिसको धेरै गाली खाइयो। कहिले कक्षाबाहिरै बस्नपर्यो।’
स्कुल पढ्दा उनले जिल्लास्तरीय प्रतियोगितामा भाग लिए। यू-१४ र यू-१६ जिते भने यू-१९ को फाइनलसम्म पुगे। दोस्रो वर्ष भने उनले तीन वटै स्पर्धामा स्वर्ण जिते।
स्कुलमा बिदा भएलगत्तै उनी ब्याडमिन्टन सिक्न प्रशिक्षक योञ्जनसम्म आइपुग्थे। जसका कारण उनको स्तर बढ्दै गयो।
सन् २०१७ मा मा उनले कृष्णमोहन ब्याडमिन्टन प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचे।
१४ वर्षका प्रिन्सले त्यतिबेला नाम चलेका ब्याडमिन्टन खेलाडीलाई हैरान पारे। नेपालका तेस्रो वरीयताका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए।
त्यसपछि परिवारले आफ्नै खर्चमा प्रिन्सलाई भारत र थाइल्यान्डमा अभ्यास गर्न पठायो। प्रिन्सले आफ्नो प्रदर्शनमा थप निखारता ल्याए। विदेशमा भएका जुनियर प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै उपाधि जित्न सफल भए।
कसरी भए नम्बर एक?
ब्याडमिन्टन विश्व महासंघ (बिएफडब्लू) को जुनियरतर्फ नम्बर एक वरीयतामा आउन दर्ता भएका खेलाडीमध्ये सबैभन्दा बढी अंक हासिल गर्न पर्छ। बिएफडब्लूको क्यालेन्डरमा समावेश प्रतियोगितामा सहभागी भएदेखि जित हात पारेको आधारमा अंक दिइने गरिन्छ।
प्रिन्सले विगत दुई वर्ष दुबई अन्तर्राष्ट्रिय सिरिजमा उत्कृष्ट खेल देखाए। सन् २०१८ मा प्रिन्सले दुबईमा यू-१५ मा स्पर्धा जितेका थिए। सन् २०१९ मा उनले यू-१५ मा उपाधि रक्षा गर्दा यू-१९ को फाइनलमा भारतीय खेलाडीलाई हराएर अर्को उपाधि जिते। जसका कारण उनको वरीयता ह्वात्तै बढेको थियो।
‘ब्याडमिन्टन विश्व महासंघको वार्षिक क्यालेन्डरको प्रतियोगिता दुबई सिरिजमा यू-१५ र यू-१९ जित्नेबित्तिकै उसको वरीयता बढ्यो,’ प्रशिक्षक योञ्जनले भने।
युरोपका प्रतियोगितमा पनि प्रिन्सले उत्कृष्ट खेल देखाए। दर्जन आधिकारिक प्रतियोगितामा उत्कृष्ट खेलेपछि प्रिन्स सातौं वरीयताबाट तेस्रोमा पुग्न सफल भए।
‘यसै साल एक र दुई नम्बर वरीयतामा रहेका खेलाडीको उमेर १९ वर्ष कटेपछि प्रिन्स विश्व नम्बर एक भएका हुन्,’ योञ्जनले भने, ‘यो नेपालका लागि ऐतिहासिक सफलता हो। वरीयतामा देशको झन्डा फहरिनु नेपालका लागि गौरवको कुरा हो।’
१८ वर्ष लागेका प्रिन्सले अझै एक वर्षभन्दा बढी समय जुनियरस्तरका प्रतियोगिता खेल्न पाउँछन्। नम्बर एक वरीयतामा पुगेका उनको अब मुख्य चुनौती वरीयता जोगाउनु हुनेछ।
‘अब यो वरीयता टिकाउने दायित्व राज्यको हो। अब उनले बढीभन्दा बढी प्रतियोगिता खेल्नुपर्छ। मार्च-अप्रिलमा जुनियर युरोपियन सर्किट छ। त्यहाँ खेल्न पठाउन राज्यले पहल गर्नुपर्छ,’ प्रशिक्षक योञ्जन भन्छन्, ‘यस्ता प्रतियोगितामा राम्रो खेले उसको वरीयता कायम राखने सम्भावना हुन्छ।’
ओलम्पिक सपना
प्रिन्सलाई अहिले एसिया ब्याडमिन्टन ओलम्पिक परियोजनाले सहयोग गरेको छ। यो परियोजनाले प्रिन्सलाई विभिन्न प्रतियोगिता खेल्न सहयोग प्रदान गर्छ।
आफ्नै पहलमा अरू प्रतियोगिता खेलेर सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा छनोट हुने प्रिन्सको सपना छ।
प्रिन्स हाल सिनियरतर्फ ४४५ वरीयतमा छन्। वरीयतामा सयभन्दा कम भएको अवस्थामा प्रिन्सको ओलम्पिक खेल्ने सपना पूरा हुन सक्छ।
राम्रो अभ्यास पाएर निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेमा उनको अंक र वरीयता बढ्ने निश्चित छ। जसले उनको ओलम्पिक सपना पूरा हुनेछ।