गोलकिपर अन्जना राना मगर पछिल्लो ५ वर्षदेखि राष्ट्रिय फुटबल टिममा छिन्। १४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बने पनि अन्जनाले अवसर भने बिरलै प्राप्त गरिन्।
राष्ट्रिय टिमको बेञ्चमै सीमित बनिरहँदा अन्जनाले आफ्नो क्षमता देखाउन मौका कुरिरहेकी थिइन्। मौकाको खोजीमा रहेकी अन्जनाले सन् २०२१ को अन्त्य भने यादगार बनाइन्।
सिनियर राष्ट्रिय टिममा संघर्ष गरेकी १९ वर्षीया अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू-१९ टिमको कप्तानी गर्ने मौका पाइन्। बंगलादेशमा भएको यू-१९ महिला साफ च्याम्पियनसिप जित्ने धोको पूरा नभए पनि उनले आफ्नो क्षमता देखाउँदै सबैको ध्यान खिचिन्।
डिसेम्बर तेस्रो साता ढाकामा भएको प्रतियोगिताको समूह चरणका सुरुवातमा तीनमध्ये दुई खेलमा नेपालले जित हात पार्दा कुनै गोल खाइनन्। चौथो खेल तथा महत्वपूर्ण भारतसँग एक गोलले पराजित हुँदा नेपालको फाइनल पुगेर च्याम्पियन हुने सपना भने पूरा हुन सकेन।
भविष्यमा सिनियर टिमको पहिलो रोजाइमा खेलेर नेपाललाई च्याम्पियन बनाउने सपना देखेकी अन्जना रहरले नभई ‘कर’ले बनेकी फुटबलर हुन्। आमा सुशीलाको करले फुटबल खेल्न सुरू गरेकी अन्जनाका लागि अहिले भने फुटबल नसा बनिसकेको छ।
रौतहटको चन्द्रपुर महिला फुटबलरका लागि उर्वर भूमि हो। त्यहाँबाट फुटबल खेल्न सुरू गरेका खेलाडीले राष्ट्रियस्तरमा चर्चा कमाएका छन्।
त्यहीँ देखेर आमा सुशीलालाई पनि छोरी अन्जनालाई फुटबलर बनाउने इच्छा थियो। त्यसैले अन्जनालाई ११ वर्षको उमेरमा फुटबल खेल्न पठाउन थालिन्।
‘ममीले खेल्न नपठाउन्जेल फुटबल छोएको पनि थिएन। खेल्न मन पनि थिएन। ममीले कराइकराइ पठाएपछि फुटबल सुरू गरेको हो,’ उनले भनिन्।
गाँउमा विदेश जाने लहर थियो। गाँउकी फुटबलर अनु लामा राष्ट्रिय टिममा पर्दै विदेश गएको खुबै चर्चा हुन्थ्यो। अनुले गरेका गोलको विषयमा गाउँलेहरू कुरा गरिरहन्थे। नाम पनि हुने विदेश पनि जान पाउने भएपछि सुशीलाले ११ वर्षकै उमेरमा अन्जनालाई फुटबल सिकाउने इच्छा पलायो।
घरको आर्थिक स्थिति राम्रो थिएन। सरसापट गरेर छोरीलाई जर्सी र बुट किनिदिइन्। अनि आफैं साइकलमा राखेर मैदान पुर्याउन थालिन्।
मैदानमा सय जना बढी खेलाडी हुन्थे। त्यसमा सबैभन्दा जुनियर थिइन् अन्जना।
सुरू-सुरूमा उनलाई अभ्यास गर्न जानै मन लाग्दैन थियो। घरमै लुक्थिन्। अनि आमाले आफैं साइकलमा हालेर पुर्याइदिन्थिन्।
‘बिहान प्रशिक्षण गरेर आयो, स्कुल गयो, अनि फेरि अभ्यासमा जानु पर्दा दिक्क लाग्थ्यो,’ उनले भनिन्, ‘ममी भने पढाइ र फुटबल दुबैमा केन्द्रीत गराउनुहुन्थ्यो। उहाँको फुटबललाई बढी प्राथमिकतामा थियो। अरूको सुरू पढाइ अनि फुटबल हुन्छ, मेरो भने उल्टो थियो।’
कर नै सही अन्जना सुट हान्न सक्ने भएकी थिइन्। तर पहिलो पटक किन्दिएको बुट च्यातियो। फेरि किन्न पैसा थिएन।
खाली खुट्टा नै अभ्यास गर्नुपर्ने भयो। खाली खुट्टा अभ्यास गर्दा खुट्टाभरि घाउ हुन थाल्यो। अझ जाडोमा अभ्यास गर्दा खुट्टा कठ्यांग्रिन्थे।
खेल्न सुरू गरेको डेढ वर्षपछि अन्जनाले अभ्यासमा नजाने निर्णय गरिन्। अभ्यासमा नगई घरमा बस्न थालेको कुरा आमाले थाहा पाइन्। आमा फेरि अभ्यासमा जान कर गर्न थालिन्।
‘खुट्टाभरि घाउ भइसक्यो। बुटबिना त अभ्यास गर्न सक्दिनँ, अति नै गाह्रो हुन्छ,’ अन्जना भन्थिन्।
‘तिमी सक्छौ छोरी,’ आमा छोरीलाई कर गर्थिन्।
अन्जना खुट्टाको घाउ देखाउँदै जान्न भनेर अड्डी कस्थिन्। यस्तो अवस्थामा हुँदा आमा-छोरी सँगै रून्थे।
आमाको मन न हो। सापटी मागेर फेरि बुट किनिदिइन्। अनि फेरि अन्जना मैदान फर्कन थालिन्।
उनलाई सुरूमा कुन पोजिसनमा खेल्ने भन्ने थाहा थिएन। गोल हान्नु पर्छ भनेर स्ट्राइकर नै खेल्थिन्।
बीचमा प्रशिक्षकले उचाइका कारण गोलकिपर खेल्न सुझाए। उनलाई पछाडि बसेर खेल्न मन थिएन। अगाडि खेलेर गोल हान्छु भन्दै गोलकिपर बन्ने प्रस्ताव मानिनन्।
प्रशिक्षक उनको घरमै गए। आमालाई उचाइका कारण गोलकिपर बन्नु पर्ने बताएपछि मात्र अन्जना राजी भइन्।
यू-१४ छनोटमा उनले रौतहटबाट मौका पाउने सम्भावना थिएन। किनभने रौतहटमा धेरै खेलाडी थिए, अझ उनी सिनियर पनि। त्यसैले उनी छनोट खेल्न सर्लाही पुगिन्। सर्लाहीबाट छनोट भएर काठमाडौं आइन्।
एन्फा एकेडेमीमा भएको छनोटमा पनि सफल भएर नेपालको यू-१४ राष्ट्रिय टिममा परिन्।
यू-१४ टिममा परेपछि विदेश जाने मौका मिल्यो। आमालाई फोन गर्दै विदेश जाने कुरा सुनाइन्। आमाले गाउँभरि खुसी साटिन्।
विदेशमा यू-१४ प्रतियोगिता खेलेर आएपछि उनलाई फुटबलमा रस पस्न थाल्यो। अब फुटबल नै खेल्नुपर्छ, यसमै करिअर बनाउनुपर्छ भन्ने लाग्यो।
आमाको करले फुटबल सिक्न थालेकी अन्जनाका लागि अब भने फुटबल आफ्नो मन पर्ने क्षेत्र बन्यो। फुटबलबाहेक अन्य चिज सोच्न नसक्ने अवस्थामा पुगिन्।
यू-१४ टिमबाट खेलेपछि रौतहटबाटै खेल्ने अवसर पाइन्। रौतहटको सिनियर टिमबाट प्रधानसेनापति कप खेल्न काठमाडौं आइन्। प्रशिक्षकले पहिलो रोजाइमा खेलाए।
आर्मीसँग खेलेको सेमिफाइनलको खेलले उनको करिअरलाई थप उचाइमा पुर्यायो। २-२ को बराबरी भएको थियो। ट्राइब्रेकरमा अन्जनाले आर्मीका तीन वटा पेनाल्टी बिफल पारिदिन्। अन्जनाको उत्कृष्ट प्रदर्शनमा आर्मीलाई हराउँदै रौतहट फाइलनमा पुग्यो।
त्यो प्रदर्शनले उनलाई दुई वटा अवसर जुर्यो। उनी १४ वर्षकै उमेरमा राष्ट्रिय टिममा परिन् भने आर्मीले उनलाई क्लबसँग सम्झौता गर्न प्रस्ताव गर्यो।
सुरूमा राष्ट्रिय टिममा परिन्। नमिता दली र एन्जिला तुम्बापो सुब्बासँगै उनी राष्ट्रिय टिमको गोलकिपरको रूपमा छनोट भइन्।
१४ वर्षको उमेरमै राष्ट्रिय टिममा पर्दा एकदमै खुसी भइन्। पत्रिकामा ‘कान्छी फुटबलर’ भनेर ठूलो फोटो र समाचार छापिएको थियो। त्यो पढेर बुबाआमाले रूँदै ‘हाम्रो नाम राखिस्’ भन्दै फोन गरेको उनलाई अझ पनि याद छ।
पत्रिकामा फोटो छापिएको त्यो जर्सी उनकी आमाले अहिले पनि सम्हालेर राखेकी छिन्।
राष्ट्रिय टिम परेपछि उनी रौतहटमै अभ्यास गरिरहेकी थिइन्। आर्मीका एक जना अफिसर उनको घरमै पुगे। आर्मीको महिला टिमसँग सम्झौता गर्नका लागि बुबाआमासँग अनुमति मागे।
आफ्नो उमेर सानै भएको र आर्मीको अभ्यास गर्न गाह्रो हुने भएकाले सम्झौता गर्न अन्जनाले नसक्ने बताइन्। बाआमा छोरीको कुरामा सहमत भए। हजुरबुबासँग ती अफिसरले मगर भाषामा कुरा गरे। अनि तिनै जना अन्जनालाई आर्मीलाई पठाउन सहमत भए।
१४ वर्षको उमेरमा आर्मीमा आवद्ध भएकी उनी कडा अभ्यास गर्दै क्लबको पहिलो रोजाइको गोलकिपर बन्न सफल भइन्।
राष्ट्रिय टिममा भने पहिलो रोजाइमा पर्न सजिलो भएन। कडा प्रतिस्पर्धामा उत्रन पर्यो।
‘सुरूसुरूमा जुनियर हुँ, सानै छु, मेरो पनि पालो आउँछ जस्तो हुन्थ्यो। तीन वर्षसम्म मौका नपाउँदा अलि नराम्रो फिल हुँदो रहेछ। मलाई मौका दिए गरेर देखाउँछु भन्ने हुन्छ,’ उनको अनुभव छ।
यू-१९ टिमको कप्तान बनेपछि प्रशंसा बटुलिरहेकी अन्जना अझै मिहिनेत गरेर राष्ट्रिय पहिलो रोजाइमा खेल्ने लक्ष्यमा छिन्।