नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्कासन गरेका सांसदहरुको सूचना टाँस नगरि सभामुख अग्नि सापकोटा दाँत टाल्न गएको टिप्पणी गरेका छन्।
सभामुख सापकोटाको वीर अस्पतालमा मंगलबार दाँतको शल्यक्रिया गरिएको थियो। नेकपा एमालेले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले माधव नेपाल सहित १४ सांसदलाई निष्कासनको सूचना प्रकाशित नगरेकोमा आपत्ती जनाए। नेकपा एमालेले पार्टीको ह्विप उल्लघंन गरेको आरोपमा १४ सांसदलाई दलबाट निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएको थियो।
'१४ जना माथि कारवाही गर्यौँ। पार्टी नफुटोस् भनेर। कारवाही भएको भए प्रतिशत पुग्ने थिएन। पार्टी फुट्ने थिएन', ओलीले भने, 'अनि त्यसलाई देखेको नदेखेकै गर्ने। लेखराज भट्ट, टोपबहादुर रायमाझीहरुलाई प्रचण्डले निष्कासन गर्दा कुनै केन्द्रीय समिति बसेको थिएन। प्रचण्डको आदेशमा ढोकाबाट ल्याएर पत्र पढीवाची सुनाउनुभयो। हतार हतार टाँस्नुभयो। नेकपा एमाले देशको प्रमुख पार्टीले गरेको कारवाही ९ दिनसम्म उहाँ ... हिजो त दाँत टाल्न जानु भएछ। दाँत टाल्न।'
ओलीले सभामुखलाई व्यङ्ग कस्दै दाँत टालियोस् भन्दै शुभकामना दिए। 'हिजो पो दाँत टाल्न जानुभयो', ओलीले भने, 'सात दिनसम्म के गर्नुभयो। निर्वाचन आयोगलाई गोलमटोल पत्र लेख्न सक्नुहुन्छ टालेको दाँतले । सदर गर्न सक्नुहुन्न। सूचना जारी गर्न सक्नुहुन्न।'
उनले सभामुखले आफैँ विषयलाई विचाराधीन राखेर निर्वाचन आयोगलाई विचाराधीन रहेको भनेर पत्र पठाएको बताए। 'उहाँलाई फैसला गर्ने अथोरिटी दिदैँन', ओलीले भने।
भिडिओ