बागमतीको प्रवाह बढाउन शिवपुरी राष्ट्रिय निकुञ्जभित्र अहिले ताल निर्माण भइरहेको छ।
झण्डै एक वर्ग किलोमिटरमा फैलने ताल निर्माण सम्पन्न भएपछि बागमतीमा प्रतिसेकेण्ड ४० लिटर सफा पानी थपिनेछ। सँगै शिवपुरी डाँडामा अर्को झण्डै ९ वर्गकिलोमिटरको नागमती ताल बनाउन वातावरणीय अध्ययन अघि बढेको छ। नागमती बाँधबाट थप ४०० लिटर प्रतिसेकेण्ड पानी बागमतीमा बग्नेछ।
शिवपुरी निकुञ्जभित्र पहिलादेखि नै दलदल र सानो ताल रहेको धाप भन्ने ठाउँमा अहिले बाँध बाँधिएको हो। धाप बाँध निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
आयोजनामा खटिएका इन्जिनियर निश्चल छत्कुलीका अनुसार अब आयोजनामा केही प्राविधिक काम बाँकी छ। त्यसका लागि भारतीय कामदार आउनुपर्ने भए पनि लकडाउनका कारण ढिलाइ भएको उनले बताए।
बाँधको निर्माण सम्पन्न भएपछि त्यहाँ वर्षाको पानी जम्मा गरिनेछ। असार, साउन, भदौ र असोजमा पर्ने पानीलाई जम्मा गरेर बाँकी ८ महिना नागमती खोला हुँदै बागमतीमा पठाइनेछ। लकडाउनका कारण समयमा काम नसकिएकाले यसपटकको वर्षा यामको पानी भने बाँधमा जम्मा नहुने भएको छ।
'आउँदो अक्टोबर महिनासम्ममा सबै काम सकिन्छ', छत्कुलीले भने, 'आगामी वर्षमा हामी पानी जम्मा गर्छौं। अर्को वर्षको हिउँदमा बागमतीमा पानी छाड्छौं।'
वर्षाका बेला ड्याममा साढे ८ लाख घनमिटर पानी जम्मा हुनेछ। त्यसका लागि २४ मिटर अग्लो बाँधको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
'बाँध निर्माण भएपछि मुख्य चाडपर्व शिवरात्री र हरितालिका तीजजस्ता पर्वको समयमा ४०० सय लिटर प्रतिसेकेण्ड पानी छाड्न सकिन्छ', छत्कुलीले भने, '१२ हेक्टरको तालमा पछिल्लो अनुगमनले १३ लाख लिटरसम्म पानी अडिने देखिएको छ।'
२ हजार ६२ मिटर उचाइमा रहेको तालमा पानी रोक्न चार वटा बाँध बाँधिएको छ। मुख्य बाँध बागमतीतर्फ २४ मिटर अग्लो छ। अन्य तीन ठाउँमा इन्द्रावती जलाधार क्षेत्रमा पानी जान नदिन साना-साना ३ बाँध छन्। धाप बाँधमा पानी अडिए अर्को हिउँदमा बागमतीमा केही सफा पानी बग्न सक्छ। अहिले हिउँदमा बागमतीमा प्रतिसेकेण्ड १ सय ३० लिटर पानी बग्ने गरेको छ।
बागमतीमा पानीको प्रवाह बढाउन नागमतीमा अर्को ठूलो बाँध निर्माणको तयारी समेत भइरहेको छ। झण्डै १० वर्ग किलोमिटर क्षेत्रफलमा फैलने नागमती बाँधका लागि ९० मिटर अग्लो बाँध निर्माण हुनेछ। उक्त बाँध निर्माणपछि बागमतीमा प्रतिसकेण्ड ४०० लिटर पानी थपिनेछ। उक्त आयोजना निर्माणका लागि अहिले वातावरणीय अध्ययन भइरहेको छत्कुलीले बताए। दुवै बाँध निर्माण सम्पन्न हुदाँ ४ सय ४० लिटर पानी प्रतिसेकेण्ड बागमतीमा थपिनेछ। यसले बागमतीको पानीमा समेत गुणस्तर थपिनेछ।
शिवपुरीको सिरानमा बाँध निर्माण गरिएको भए पनि सुरक्षित रहेको छत्कुलीले बताए।
'भूकम्प आए पानी नछचल्कियोस् भनेर प्यारापिट पर्खाल बनाइएको छ', उनले भने, ' नेपालमा पहिलोपटक हामीले 'कंक्रिट फेस रकफिल्ड ड्याम' बनाएका छौं।'
बाँधमा कुनै समस्या आए पनि सिसाजस्तो नफुट्ने उनले बताए।
'यो क्र्याक भयो भने यसमा तह मिलाएर राखिएका ढुङ्गाहरूले ठाउँ भरिन्छ', छत्कुलीले भने, 'यहाँ १२ तहको ढलान गरिएको छ। अनि त्यस्ता ढलानको बीच-बीचमा तामाका प्लेट राखिएको छ।'
झण्डै ५१ करोड लागतमा सन् २०१५ बाट निर्माण भइरहेको बाँध सन् २०१९ को अप्रिलमा सक्ने लक्ष्य राखिएको थियो। तर निर्माण व्यवसायीले समयमा काम नगर्दा एक वर्ष थपिएको थियो। समयसँगै लागत समेत बढ्दै गएको छ। बाँधको निर्माण चिनियाँ कम्पनीसँगको सहकार्यमा लामा र रमन ज्वाइन्ट भेञ्चर कम्पनीले गरिराखेको छ।
बाँधपछि निर्माण हुने दुई तालका कारण शिवपुरी पर्यटकीय गन्तव्य समेत बन्नेछ।
अहिले पनि सिन्धुपाल्चोक, काठमाडौं र नुवाकोटको सीमा क्षेत्रको चिसापानी क्षेत्रमा पर्यटकहरू पुग्ने गरेका छन्। चिसापानी क्षेत्र दुइटै तालबाट ३ किलोमिटरको दूरीमा छ।
भिडिओ