कोरोना संक्रमणको दोस्राे लहर आक्रामक ढंगले अघि बढिरहेको छ। संक्रमण र मृत्युका दैनिक नयाँ रेकर्ड बनिरहेका छन् ।
कोरोनाको उपचार गर्ने राजधानीको टेकु अस्पतालको आइसियू बिरामीले भरिएको छ। २२ बेड क्षमताको आइसियूमा बेड थपेर २३ बिरामी राखिएको छ। अस्पतालको करिडोरमा समेत संक्रमित राखिएका छन्।
डाक्टर र नर्स दिनरात नभनि काम गरिरहेका छन्। दोस्राे लहरको संक्रमणले बिरामीलाई सिकिस्त पार्दा उपचारमा खटिने डाक्टरहरु समेत भाइरससँगको लडाइँमा असहायक महसुस गरिरहेका छन्।
नेपालमा हरेक दिन प्रत्येक १० जनाको परीक्षण गर्दा कम्तीमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिने गरेको छ। देशका कयौँ अस्पतालमा औषधि र अक्सिजन आपूर्ति पर्याप्त छैन। खोप अभियान पनि बन्द छ। यी चुनौतीबीच बिरामीहरू जीवन–मरणको संघर्ष गरिरहेका छन्।
डाक्टर–नर्सहरू बिरामीलाई नयाँ जीवन दिन हस्याङ र फस्याङ गर्दै आइसियू र वार्डहरुकमा दौडिरहेका छन्। बुधबार काठमाडौंको टेकु अस्पताल पुग्दा त्यहाँ हामीले बिरामी र डाक्टर–नर्स दुवैको छट्पटाहट बराबर अनुभव गर्यौं।
सेतोपाटीका मनोज सत्याल, विवेक राई, नारायण महर्जन र रबिन न्यौपानेले टेकु अस्पताल पुगेर तयार पारेको भिडिओ रिपोर्ट -