गत माघ ३० गते राजधानीको बसन्तुपरदेखि भद्रकालीसम्म भएको महिला मार्चमा गोरखाकी अन्शु खनाल लास बनिन्।
उनका श्रीमान् रसिकले बाँसको घारो बोके। देशभर भएका महिला हिंसाको घटनाको विरोधमा आयोजित मार्चमा प्रतीकात्मक रूपमा लासको प्रदर्शन गरिएको थियो।
उक्त प्रदर्शनमा लास बनेकी अन्शुलाई बोक्न पशुपतिबाटै बाँसको घारो ल्याइएको थियो। अन्शुका साथीहरू सेतै लुगा लगाएर मलामी बनेका थिए। अन्शु कात्रो आढेर बाँसको घारोमा सुतिरहँदा मार्चमा सहभागीले निर्मला पन्त र भागरथी भट्टलाई न्यायको माग गर्दै नारा लगाइरहेका थिए। अन्शु आफूले पनि त्यतिबेला ती दुबैलाई सम्झिरहेको बताउँछिन्।
'भागरथीको घटना मलाई त्योमाथि खटमा बस्दा याद रहेको थियो', अन्शु भन्छिन्, 'म आफ्नै ९ कक्षामा पढ्ने बहिनी सम्झिरहेको थिएँ।'
अन्शुका दाजुभाइ छैनन्। आमाले छोरा नजन्माएकै कारण समाजले दिएको तनावसमेत आफूले सम्झिएको अन्शु बताउँछिन्।
'मैले डेढ घन्टा त्यो खटमा समय बिताएँ', अन्शु भन्छिन्, 'एक जना बुढा मान्छेले लास नै सम्झेर। २० रुपैयाँ चढाइ दिनु भएछ।'
अन्शु यस्तो प्रदर्शनमा सहभागी भएको पहिलो पटक भने होइन। यसअघि उनी निर्मला पन्तलाई न्याय माग्दै पशुपतिमा सतबिज छर्न गएकी थिइन्। आमाले टेलिभिजनमा देखेपछि उनलाई गाली गरेकी थिइन्।
'आमाले हामी ज्यूँदै छौं। तँ सतबिज छर्दै हिँड्ने भन्नुभयो', अन्शु भन्छिन्, 'यसपटक न्यायका लागि लडेको देखेपछि आमासँगै सासु ससुराले पनि आँटिलो काम भनेर तारिफ गर्नुभयो।'
हेर्नुहोस् भिडिओ -