नेपालमा आयोजित १३औं सागमा स्वर्ण जितेपछि करातेकी सुनिता महर्जनले सन्तान जन्माउने योजना बनाइन्।
उनले उक्त योजना पहिल्यै बुनेकी थिइन् तर १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि तयारी गर्नुपर्ने भएपछि उनको योजना धकेलियो। सुनितालाई उनका सिनियर खेलाडीहरूले आमा बनेपछि खेल्ने क्षमता घट्ने सुनाएका थिए।
त्यसपछि भने सुनिताले सागपछि मात्रै सन्तान जमाउने तय गरिन्। नभन्दै उनले सागमा करातेको कुमुते विधामा नेपालाई स्वर्ण दिलाइन्। अहिले सुनिताले आफ्ना पहिलो सन्तानलाई जन्म दिएकी छिन्।
तीन महिनाको छोरालाई स्याहारसुसार गर्दै उनी अहिले घरमै छिन्। आमा बनेपछि फेरि सुनितालाई करातेमा फर्किन मन छ। पहिलेजस्तो सहज भने नहुने महशुस गरेकी छिन्।
'पहिले त किक हान्दा पनि आकाशमै उडाइएला जस्तो हुन्थ्यो तर बच्चा जन्माएपछि किक उठाउनै गाह्रो हुने रैछ। अलिकति गाह्रो भयो भने दुखाइ महशुस हुने रैछ,' उनले भनिन्।
अब भने विस्तारै नियमित तालिममा फर्किने उनी बताउँछिन्। उनले सन् २०२२ मा चीनमा हुने एसियन खेलकुदका लागि तयारी गर्ने बताइन्।
सुनिताले आफूजस्तै आमा भएपछि शारीरिक खेलमा फर्किन चाहने खेलाडीहरूका लागि हिम्मत राख्न सुझाएकी छिन्। उनले सुरूमा आफूले पनि नसक्ने हो कि भन्ने महशुस गरेको सुनाउँदै अब भने आँट आउँदै गएको बताउँछिन्।
यस्तै तेक्वान्दोकी आयशा शाक्य आमा भएपछि पनि सफलता हात पार्ने खेलाडीमा पर्छिन्। उनले १३औं सागमा तेक्वान्दोको पुम्से विधामा दुईटा स्वर्ण दिलाइन्। उनले उक्त स्वर्ण आफ्ना दुईटा छोरालाई सुम्पेकी थिइन्।
आमा भएपछि आफूले पनि शारीरिक खेलमा सफलता दिन सकेकोमा यसले धेरै आमाहरूलाई खेल क्षेत्रमा फर्कन प्रेरणा दिने उनको विश्वास छ। साग लागि आयशा तयारीमा जुट्दा उनका कान्छो छोरा डेढ वर्षका थिए।
उनले बच्चा छोडेर खेल क्षेत्रमा पुनरामगन गर्न सहज नभएको सुनाइन्।
'त्यो बेला शारीरिक र मानसिक रूपमै प्रेसर हुन्छ। तालिम गरिरहँदा पनि बालख बच्चाकै याद आउँछ तर पनि मनलाई दह्रो बनाएर लक्ष्यतिर आफूलाई मोड्नु पर्ने हुन्छ,' उनले भनिन्, 'तालिम गर्दा पनि पहिलेजस्तो सतप्रतिशत गर्न सकिँदैन। पहिलेभन्दा कडा मेहनत गर्नुपर्छ।'
हेर्नुस् उनै दुई आमा खेलाडीसँग शारीरिक खेलमा फर्कन कति गाह्रो हुन्छ भनेर सेतोपाटीका लागि विवेक राईले तयार पारेको यो भिडिओः