सत्तारुढ नेकपाको संकट गहिरिएको छ।
प्रधानमन्त्री एवन् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादले पार्टी फुट नजिक पुगेको हो।
नेकपाका महासचिव विष्णु पौडेलले ट्विट मार्फत् नेकपामा गम्भीर संकट उत्पन्न भएको सार्वजनिक गरेका छन्। तर संकट के हो भन्ने उनले खुलाएका छैनन्।
प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व दाबी गरेका छन्।शनिबार अध्यक्ष प्रचण्ड र ओलीबीच झण्डै दुई सातापछि भेटवार्ता भएको थियो।
उक्त भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री पद छाड्न माग गरेको ती नेताले बताए।
तर प्रचण्ड पक्षीय नेताहरुले यसलाई अस्वीकार गरेका छन्। बरु उक्त भेटमा प्रधानमन्त्री ओलीले अलग अलग पार्टी बनाएर जाने प्रस्ताव गरेको प्रचण्डले आफू निकट नेताहरुलाई ब्रिफिङ गरेका छन्।
प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल'लाई आफ्नो निवास खुमलटारमा डाकेर ओलीले अलग पार्टी बनाउन प्रस्ताव गरेको जानकारी गराएका हुन्।
पछिल्लो समय सत्तारुढ नेकपाको विवाद पुन: बल्झिएको छ। नेकपाका एक नेताका अनुसार दुई अध्यक्षको दुरी बढीरहेको छ।
कर्णाली प्रदेश मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषयमा नेकपामा दुई अध्यक्षबीच असमझदारी छ । यसअघि पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद भएपछि प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउँदै नेकपाको विवाद साम्य पारिएको थियो। तर प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट मन्त्रिपरिषद् पुर्नगठन र राजदूत नियुक्ती गरेपछि प्रचण्ड झस्किएका थिए।