सिंहदरबार भित्र निर्माण भैरहेको संघीय संसदको भवन निर्माण ढिलाइ भएको छ।
तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको एक वर्ष समय सकिदाँ १० प्रतिशत मात्र काम सम्पन्न भएको हो।
संघीय संसद भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीले एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्य अनुसार काम हुन नसकेको बताए।
संघीय संसद परिसरमा राष्ट्रिय सभा, प्रतिनिधि सभा, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छन् ।
साथै तीन सय सुरक्षाकर्मीहरुका लागि भवन बन्नेछ। त्यस्तै राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू अटाउने खालको एउटा हल समेत निर्माण गरिने छ । परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुनेछ।
आयोजनाले वर्षा र कोभिडका कारण निर्माणमा समस्या परेको जनाएको छ।
सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनी 'एसएचइसी र टुण्डी' ले पाएको छ।
यस्तो बन्दैछ भवन-