झन्डै पाँच महिनाको लकडाउनले अन्य क्षेत्रलाई जस्तै नेपाली फिल्म क्षेत्रलाई पनि गाँजेको छ। यसको प्रत्यक्ष असर कलाकारदेखि प्राविधिकहरूमा परेको छ।
दर्जनौं फिल्महरू हलमा जान नपाउँदा निर्मातादेखि निर्देशकहरू चिन्तामा छन्। नयाँ फिल्महरूको सुटिङ हुन सकेको छैन। योबीचमा केही म्युजिक भिडिओहरू बनेका छन्।
कलाकार नाजिर हुसेनसँग पनि लकडाउनको तितो अनुभव छ। पछिल्लो समय फिल्म र म्युजिक भिडिओहरूमा समेत व्यस्त बनेका नाजिर लकडाउन भएयता भने फुर्सदिलो बनेका छन्। योबीचमा उनले केही म्युजिक भिडिओ र रेडियो नाटक गरेका छन्।
यसले गर्दा आफूलाई आर्थिक हिसाबले केही सहज भएपनि अब काममा ब्रेक लाग्ने स्थिति आए समस्या आइपर्ने उनी बताउँछन्।
फुर्सदकै कारण उनी सामाजिक सञ्जालमा कविताहरू पनि सुनाइरहेका छन्। साहित्यमा समेत रूची रहेको भन्दै उनले लकडाउनमा थुप्रै कविताहरू लेखेको सुनाए।
लकडाउनका कारण फिल्म क्षेत्र ठप्प हुँदा बढी मार प्राविधिकहरूलाई परेको उनले जनाए। क्यामेरामेन, लाइटमा काम गर्नेहरूको परिवारमा अहिले सबैभन्दा ठूलो समस्या रहेको उनी बताउँछन्।
त्यसैले पनि स्वास्थ्य सुरक्षा अपनाएर विस्तारै फिल्म क्षेत्रलाई गति दिनुपर्ने उनको जोड छ। आफूले पनि समस्या भोग्नुपरेको भन्दै उनले अब पनि काम नपाउने हो भने गाह्रो हुने बताए।
‘अहिले नै गाह्रो भइसक्यो, अब पनि काम गर्न पाइएन भने त झनै समस्या हुन्छ नि,’ नाजिरले भने।
कोरोना कहर र लकडाउनका कारण कलाकारहरूले भोगेको समस्याबारे कलाकार नाजिर हुसेनसँग सेतोपाटीका लागि विवेक राईले तयार पारेको भिडिओ