यतिबेला वीरेन्द्रनगर बजार भित्रको हटिया चोकदेखि मुख्य व्यापारिक क्षेत्रसम्मको सडक निकै व्यस्त छ।
सवारीले होइन, सडक निर्माणको कामले।
असार ७ गतेबाट यो सडकलाई फराकिलो पार्ने काम सुरू भएपछि वरपरका अरू सडक अझ धेरै व्यस्त छन्, वीरेन्द्रनगरका वासिन्दा सडक फराकिला भएपछिको आफ्नो शहर कस्तो देखिएला भन्ने कल्पनामा !
निर्माण सम्पन्न भईसकेपछि फराकिला र सुन्दर देखिनेछन्। साँघुरो र खाल्डाखुल्डीका अहिले खेप्नुपरेको सास्ती पनि हट्ने छ।
वीरेन्द्रनगरभित्र अहिले यस्ता ३६ वटा सडक स्तरोन्नति तथा विस्तार गर्ने काम चलिरहेको छ।
‘वीरेन्द्रनगरको मुख्य बजारमा जुन खालको बाटोहरू बन्नुपर्ने थियो, ति सबैको ठेक्कासँगै काम पनि सुरू भईसकेको छ। यी सडकहरूको काम सम्पन्न भईसक्यो भने वीरेन्द्रनगरको मुहारै फेरिन्छ,’ वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल भन्छिन्।
पूर्वाधार विकास निर्देशनालय अधिकृत हरि शर्मा धितालका अनुसार वीरेन्द्रनगरमा पहिलेका साँघूरा सडकलाई फराकिला बनाइएको छ। फराकिला सडकको चौडाई ७ देखि २१ मिटरसम्म छन्।
‘चोकहरू नजिकै केही खुम्चिने ठाउँ भएकाले त्यहाँ ७ मिटर मात्र पिच हुन्छ, नत्र भने केही सडक त २१ मिटरसम्म पिच गर्नेगरी काम भईरहेको छ,’ उनले भने।
संघीय सरकारको लगानीमा बन्ने हटलाईन (विमानस्थलदेखि गणेशचोक सम्मको सडक), प्रदेश सरकारले बनाउन लागेका र नगरपालिका आफैंले बनाउन थालेका सडकहरू वीरेन्द्रनगरको स्वरूप परिवर्तन गर्ने आधारका रूपमा रहेको उपमेयर ढकालले बताइन्।
पूर्वाधार विकास निर्देशनालयका अनुसार वीरेन्द्रनगर भित्र मात्र १३.१ किलोमिटर सडकको ढाँचा परिवर्तन गर्न थालिएको छ। साँघुरो सडकलाई चौडा बनाउने, कच्ची सडकलाई पक्की बनाउने, ट्राफिक सिग्नलका लागि आवश्यक संरचना थप्ने जस्ता कार्य भईरहेको निर्देशनालयले जनाएको छ।
अहिले निर्माण भईरहेका र सुरु गर्न लागिएका विभिन्न ३६ वटा सडकको लागि लागत ४० करोड ८ लाख रुपैयाँ रहेको निर्देशनालयका अधिकृत धितालले बताए। ३६ वटा मध्ये पनि११ वटा सडकलाई तीन वटा प्याकेज बनाएर निर्माण गरिँदै छ।
धितालका अनुसार प्याकेज- १ सडकहरू २ करोड ७४ लाख लागतमा बन्दैछन् जसलाई सडक मजदुर कन्स्ट्रक्सन सुर्खेतले निर्माण गर्दै छ।
प्याकेज–२का सडक ७ करोड २५ लाख रूपैयाँ लागतमा र प्याकेज–३ ९ करोड २९ लाख रुपैयाँ लागत रहेको छ भने निर्माण जिम्मा श्याम एण्ड शंकर प्रालिले नै लिएको छ।
यस्तै २५ वटा ‘प्रदेश राजधानी शहरी सडक’हरू बन्दैछन्। यी सडकहरूको कुल लम्बाई ५.८ किलोमिटर रहेको छ। २० करोड ८० लाख रूपैयाँ लागतमा निर्माण हुने यि सडकहरुको निर्माण जिम्मा अरू १६ वटा कम्पनीले लिएका छन्।
प्रदेश राजधानी शहरी सडकहरूले विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरू, विद्यालय, मुख्य सडकलाई जोड्ने उपमेयर ढकालले बताइन्।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर ढकालले यसै आर्थिक बर्षभित्र मुख्य बजारभित्रका सबै सडकहरु र बजार बाहिरका अधिकांश सडकहरूको स्तरोन्नति गर्ने काम सम्पन्न भईसक्ने बताईन् ।